बनेपा, लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पु¥याएको छ भने विभिन्न सडकखण्डमा पहिरो, सडक भासिने तथा खोलाको पानीले कटान गर्ने क्रममा यातायात समेत अवरुद्ध बनेको छ । लगातारको वर्षाका कारण बीपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म आठ स्थानमा ठुलो क्षति पुगेको छ । पाँच वटा डाइभर्सन बगेर सडक अवरुद्ध भएको छ ।
त्यस्तै जिल्लाका मुख्य तथा भित्री सडक गरी कम्तीमा चार स्थानमा सडक अवरुद्ध तथा आवागमन प्रभावित भएको छ । धुलिखेल नगरपालिका–८ जिपलाइनस्थित अरनिको राजमार्गमा हिजो बिहान सडक माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो जुन दिउसोदेखि सञ्चालनमा आएको छ । त्यस्तै काभ्रेभञ्ज्याङबाट नमोबुद्ध जाने भित्री सडकखण्ड करिब २५ मिटर भासिएपछि सडक अवरुद्ध भएको छ । सडक भासिएपछि उक्त मार्गमा आवागमन प्रभावित भएको छ । यसैगरी रोशी गाउँपालिका–७ घुमाउनेमा खोलिएको ‘वान वे’ ट्र्याकमा खोलाको पानीको बहाव बढ्दा सडकको भाग कटान भएको छ । पनौती नगरपालिका–१० पाटीखर्कबाट बेथानचोक गाउँपालिका–४ खहरेखोलासम्मको भित्री सडकखण्डमा समेत ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको थियो । पहिरो तथा सडकमा आएको अवरोधका कारण उक्त सडकमा यातायात सञ्चालन प्रभावित भएकोभएपनि पानि कम भएसंगै प्राय सडक सञ्चालनमा आएका छन ।
बीपी राजमार्ग लगायत स्थानमा पहिरो पन्छाउने र डाइभर्सन मर्मतको काम प्राविधिक टोलीले अघि बढाइरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरबाट प्राविधिकसहितको टोली खटिएर काम गरिरहेको छ । सडक डिभिजन कार्यालयकाले गरेको स्थलगत निरीक्षण अनुसार प्रारम्भिक आँकलनमा बीपी राजमार्गको काभ्रे खण्डमा करिब १ हजार ६ सय ८५ मिटर सडकमा क्षति पुगेको छ ।









