हाम्रो देश एक सुन्दर शान्त र हरेक हिसाबले स्वर्ग बराबर छ।यहाँको हावापानी अत्यन्तै राम्रो विश्वको जुनसुकै स्थानलाई पनि सुहाउँदो छ । प्रत्येक ५÷१० किलोमीटरको फरकमा फरक फरक वातावरण पाउन सकिन्छ । यहाँ विश्वमा पाइने फल्ने हरेक किसिमका अन्न, फलफुल, बालिनाली रोप्न मिल्ने हावापानी रहेको छ । संसारका पन्छि, जनावर, मान्छेलाई मिल्ने हावापानी हाम्रो देशमा पाइन्छ । तर यति हुँदा पनि हामी गरिब छौं । अरुको देशबाट खाद्यान्न, फलफुल, दुध जन्य पदार्थ, मासु आदि सबै कुरा आयात गरेर खानु परेको छ। हरेक वर्ष अर्बौंको कृषिजन्य उत्पादन आयात भइराखेको छ । हाम्रो देशमा हामीले कहिल्यै पनि किसानको विषयमा गम्भीर भएर सोचेनौंं । जबसम्म किसानको बारे सोच्दैनौं र खाद्यान्नमा आत्मनिर्भर हुँदैनौं तबसम्म कहिल्यै कुनै पनि देशको विकास सम्भव नै छैन । यहाँ हामी केहि वस्तु र उत्पादनमा आत्मनिर्भर हुँदा पनि आयातित बस्तु र अन्य विभिन्न विषयका कारण बजार नपाएर फाल्नुपर्ने विडम्बना छ । किसानले यसरी आफ्नो उत्पादनको बजार पाउन नसक्दा भोलिका दिन उसले कसरी आफ्नो पेशामा टिकिरहन सक्छ? अहिले दैनिक जसो दुग्ध किसान राज्यले ध्यान नदिएको भन्दै विभिन्न तरिकाले आन्दोलित भएको अवस्था छ ।
अहिले पछिल्लो समय विदेश गएर देखेर, सिकेर, हेरेर, बुझेर, केहि युवाहरू कृषिमा आकर्षित भइ अगाडि बढेको अवस्था छ। यो खुशीको खबर हो । अर्को तर्फ फेरि पहिलादेखि यहि पेशा गरेका केही कृषकहरू आफूले गर्दै आएको कृषि एवं पशुपालनबाट सन्तुष्टि प्राप्त गर्न नसकी निरुत्साहित भइ विस्थापित भएको पनि देखिन्छ। राज्यले आर्थिक समृद्धिको नारा चर्को स्वरमा पटक पटक उठान गरिरहँदा, एक पटक कृषि एवं पशुपालन कार्यमा लागि निरुत्साहित भएका किसानका बारेमा एक पटक सोच्दा राम्रो हुनेछ । होइन भने एकपटक घाटा खाएर पेशा छोडेका जो कोहि पनि पुनः त्यो पेशामा कहिल्यै फर्कदैनन । त्यति मात्र होइन उसले चिनेजानेका,नातागोता, इष्टमित्र कोहि पनि त्यो पेशामा नआउने सम्भावना धेरै हुने रहेछ ।
यस्तो परिस्थितिको सिर्जना हुन नदिन राज्यले उत्पादन भएका सबै बस्तुको जिम्मा लिई किसान पलायन हुनबाट बचाउनु पर्छ। आयात गर्दा हुने ब्यापार घाटाले यता बढी भएको बेला राहत दिन पुग्छ र स्वदेशी पैसा पनि विदेशिने छैन । अब गाउँघरमा बाँझा जग्गा जमिन राज्यले नै लिजमा लिई देशमा रोजगार नपाएका युवाशक्तिलाई रोजगार दिई अगाडि बढ्दा अत्यन्तै राम्रो हुनेछ। यसले गर्दा युवा बिदेश पलायन पनि नहुने, खाद्यान्न आयात पनि गर्नु नपर्ने, स्वदेशी पैसा पनि नबिदेशिने, आफ्नै स्वच्छ उत्पादन उपभोग हुने र सबैले यो कार्यको प्रशंसा पनि गर्ने छन । अब राज्य आफैले हलो, कोदालो र ट्याक्टर लिएर खेती गर्न आवश्यक छ । देशलाई आत्मनिर्भर बनाउँछु भन्ने भन्दा पनि त्यो आफ्नो कर्मप्रति समर्पित एउटा किसानलाई निरुत्साहित हुन नदिई थप व्यक्तिहरूलाई आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्छ । देशमा जनताप्रति उत्तरदायी सरकार छ भन्ने विश्वास दिलाउन सक्नु आजको राज्यको पहिलो आवश्यकता हो ।
