सरकारले सार्वजनिक यातायातमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि छुट्टै व्यावसायिक लाइसेन्सको व्यवस्था गर्ने भएको छ । सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा काम गर्ने चालकहरूको दक्षता र स्वास्थ्य अवस्थालाई कडा निगरानीमा राख्ने कानुनी आधार प्रस्ताव गरेको छ ।
विधेयकको दफा २४ ले राष्ट्रिय सडक सुरक्षा परिषद्ले यातायात सम्बन्धी निकायलाई दिन सक्ने निर्देशनबारे स्पष्ट व्यवस्था गरेको छ । उक्त दफाको उपदफा (२) मा भनिएको छ, ‘यातायात सम्बन्धी निकायले सार्वजनिक यातायात सेवामा काम गर्ने सवारी चालकको लागि व्यावसायिक सवारी चालक अनुमति पत्रसम्बन्धी छुट्टै प्रकारको मापदण्ड बनाई लागू गर्नु पर्नेछ । यस व्यवस्थापछि सामान्य लाइसेन्स (निजी सवारीसाधनका लागि लिइने अनुमति) को भरमा सार्वजनिक बस वा यात्रुवाहक सवारीसाधन चलाउन पाइने छैन । यसका साथै, चालकको स्वास्थ्य अवस्था (जस्तैः दृष्टिदोष, उच्च रक्तचाप वा अन्य शारीरिक कमजोरी) का कारण हुन सक्ने दुर्घटना रोक्न लाइसेन्स नवीकरणमा पनि नयाँ नियम प्रस्ताव गरिएको छ । उपदफा (१) को खण्ड (ग) अनुसार, सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दा ‘सवारी चालकको स्वास्थ्य तथा शारीरिक क्षमता परीक्षण’ को विषय अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ ।








