नेपालको मौलिक खाद्य संस्कृति, स्वास्थ्य चेतना र दुग्ध उद्योगको विकाससँग जोडिएको एक ऐतिहासिक परिवर्तनको कथा हो, मोहीको पुनर्जागरण । कुनै समय गाउँघरका किसान, खेतबारी र श्रमिकको पेयका रूपमा सीमित रहेको मोही आज स्वास्थ्यवर्धक प्राकृतिक पेय, व्यावसायिक उत्पादन र नेपाली पहिचानको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । यो परिवर्तन संयोगले भएको होइन । यसको पछाडि नेपाल डेरी एसोसिएसन,मोही अभियानताका रुपमा चिनिएका नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, आम नेपाली सञ्चारमाध्यम, दुग्ध उद्योगी तथा स्वास्थ्य विज्ञहरूको निरन्तर प्रयास र समन्वित अभियान रहेको छ ।
अभियानको सुरुवातः
वि.सं. २०७९ साल साउन १ गते काठमाडौंको दरबारमार्गस्थित ओरिएन्ट क्याफे परिसरमा आयोजित रैथाने कृषि उपज बजारमा नेपाल डेरी एसोसिएसनको नेतृत्वमा ऐतिहासिक राष्ट्रिय मोही अभियान प्रारम्भ भयो । आयोजक समितिसँग दुई वर्षका लागि निःशुल्क मोही सेवन गर्न सहकार्य गर्दै परम्परागत ठेकीमा मोही सेवन गराउने कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, संघीय सांसद, स्थानीय तहका प्रमुख, कृषि वैज्ञानिक, उद्योगी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई राष्ट्रिय महत्व प्रदान गर्यो । मिडियाले यस अभियानलाई व्यापक रूपमा प्रचार–प्रसार गरेपछि एउटा सानो प्रयास देशव्यापी अभियानमा रूपान्तरण भयो। नेपालभरका डेरी उद्योगहरूले पालैपालो दही उपलब्ध गराएर ठेकीमा पार्दै निशुल्क बाढ्ने कार्यलाई निरन्तरता दिए । यसले मोहीप्रतिको जनविश्वास बढायो र परम्परागत नेपाली पेयलाई पुनःजनजीवनको केन्द्रमा ल्याउने आधार तयार गर्यो ।
अभियानको प्रतिफलः बजारमा जन्मिए नयाँ नेपाली ब्रान्ड
यस अभियानबाट प्रेरित भएर विभिन्न डेरी उद्योगहरूले पहिलो पटक आफ्नै ब्रान्डमा लेबलिङ तथा प्याकेजिङसहित मोही बजारमा ल्याउन थाले । सबैभन्दा पहिले पोखराको बजगाई डेरी उद्योगले “सञ्जीवनी मोही“ बजारमा ल्यायो। त्यसपछि रुपन्देहीको ग्लोबल डेरी उद्योगले “बुद्धभूमि मोही“, ललितपुरको नवप्रभात डेरी उद्योगले “प्रभात मोही“ तथा हिमालयन डेरी उद्योगले “दर्शन मोही“ उत्पादन गरी बजारमा उपलब्ध गराए । त्यसयता देशभरका दर्जनौं डेरी उद्योगहरूले आफ्ना ब्रान्डमा गुणस्तरीय प्याकेजिङसहित मोही उत्पादन गर्न थालेका छन । यसले स्पष्ट देखायो कि साझा उद्देश्य, निरन्तर अभियान र सबै पक्षको सहकार्य भए कुनै पनि नेपाली उत्पादनलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सकिन्छ ।
हेपिएको पेयबाट सम्मानित पेयसम्म
केही वर्षअघिसम्म मोहीलाई गरिब, ग्रामीण र परम्परागत जीवनसँग मात्र जोडेर हेर्ने प्रवृत्ति थियो । आधुनिकता भनेको विदेशी चिसो पेय पदार्थ भन्ने गलत सोच समाजमा फैलिएको थियो। आज अवस्था पूर्ण रूपमा बदलिएको छ । गाउँको खेतबारीदेखि शहरका होटल, भोजभतेर, सेमिनार, सम्मेलन, कृषि मेला, धार्मिक कार्यक्रम र पारिवारिक समारोहसम्म मोही व सेवन गरिन थालेको छ। यो परिवर्तन नेपाली समाजमा बढ्दो स्वास्थ्य चेतना र स्वदेशी उत्पादनप्रतिको विश्वासको परिणाम हो ।
स्वास्थ्यको अमृतः किन महत्त्वपूर्ण छ मोही ?
