गोकर्णेश्वरमा गत कात्तिक २७ गतेदेखि जारी श्रीस्कन्द पुराण चतुर्मास सत्सङको समापनका अवसरमा तीर्थ प्रचार महाअभियानले विशेष धार्मिक महोत्सव आयोजना गर्ने भएको छ । कात्तिक २७ गतेदेखि मंसिर ८ गतेसम्म काठमाडौंस्थित श्री गोकर्णेश्वर महादेव मन्दिर प्रांगण, हनुमानचोक क्षेत्रमा कार्यक्रम सञ्चालन भैरहेको छ ।
जुन महोत्सवमा देशभरिका साधुसन्त, महन्त, महामण्डलेश्वर, जगद्गुरु, धर्माचार्य, विद्वान् आचार्य, सञ्चारकर्मी, गायक, कलाकार, नायक–नायिका, उद्योगी, व्यवसायी, समाजसेवी, राष्ट्रसेवक तथा सम्पूर्ण धर्मानुरागी महानुभावहरूको सहभागिताका लागि आयोजकले निमन्त्रणा गरेको छ । महाअभियानका संयोजक एवं संकल्पकर्ता दीपकिशोर गुरुले सबैमा आमन्त्रण गरेका हुन । कार्यक्रममा धार्मिक प्रवचन, पूजापाठ, पुराणवाचन तथा हवनात्मक अनुष्ठानलगायत गतिविधिलाई समेट्ने तयारी गरिएको दीपकिशोर गुरुले बताए । चारमहिने सत्सङमा जोडिएका धार्मिक भावना, आध्यात्मिक अनुभव र तीर्थ संरक्षणको संकल्पलाई समापन महोत्सवमार्फत अझ व्यापक जनसमुदायसम्म पुरÞ्याउने लक्ष्य राखिएको छ । महोत्सवमा हवनात्मक महायज्ञलाई विशेष महत्त्व दिइनेछ । यज्ञ तथा धार्मिक अनुष्ठानको माध्यमबाट समाजमा सद्भाव, सेवा, सदाचार र धर्मप्रतिको निष्ठा अभिवृद्धि गर्ने सन्देश प्रवाह गर्नु महोत्सवको महत्त्वपूर्ण पक्ष हो ।
गुरु दीपकिशोरका अनुसार, तीर्थ प्रचार महाअभियानले तीर्थ संरक्षणलाई बहुआयामिक जिम्मेवारीका रूपमा लिएको छ । तीर्थ संरक्षण भन्नाले मन्दिरका भौतिक संरचना जोगाउनुमात्र होइन, त्यहाँसँग जोडिएको इतिहास, प्राचीन मान्यता, स्थानीय परम्परा, धार्मिक अनुष्ठान, मौलिक वास्तुकला र सांस्कृतिक पहिचानलाई समेत सुरक्षित राख्नु हो ।
तीर्थ प्रचार महा अभियानको उद्देश्य तथा परिकल्पना
नेपाल केवल हिमाल, पहाड र प्राकृतिक सौन्दर्यले मात्र सम्पन्न देश होइन; यो ऋषिमुनिहरूको तपोभूमि, देवदेवीहरूको क्रीडास्थल, सनातन संस्कृतिको उद्गमभूमि र असङ्ख्य पवित्र तीर्थस्थलहरूको पावन भूमि हो । तर आज हाम्रा कैयौँ ऐतिहासिक मठमन्दिर, देवालय, आश्रम, कुण्ड, पोखरी र पवित्र तीर्थस्थलहरू संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेका छन् ।
कुनै मन्दिरको छानो चुहिरहेको छ, कुनै देवालयको मूर्ति र शिलालेख बेवारिसे अवस्थामा छन्, कुनै पवित्र कुण्ड फोहोरले पुरिँदै छ, कुनै तीर्थस्थलको ऐतिहासिक अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ। कतिपय मन्दिरमा नित्य पूजाआजा गर्ने पुजारी छैनन्, कतै बत्ती बाल्ने मान्छे छैनन्, कतै भगवान् विराजमान हुनुहुन्छ तर उहाँको मन्दिरको अवस्था हेर्दा मन रुन्छ ।
हामीले गर्वका साथ नेपाललाई देवभूमि भन्छौँ, तर हाम्रै देवभूमिका तीर्थस्थलहरू संरक्षणको प्रतीक्षामा छन्। संसारलाई हाम्रो गौरवशाली इतिहास सुनाउँछौँ, तर आफ्नै इतिहास बोकेका सम्पदाहरू क्रमशः हराउँदै गइरहेका छन् ।
