बनेपा, जिल्ला सहकारी संघ लि.काभ्रेको ४५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष अमन पोटेको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न बिधामा सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष अमन पोटेले संस्थाले अघिल्लो वर्ष सञ्चालन गरेका गतिविधि, आगामी कार्ययोजना तथा सहकारी क्षेत्रसँग सम्बन्धित पछिल्ला नियम, कानून र ऐनमा भएका परिवर्तनबारे जानकारी गराएका थिए । सचिव प्रकाश बञ्जारले संगठनात्मक, संरचनागत तथा नीतिगत क्षेत्रमा भएका गतिविधिसहित स्थापना दिवस र सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष अर्जुन सापकोटाले अघिल्लो आर्थिक वर्षको आम्दानी तथा खर्च, चालु आर्थिक वर्षको बजेट, आर्थिक कारोबार, लाभांश वितरण, खर्च कटौती तथा राज्यका विभिन्न निकायमा राजश्वमार्फत संघले गरेको योगदानसम्बन्धी विवरण प्रस्तुत गरेका थिए । लेखा समितिका सदस्य पवनराज कर्णजितले लेखा समितितर्फबाट भएका गतिविधि तथा प्रगतिबारे जानकारी गराएका थिए । साधारणसभामा संघकी महिला उपाध्यक्ष मिरा सत्यालले स्वागत मन्तव्य र उपाध्यक्ष शान्ति लामाले धन्यवाद व्यक्त गरेका थिए ।
संघको शेयर पुँजी ३ करोड ४९ लाख ६ हजार ४ सय रुपैयाँ रहेको छ भने २७ करोड १ लाख ६२ हजार ३ सय ९९ रुपैयाँ कर्जा लगानी गरिएको छ । संघले ५ करोड ८४ लाख ६५ हजार ४ सय २९ रुपैयाँ बचत संकलन गरेको जनाएको छ । विभिन्न खर्च कटाएर संघको खुद मुनाफा १ करोड २९ लाख ७२ हजार ७ सय १२ रुपैयाँ रहेको छ । संघले विभिन्न निकायमा राजश्व तथा करबापत ७० लाख ३४ हजार ८ सय ४८ रुपैयाँ बुझाएको जनाएको छ। साधारणसभामा जग्गाको पुनर्मूल्यांकन कोष, जोखिम कोषलगायत विभिन्न कोषमा समेत रकम जम्मा गरिएको जानकारी दिइएको थियो ।
सो साधारणसभाको अवसरमा संघले सहकारी क्षेत्रमा योगदान पु¥याउने विभिन्न संस्था तथा व्यक्तिलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरेको छ । सहकारी व्यवसाय, असल ऋणी सदस्य संस्था, सहकारी पत्रकारिता र उत्कृष्ट सहकारी कर्मचारीलगायत विधामा पुरस्कार प्रदान गरिएको हो । बहुउद्देश्यीय सहकारी विधातर्फको सहकारी व्यवसाय पुरस्कार २०८३ श्री सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पनौती–६, काभ्रेलाई प्रदान गरिएको छ । त्यस्तै, कृषि सहकारी विधातर्फको सहकारी व्यवसाय पुरस्कार २०८३ श्री प्रतिष्ठा सहकारी संस्था लिमिटेड, पाँचखाल–३, काभ्रेले प्राप्त गरेको छ । असल ऋणी सदस्य संस्था पुरस्कार २०८३ श्री नमस्ते कृषि सहकारी संस्था लिमिटेड, धुलिखेल–३, काभ्रेलाई प्रदान गरिएको छ ।
त्यसैगरी सहकारी पत्रकारिता पुरस्कार–२०८३ चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमिल्सिनालाई प्रदान गरियो । यस्तै, सर्वोत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८३ श्री लक्ष्मी महिला साकोस, पनौती–५ का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीलाई प्रदान गरिएको थियो ।