बनेपा, नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकता लागि पैसाको कुनै चलखेल नभएको बताएका छन । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकद्वारा शनिबार आयोजित रक्तदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपसभापति शर्माले वर्तमान नेतृत्व कुनै कुरामा नचुकेको दाबी गरेका हुन ।
करिव ९ महिना मन्त्री भएका गगन थापा, मन्त्री नै नभएको विश्व प्रकाश शर्माले १८ करोड कसरी र कहाँबाट बुझाउने, बरु पटक पटक पदमा पुगेका साथीहरूमा उतै (चुनदेवी) हुनुहुन्छ,’ आरोपको खण्डन गर्दै उनले भने, ’ कुनै व्यक्तिले भेट्यो रे, पैसा दियो रे भनिदिएर मात्र हुँदैन, प्रमाणित हुनुपर्छ ?’ मधेशमा अशान्ति फैलिन खोज्दा कांग्रेस सभापति गगन थापाले संयम र जिम्मेवारीका साथ परिस्थिति सम्हालेको प्रसङ्ग उल्लेख गर्दै उनले चुनावी हार–जीतलाई सामान्य प्रक्रिया मान्नु पर्ने बताए ।
कार्यक्रममा उपसभापति मधुप्रसाद आचार्यले कांग्रेसले हरेक कार्यक्रममा सामाजिक क्रियाकलाप जोड्दै आएको र देश सनकको भरमा चल्न नसक्ने बताए । केन्द्रीय सदस्य गणेश लामा, तीर्थ लामा, र महेश खरेल, काभ्रेका सचिव माधव ढकाल, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति चन्द्रबहादुर लामा, प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति जितेन्द्रमान तामाङ (दावा लामा), जिल्ला सदस्य सनिता न्यौपाने बजगाई लगायतले बोलेको कार्यक्रममा कार्यवाहक जिल्ला सभापति गुणराज मुक्तानले नेपाली कांग्रेस अब सत्ताकेन्द्रित नभई पूर्ण रूपमा नागरिककेन्द्रित हुने बताए । जिल्ला सह–सचिव समिर ब्याञ्जु श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा १५ औं महाधिवेशन अन्तर्गत निर्वाचित प्रतिनिधी सभा क्षेत्रीय सभापति, प्रदेश सभा क्षेत्रीय सभापति, पालिका सभापति र वडा सभापतिहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
सोहि अवसरमा आयोजित रक्तदानमा १ सय १३ पिन्ट रगत संकलन भएको छ । स्वास्थ्य उपचारका लागि रगतको अभाव देखिएको गुनासो आएकाले रगत अभाव हुन नदिन रक्तदान गरिएको जिल्ला सह–सचिव रविन्द्रनाथ सिग्देलले बताए ।








