हिमाली तथा प्रमुख पदयात्रा क्षेत्रमा मौसम बिग्रिएपछि स्थानीय निकाय, नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रीलाई सतर्क रहन आग्रह गरेका छन् ।
अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ्न सक्ने र पदमार्ग तथा पुलमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले शुक्रबार सार्वजनिक गरेको मौसम अपडेटअनुसार मनाङमा हल्का हिमपात भइरहेको छ । लोमान्थाङ, कागबेनी, जोमसोम, घासा, पोथाना, घान्द्रुक, छोम्रोङ, सिक्लेस तथा लमजुङको सिम्पानी क्षेत्रमा सिमसिम पानी परिरहेको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनलाई उद्धृत गर्दै ८ देखि ११ असोजसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाका कारण मनास्लु संरक्षण क्षेत्रमा पहिरो, ढुंगा खस्ने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र पदमार्ग तथा पुलमा क्षति पुग्न सक्ने जोखिम रहेको भन्दै पदयात्री तथा स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।










