दुमो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा काभ्रेको १७औँ वार्षिक साधारणसभा २०८३ असोज १८ गतेदेखि २० गतेसम्म विभिन्न क्षेत्र तथा समूहमा सम्पन्न भएको छ।
सदस्यहरूको सहज सहभागिता सुनिश्चित गर्दै स्थानीयस्तरबाटै सुझाव, गुनासा तथा सल्लाह संकलन गर्ने उद्देश्यले संस्थाले साधारणसभा क्षेत्रगत रूपमा सञ्चालन गरेको हो। असोज १८ गते तिनघरे, काफ्लेबोट, अनेकोट र छहरे समूहमा साधारणसभा सम्पन्न भएको थियो। त्यस्तै, असोज १९ गते रविओपी तथा ओपी समूहमा र असोज २० गते बडालगाउँ तथा भमरकोट समूहमा कार्यक्रम सञ्चालन गरिएको थियो। तीनै दिन संस्थाको कार्यालयबाट समेत साधारणसभाको कार्यक्रम सम्पन्न गरिएको थियो।
साधारणसभाका क्रममा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, बचत तथा ऋण कारोबार, ऋण लगानी तथा असुली, सदस्यता विस्तार, संस्थागत सुशासन, आगामी योजना तथा कार्यक्रमलगायतका विषयमा छलफल गरिएको थियो।
साधारणसभामा प्रस्तुत वित्तीय विवरणअनुसार संस्थाको शेयर पूँजी रु। १ करोड ५५ लाख ५८ हजार ५०० पुगेको छ। संस्थामा रु। १२ करोड २३ लाख ३४ हजार १३२।१६ निक्षेप रहेको छ भने रु। ११ करोड ४२ लाख २२ हजार १९१ ऋण लगानी रहेको छ। संस्थामा करिब ३ हजार शेयर सदस्य आबद्ध रहेका छ्न ।
क्षेत्रगत रूपमा सञ्चालन गरिएको साधारणसभामा संस्थाका पदाधिकारी तथा विभिन्न समितिका जिम्मेवार व्यक्तिहरूले नेतृत्व गरेका थिए। संस्थाका अध्यक्ष जीवन मंग्रातीले अनेकोट, छहरे, ओपी र भमरकोट समूहको कार्यक्रमको सभापतित्व गर्नुभएको थियो।
त्यसैगरी संस्थाका सचिव कुमार रम्तेलले काफ्लेबोट र तिनघरे समूहको कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने उपाध्यक्ष ८८कृष्णमाया मिजार ९दुलाल०८८ले रविओपी र बडालगाउँ समूहको साधारणसभाको सभापतित्व गर्नुभएको थियो।
लेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण परियारले लेखा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। क्षेत्रगत रूपमा सम्पन्न कार्यक्रमहरू संस्थाका कार्यालय प्रमुख दीपक रम्तेल र ऋण शाखा प्रमुख सनम बोगटीले सञ्चालन गर्नुभएको थियो।
साधारणसभाका विभिन्न कार्यक्रममा संस्थाका सञ्चालक समिति, सल्लाहकार, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सदस्यकेन्द्रित सेवा र वित्तीय अनुशासनमा जोड
संस्थाले आगामी दिनमा वित्तीय अनुशासन कायम गर्दै प्रभावकारी ऋण असुली, सदस्यको बचत वृद्धि तथा सुरक्षित र उत्पादनशील क्षेत्रमा ऋण लगानीलाई प्राथमिकतामा राख्ने जनाएको छ।
संस्थाको आगामी परिकल्पनाअन्तर्गत कर्मचारीहरूलाई समयानुकूल तालिम तथा गोष्ठीमा सहभागी गराउने, शेयर सदस्यहरूका लागि सीपमूलक, रोजगारमूलक, चेतनामूलक तथा व्यावहारिक तालिम सञ्चालन गर्ने र सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिने योजना अघि सारिएको छ।
त्यसैगरी समाजमा हुने आकस्मिक दुर्घटना तथा विपद्का समयमा सहयोग पुर्‍याउन राहत कोष सञ्चालन गर्ने, मासिक समूह बचतलाई प्राथमिकताका साथ वृद्धि गर्ने, संस्थाको शेयर पूँजीलाई रु। २ करोड पुर्‍याउने तथा निक्षेप संकलनलाई रु। १५ करोड पुर्‍याउने लक्ष्य लिइएको छ।
संस्थाले छिमेकी सहकारी तथा अन्य संस्थाहरूसँग सहकार्य र मितव्ययिता कायम गर्दै ऋण लगानी गर्दा उचित मूल्याङ्कन गरी सही र उत्पादनशील क्षेत्रमा लगानी गर्ने तथा लगानी भएका क्षेत्रको निरन्तर अनुगमन गर्ने नीति लिएको छ।
कार्यालयका कामलाई सरल, सहज र प्रभावकारी बनाउन आवश्यक प्रविधि तथा आधुनिक सेवाहरू प्रयोगमा ल्याउने, ब्राउजर, कलम प्रिन्ट, वार्षिक क्यालेन्डर तथा प्रगति प्रतिवेदन प्रकाशनलाई निरन्तरता दिने र प्रत्येक कार्यक्रमपछि समीक्षा तथा मूल्याङ्कन गरी आवश्यक सुधार गर्ने लक्ष्य पनि संस्थाले अघि सारेको छ।
आगामी दिनमा सदस्य संख्या तथा सहभागिता वृद्धि, बचत तथा ऋण कारोबारलाई थप व्यवस्थित बनाउने, ऋण असुलीलाई प्रभावकारी बनाउने, डिजिटल वित्तीय सेवा विस्तार गर्ने, संस्थागत सुशासन सुदृढ गर्ने तथा सदस्य शिक्षा एवं वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
साधारणसभाबाट प्राप्त सदस्यहरूको सुझाव, सल्लाह तथा जिज्ञासालाई संस्थाको आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा समेट्दै पारदर्शिता, जवाफदेहिता, वित्तीय अनुशासन र सदस्यकेन्द्रित सेवामा थप सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।
क्षेत्रगत रूपमा साधारणसभा सञ्चालन गर्दा सदस्यहरूलाई संस्थाका गतिविधि, आर्थिक अवस्था तथा आगामी योजनाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर मिल्नुका साथै सदस्यहरूबाट स्थानीयस्तरमै महत्वपूर्ण सुझाव तथा प्रतिक्रियासमेत प्राप्त भएको संस्थाले जनाएको छ।