बनेपा, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष हिजोदेखि शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व यज्ञयादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको छ ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ ।
कुन तिथिमा कसको श्राद्ध गर्ने ?
कुनै दुर्घटना परी, सर्पको डसाइबाट, विष सेवनबाट, शस्त्र प्रहारबाट, हत्याबाट, आत्महत्या वा अन्य कुनै तरिकाको अस्वाभाविक रूपमा निधन भएका पितृहरूको श्राद्ध चतुर्दशी तिथिका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ । त्यस्तै जसको मृत्यु सामान्य एवं स्वाभाविक रुपमा चतुर्दशी तिथिमा भएको छ, उनीहरूको श्राद्ध पितृ पक्षको त्रयोदशी अथवा अमावस्याका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ । काल गतिले मरेकाहरूको श्राद्ध भाद्र पूर्णिमा वा आश्विन कृष्ण अमावस्याका दिन गर्नुपर्छ ।
सौभाग्यवती महिला अर्थात पति जीवित छँदै मरेका महिलाको श्राद्ध पनि पितृ पक्षको नवमी तिथिमा गर्नुपर्ने उल्लेख छ । सन्यासीहरूको श्राद्ध पितृ पक्षको द्वादशीमै गर्नुपर्छ । मामाघरको हजुरबा तथा हजुरआमाको श्राद्ध आश्विन शुक्ल प्रतिपदामै गर्नुपर्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ ।









