पनौती,सर्वश्री पिन्टिङ प्रेस बनेपाको आयोजनामा गोरखनाथ आधारभूत विद्यालय पनौती ६ दलिञ्चोकमा अध्ययन गर्ने बालबालिकाहरुको लागि न्यानो लुगा वितरण गरिएको छ ।
शुक्रवार विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा विद्यालयका १ सय ४ जना विद्यार्थीहरुका लागि स्विटर टोपी वितरण गरिएको हो । विद्यार्थीहरुका लागि लुगा वितरण गर्दै प्रेसकी सर्वश्री अभिकारीले आफु र आफन्तको सहयोगमा विपन्न वर्गलाई लक्षित गरी यस्तो कार्यक्रम संचालन गर्दै आएको बताइन् । आवश्यकताका आधारमा विद्यालयका लागि अबका दिनमा पनि आवश्यक सहयोग उपलब्ध गराउँदै जाने उनको भनाई थियो । उनले १ व्यक्ति १ हजार नाम दिएर संकलित सहयोगबाट अभियानकै रुपमा अरु विद्यालयहरुमा यस्ता कार्यक्रम संचालन गर्दै आएकी छिन् । उक्त कार्यक्रममा पनि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण सापकोटा, प्रधानाध्यापक ईश्वर बहादुर भण्डारी, वडा अध्यक्ष सुधिर सापकोटा शिक्षकहरु राजकुमार तिमल्सिना, बसुन्धरा आचार्य, अभिभावकहरु यदु कुमार दाहाल, राजेन्द्र दाहाल लगायतले अभियानलाई एक हजारका दरले सहयोग गरेको थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुधिर सापकोटाले शिक्षकरुको मेहनत परिश्रम सँगै विभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोगले सामुदायिक विद्यालय प्रति विद्यार्थीक आकर्षित बन्दै गएको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण सापकोटाले शिक्षण तथा आवश्यक सुविधाका कारण अभिभावकहरुले सामुदायिक विद्यालयको विकासमा ध्यान दिनुपर्ने बताए । सर्वश्री अधिकारी एक महिला भएर पनि उनको साहसको प्रशंसा गर्दै अधिकारीको अभियान सफल भएको र त्यसमा सबैको साथ सहयोग रहने बताए । विद्यालयका प्रधानाध्यापक ईश्वर बहादुर भण्डारीले स्वागत व्यक्त गर्दै विद्यालयको सबै पक्षको विकासमा ध्यान दिने बताए । –नव क्षितिज साप्ताहिकबाट