बनेपा, जिल्लाकै उत्कृष्ट बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३३ औं साधारण सभा सम्पन्न गरेको छ । क्षेत्रगत रुपमा विशेष कार्यक्रमकाबीच साधारणसभा सम्पन्न भएको हो ।
सहकारीको कुल शेयर पूँजी रु. ५३ करोड ४७ लाख रहेको छ भने संस्थाले हालसम्म ४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी बचत संकलन गरेको छ । संस्थाले विभिन्न क्षेत्रमा गरी रु. ३ अर्ब ६१ करोड ७९ लाख कर्जा लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति रु. ५ अर्ब ४४ करोड रहेको छ । बिन्धवासिनी सहकारीमा हालसम्म ६१ हजार १५६ शेयर सदस्य रहेका छन् । त्यस्तै, शैक्षिक बाल बचतकर्ताको संख्या १२ हजार ६०५ रहेको छ । शेयर सदस्य र शैक्षिक बाल बचतकर्तासहित संस्थासँग आबद्ध कुल सदस्य संख्या ७३ हजार ७६१ पुगेको छ । संस्थाको खुद आय ४ अर्ब ३२ लाख ७ हजार ५६४ र खुद व्यय ३ अर्ब ७८ करोड, २३ लाख ६ हजार ४१७ रहेको छ ।
संस्थाका कोषाध्यक्ष भीमबहादुर खत्रीले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षभन्दा सदस्य संख्या बृद्धिमा लक्ष्यको ३२.५६ प्रगति भएको छ । बचत तथा निक्षेपमा ४४.८५ प्रतिशत बृद्धि भएको छ । संस्थाको शेयर पूँजीमा २०.६७ प्रतिशत, जगेडा कोषमा ३३.२९ प्रतिशत, कूल सम्पतिमा २६.४४ प्रतिशत बृद्धि भएको छ । संस्थाले वित्तीय कारोबारसँगै सदस्य संरक्षण तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत निरन्तरता दिएको जनाएको छ । आर्थिक वर्ष २०८३÷०८४ को साउन महिनामा मात्रै विभिन्न सदस्य संरक्षण कार्यक्रम अन्तर्गत १ सय ६६ जनालाई रु.१४ लाख ५९ हजार ९२३ बराबरको निःशुल्क सुविधा तथा सहयोग उपलब्ध गराइएको कालोटोपी डटकमलाई प्राप्त विवरणमा उल्लेख छ । साउन महिनामा मात्रै स्वास्थ्य उपचार सुविधा अन्तर्गत १ सय जना सदस्यलाई सेवा प्रदान गरिएको छ । पारिवारिक मृत्यु समवेदना अन्तर्गत ३२ जना, सदस्य मृत्यु राहत अन्तर्गत १३ जना, प्राकृतिक प्रकोप राहत अन्तर्गत १ जना, नवजात शिशु सेवा अन्तर्गत १५ जना र विशेष उपचार सुविधा अन्तर्गत ५ जनाले लाभ लिएका छन ।