प्रख्यात जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार हिन्दु परम्परामा दहीलाई पाँच अमृतमध्ये एक मानिन्छ। शुभकार्यमा दही खाने, टीकामा दही प्रयोग गर्ने तथा पञ्चामृतमा दही समावेश हुने परम्पराले यसको सांस्कृतिक महत्व झल्काउँछ । दहीबाट तयार गरिने मोहीमा प्राकृतिक रूपमा लाभदायक प्रोबायोटिक जीवाणु (ल्याक्टोबेसिलस) पाइन्छ, जसले पाचन प्रणालीलाई सुदृढ बनाउँछ, आन्द्राको स्वास्थ्य सुधार गर्छ र रोग हुने व्यक्तिहरूले पनि मोही सहज रूपमा सेवन गर्न सक्छन । मोहीमा क्याल्सियम, प्रोटिन, भिटामिन बी–१२, एमिनो एसिड तथा शरीरलाई आवश्यक अन्य पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । गर्मी मौसममा शरीरमा पानीको कमी हुन नदिन, थकान कम गर्न र स्फूर्ति प्रदान गर्न यसको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ ।
कृत्रिम पेयभन्दा प्राकृतिक विकल्प
बजारमा पाइने धेरै चिसो पेय पदार्थ, अत्यधिक गुलियो जुस तथा कार्बोनेटेड ड्रिंकमा धेरै चिनी, कृत्रिम रंग, स्वाद र संरक्षक पदार्थ मिसाइएका हुन्छन । यस्ता पेय पदार्थको अत्यधिक प्रयोगले मोटोपना, मधुमेह, हड्डी कमजोर हुने, कलेजो तथा मुटुसम्बन्धी समस्या बढ्न सक्ने विभिन्न अनुसन्धानले देखाएका छन । यसको विपरीत मोही पूर्ण रूपमा प्राकृतिक, सहज पाच्य, कम लागतको र स्वास्थ्यवर्धक पेय हो। बालबालिका, युवा, वृद्ध सबै उमेर समूहका लागि यो उत्कृष्ट विकल्प मानिन्छ ।
नेपाली संस्कृति र कृषिसँगको गहिरो सम्बन्ध
मोही केवल पेय पदार्थ मात्र होइन, नेपाली सभ्यता र कृषिसंस्कृतिको अभिन्न हिस्सा हो । गाई वा भैँसीको दूधबाट दही जमाई, त्यसलाई मथेर घिउ निकालेपछि प्राप्त हुने मोही किसानहरूको दैनिक जीवनसँग जोडिएको थियो । विशेष गरी रोपाइँ, खेतबारीको काम तथा गर्मी मौसममा किसानहरू मोही बोकेर खेतमा जान्थे। यसले तिर्खा मेटाउनुका साथै शरीरलाई आवश्यक ऊर्जा र स्फूर्ति प्रदान गथ्र्यो । आज पनि धेरै ग्रामीण क्षेत्रमा यो परम्परा जीवित छ । घरेलु सौन्दर्य उपचारमा समेत दही र मोहीको प्रयोग हुँदै आएको छ। बेसन र बेसारसँग मिसाएर अनुहारमा लगाउने तथा कपालको चाहय आउँदा प्रयोग गर्ने परम्परा अझै हाम्रो देशमा कायम छ ।
बढ्दो बजार र डेरी उद्योगको अवसर
पछिल्ला वर्षहरूमा मोहीको व्यावसायिक उत्पादन उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार देशभर करिब ५० वटा डेरी उद्योगले दैनिक झण्डै एक लाख लिटर मोही उत्पादन तथा बिक्री गरिरहेका छन । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार मोहीको सबैभन्दा ठूलो शक्ति यसको प्राकृतिक पन हो । कृत्रिम स्वाद, अत्यधिक चिनी वा अनावश्यक पदार्थ मिसाएर यसको मौलिकता बिगार्नु हुँदैन। उपभोक्ताहरू प्राकृतिक तथा स्वास्थ्यवर्धक पेयतर्फ आकर्षित हुँदै गएकाले मोहीको माग निरन्तर बढिरहेको छ ।
अबको आवश्यकता
मोहीलाई केवल डेरी उत्पादनका रूपमा होइन, नेपालको राष्ट्रिय पेय पदार्थको पहिचान बोकेको स्वास्थ्यवर्धक पेयका रूपमा स्थापित गर्न आवश्यक छ। त्यसका लागि गुणस्तर नियन्त्रण, वैज्ञानिक उत्पादन, आकर्षक प्याकेजिङ, उपभोक्ता सचेतना, सरकारी प्रोत्साहन तथा निर्यातको सम्भावनामा विशेष ध्यान दिनुपर्छ। विद्यालय, अस्पताल, सरकारी कार्यक्रम, कृषि मेला, खेलकुद, पर्यटन तथा सार्वजनिक समारोहमा मोहीलाई अझै प्राथमिकता दिन सकिए यसको बजार अझ विस्तार हुनेछ । यसले दुग्ध किसान, डेरी उद्योग, उपभोक्ता र राष्ट्रिय अर्थतन्त्र सबैलाई प्रत्यक्ष लाभ पुर्याउनेछ ।
निष्कर्ष
नेपाल डेरी एसोसिएसनको नेतृत्वमा सुरु भएको सानो अभियान आज राष्ट्रिय सफलताको उदाहरण बनेको छ। ठेकीको मोहीबाट सुरु भएको यात्रा अहिले आधुनिक प्याकेजिङ, ब्रान्डिङ र व्यावसायिक उत्पादनसम्म आइपुगेको छ । यसले प्रमाणित गरेको छ कि स्वदेशी उत्पादनको निरन्तर प्रवद्र्धन, प्रभावकारी प्रचार र सबै पक्षको सहकार्य भए नेपाली उत्पादनले बजार जित्न सक्छ ।
मोही केवल गर्मीमा पिउने पेय होइन। यो स्वास्थ्य, पोषण, संस्कृति, कृषि, आत्मनिर्भरता र नेपाली मौलिकताको जीवन्त प्रतीक हो। यसको संरक्षण, प्रवद्र्धन र व्यवसायीकरण गर्नु भनेको नेपाली किसान, दुग्ध उद्योग र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु हो । यदि यही गति र प्रतिबद्धता कायम रह्यो भने मोही भविष्यमा नेपालको पहिचान बोकेको विश्वस्तरीय प्राकृतिक पेयका रूपमा स्थापित हुने आधार बलियो बन्नेछ ।