के हाम्रा पुर्खाले संरक्षण गरेर सुम्पिएका तीर्थस्थलहरूलाई आगामी पुस्ताले भग्नावशेषका रूपमा मात्र देख्नुपर्ने हो? के हाम्रा सन्तानले तीर्थको नाम इतिहासका पुस्तकमा मात्र पढ्नुपर्ने हो ? यही पीडा, यही चिन्ता र यही जिम्मेवारीबोधबाट जन्मिएको अभियान हो तीर्थ प्रचार महा अभियान ।
अभियानका मुख्य उद्देश्यहरू
१. नेपालका पूर्वदेखि पश्चिमसम्म रहेका सम्पूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक तीर्थस्थलहरूको खोज, पहिचान, प्रचारप्रसार र संरक्षण गर्नु ।
२. जीर्ण, उपेक्षित तथा संरक्षणको अभावमा रहेका मठमन्दिर, देवालय, आश्रम, धर्मशाला, कुण्ड, पोखरी र पाटीपौवाहरूको संरक्षण तथा पुनरुत्थानका लागि जनचेतना र सामूहिक अभियान सञ्चालन गर्नु ।
३. ओझेलमा परेका तीर्थस्थलहरूको इतिहास, धार्मिक महत्त्व, पुरातात्त्विक विशेषता र शास्त्रीय प्रमाणहरू संकलन गरी वृत्तचित्र, पुस्तक, सञ्चारमाध्यम तथा डिजिटल माध्यमबाट विश्वसामु परिचित गराउनु ।
४. तीर्थस्थलसँग जोडिएका मौलिक परम्परा, संस्कृति, जात्रा, पर्व, धार्मिक अनुष्ठान र सनातन संस्कारहरूको संरक्षण तथा प्रवद्र्धन गर्नु ।
५. साधुसन्त, महन्त, आचार्य, धर्माचार्य, धार्मिक संस्था, स्थानीय समुदाय, युवा पुस्ता तथा सरोकारवाला निकायलाई एउटै साझा अभियानमा जोड्नु ।
६. तीर्थयात्रालाई व्यवस्थित, सुरक्षित, मर्यादित र ज्ञानमूलक बनाउँदै धार्मिक पर्यटनको विकास गर्नु तथा स्थानीय समुदायको आर्थिक र सामाजिक समृद्धिमा योगदान पु¥याउनु ।
७. नेपालको सनातन धार्मिक सम्पदा, ऋषिमुनिहरूको तपोभूमि तथा प्राचीन सभ्यतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु ।
८. हाम्रा तीर्थस्थलहरू केवल ढुङ्गा र माटोका संरचना होइनन्, ती हाम्रो आस्था, इतिहास, पहिचान र सभ्यताका जीवित धरोहर हुन् भन्ने भावना जनमानसमा स्थापित गर्नु ।
संकल्प
हाम्रो उद्देश्य केवल नयाँ मन्दिर निर्माण गर्नु मात्र होइन, जीर्ण हुँदै गएका पुराना मन्दिरहरूको अस्तित्व जोगाउनु पनि हो। केवल प्रसिद्ध तीर्थस्थलहरूको प्रचार गर्नु होइन, वर्षौँदेखि ओझेलमा परेका तीर्थहरूको आवाज बन्नु पनि हो । हामी पूर्वको पाथीभराबाट पश्चिमको बडिमालिकासम्म, उत्तरका हिमाली तीर्थदेखि दक्षिणका पवित्र धामसम्म पुग्न चाहन्छौँ। स्थावर तथा जङ्गम दुवै तीर्थको महिमा उजागर गर्दै नेपालको प्रत्येक पवित्र धार्मिक सम्पदालाई विश्वसामु परिचित गराउन चाहन्छौँ ।
हामी सरकारलाई दोष दिएर मात्र बस्न चाहँदैनौँ, समाजलाई गाली गरेर मात्र समय बिताउन चाहँदैनौँ। बरु सबैलाई एउटै प्रश्न गर्न चाहन्छौँ—आफ्नो आस्था, आफ्नो इतिहास र आफ्नो पहिचान जोगाउने जिम्मेवारी कसको हो ? यो अभियान कुनै एक व्यक्ति, संस्था वा सम्प्रदायको मात्र अभियान होइन। यो समग्र सनातन धर्मावलम्बी, नेपाली समाज र राष्ट्रकै साझा अभियान हो ।
हामी मन्दिरको घण्टी मात्र बजाउन चाहँदैनौँ, संरक्षणको चेतना पनि जगाउन चाहन्छौँ। हामी तीर्थको दर्शन मात्र गर्न चाहँदैनौँ, तीर्थको अस्तित्व पनि जोगाउन चाहन्छौँ । किनकि आज हामीले तीर्थ जोगाएनौँ भने भोलि हाम्रा सन्तानले तीर्थ खोज्दै इतिहासका पाना पल्टाउनुपर्नेछ ।
तीर्थ हाम्रो पहिचान, संरक्षण हाम्रो अभियान ।