लगभग एक डेड वर्षदेखि दुध उत्पादक कृषकहरू आफूले उत्पादन गरेको दुधले बजार पाउन नसक्दा र बिक्री भएको दुधको पनि समयमै भुक्तानी नपाउँदा आन्दोलन शुरू गरेको अवस्था छ । वास्तवमा पशुपालन गरी दुध उत्पादन गर्नु, देशलाई आत्मनिर्भर बनाउनु, त्यसैबाट यथेष्ट अर्थोपार्जन गर्नु त्यति सजिलो छैन । तर पनि किसानले निरन्तर जसरी भए पनि, जे जस्तो दुःख कष्ट झेलेर पनि आफ्नो काम गरिरहेका छन् । तर अब यसरी नै यहि अवस्था रहिरहँदा चाँहि गा¥हो छ।अब राज्यले बैलैमा सोचेर अगाडि बढ्नु पर्छ । गत वर्षको जनसंख्या गणनालाई हेर्दा पनि करिब ६० प्रतिशतभन्दा माथि
नेपालको जनसंख्याले आफ्नो जिवननिर्वाहका लागि गर्दै आएको कृषि पेशालाई सरकारले गम्भीर रुपमा लिएर यस क्षेत्रका समस्या पहिचान गरी कृषि क्षेत्रलाई एक आकर्षित र सम्मानित पेशाका रुपमा विकास गर्न आवश्यक छ ।
हाम्रो देशको साँच्चै विकास गर्ने नै हो भने त्यति गा¥हो केहि नै छैन । तर अचम्म के लाग्छ भने किन र केका लागि राज्यले देशको विकासमा ध्यान दिइएको छैन? हाम्रो देश वनजंगलमा धनी, जलस्रोतमा धनी, हावापानीमा विश्वभरको उत्तम, संसारको अग्लो सगरमाथामा भएको देश, शान्तिका दुत विश्वले मानेका गौतम बुद्ध जन्मेको देश, विश्वमा नपाइने जडिबुटी, पन्छि र जनावर पाउने देश भएर पनि हामीले यसलाई सहि तरिकाले उपयोग गर्न सक्नु ठूलो दुखको कुरा हो । यसमा राज्यको ठूलो कमजोरी मान्नुपर्छ । हामीले अब बाहिरबाट पूर्ण रुपमा काठ आयात बन्द गर्ने र यहीँ जंगलमा रहेका पुराना र ठूला रुख कटान गरि प्रयोग गर्ने र पुनः अरु बिरुवा रोप्ने, पानीको समस्या भएका बाहिरका देशलाई सगरमाथाको मुहानको पानी भनि बेच्ने, सबै किसिमका कृषि उपज यहीँ उत्पादन गर्ने र कुनै पनि खाद्यान्न अन्य देशबाट नकिन्ने, सबै वनजंगलमा बेरोजगार युवाहरुलाई रोजगार दिई जडिबुटी टिप्न लगाउने र प्रशोधन गरि निर्यात गर्ने, विश्वभर गौतम बुद्ध नेपालमा जन्मेको कुरा विज्ञापन गरि पर्यटक भित्र्याउने, नेपालको भौगोलिक अवस्था, हावापानी र यहाँ भएका सबै राम्रा पक्षको विश्वभर ब्यापक विज्ञापन गर्ने, हाम्रो देशको मौलिकता जोगाउन लाग्ने र पर्यटकलाई आकषिर्त गर्ने काम हामीले गर्न सक्यौं भने हाम्रो देश दुईचार वर्षमै विकासमा धेरै फट्को मार्छ । हाम्रो देशको विकासमा हामीले नसक्ने, नहुने र नभएका कुरा ल्याएर गर्ने होइन । जे हामी कहाँ छ त्यसलाई सहि तरिकाले उपयोग गरि गर्ने हो । हामीले पर्यटन, कृषिमा आत्मनिर्भर हुने, हाम्रा मौलिकता, परम्परा र संस्कृति जोगाएर राख्ने गरियो भने हामी विश्वका पर्यटकलाई अन्य देशको तुलनामा फरक कुरा दिन सक्छौं । यसमा सबै मिलि लागौं र देश विकासमा सबैको एउटै भावना बनाऔं । –नव क्षितिज साप्ताहिकबाट








