काभ्रेको पाँचखाल नगरपालिका–९ स्थित ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर फेरि चर्चामा आएको छ । यही २०८३ भदौ ७ गते (२३ अगस्ट २०२६) शनिबार साँझ आरतीका क्रममा भगवतीको मूर्तिमा ‘पसिना’ देखिएको स्थानीय निराजन रेग्मी तथा मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । पसिना देखिएपछि मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमापूजा गरिएको थियो ।
पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आउनुलाई स्थानीय जनविश्वासले लामो समयदेखि दैवी विपत्ति वा देशमा आउने ठूलो संकटको संकेतका रूपमा लिँदै आएको छ । रेग्मीका अनुसार विगतमा पनि ठूला प्राकृतिक विपत्ति तथा राजनीतिक घटनाका समयमा मूर्तिमा यस्ता संकेत देखिने गरेको स्थानीय विश्वास छ ।
विगतमा कुन–कुन घटनासँग जोडिन्छ ‘पसिना’?
१. वि.सं. १९९० साल महाभूकम्प–स्थानीय अभिलेख तथा जनश्रुतिअनुसार १९९० सालको विनाशकारी भूकम्पको समयदेखि नै पलाञ्चोक भगवतीको मूर्तिमा असामान्य संकेत तथा पसिना देखिने गरेको विश्वास गरिन्छ । १९९० सालको भूकम्पले मन्दिरमा समेत क्षति पु¥याएको विवरण पाइन्छ ।
२. वि.सं. २०२९सैनिक विमान दुर्घटना–२०२९ सालमा धुलिखेल डाँडाको खोल्सामा एउटा सैनिक विमान दुर्घटनाग्रस्त हुनुअघि पनि भगवतीको अनुहारमा पसिना आएको भनाइ पुरानो स्थानीय विवरणमा उल्लेख छ ।
३. वि.सं. २०४५ भदौ ५ भूकम्प–२०४५ साल भदौ ५ गते गएको ठूलो भूकम्पअघि भगवतीको अनुहारबाट पसिना आएको स्थानीय विवरणमा उल्लेख छ । त्यसैले यो घटना पलाञ्चोक भगवतीको ‘पसिना’सँग जोडिने प्रमुख घटनामध्ये एक मानिन्छ ।
४. वि.सं. २०५८दरबार हत्याकाण्ड–पछिल्ला स्थानीय विवरण तथा मन्दिर व्यवस्थापन पक्षको भनाइअनुसार २०५८ सालको दरबार हत्याकाण्डको समयमा पनि पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको बताइन्छ । यो विवरणलाई भने स्थानीय दाबी÷जनश्रुतिका रूपमा बुझ्नुपर्छ ।
५. वि.सं. २०७२ वैशाख विनाशकारी भूकम्प–२०७२ साल वैशाखको पहिलो हप्तामा भगवतीको मूर्तिमा पसिना आएको पुजारीले बताएको पुरानो समाचारमा उल्लेख छ । त्यसको केही दिनपछि २०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएको थियो ।
६. वि.सं. २०८१ बाढीपहिरो–२०८१ सालमा देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोको समय पनि पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको स्थानीय तथा मन्दिर व्यवस्थापन पक्षले बताउँदै आएको छ । यसको पनि विस्तृत दिन÷मिति उपलब्ध स्रोतमा स्पष्ट छैन ।
७. वि.सं. २०८२ जेनजी आन्दोलन–गत वर्षको जेनजी आन्दोलनका क्रममा पनि भगवतीको मूर्तिमा पसिना आएको मन्दिर व्यवस्थापन पक्षको भनाइ छ । यो पनि हाल उपलब्ध स्रोतमा स्थानीय दाबीका रूपमा उल्लेख भएको घटना हो ।
अनि अहिले २०८३ मा फेरि पसिना–२०८३ भदौ ७ गते, शनिबार साँझ आरतीका क्रममा फेरि पलाञ्चोक भगवतीको मूर्तिमा पसिना देखिएको खबर सार्वजनिक भयो । पसिना देखिएपछि तत्काल मूर्तिलाई स्नान गराएर तान्त्रिक विधिअनुसार क्षमापूजा गरिएको थियो ।
त्यसको तीन दिनपछि, २०८३ भदौ १० गते (२६ अगस्ट २०२६) रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारीका अनुसार बुधबार बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको थियो । बाढीका कारण टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेकोे छ । सरकारले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, नदी किनारबाट टाढा रहन र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेको छ ।
संयोग कि आस्था?
१९९० सालदेखि विभिन्न ठूला विपत्ति तथा राजनीतिक घटनासँग जोडिँदै आएको पलाञ्चोक भगवतीको ‘पसिना’को जनविश्वास र अहिले २०८३ भदौमा फेरि पसिना आएको केही दिनमै रसुवामा आएको भीषण बाढीले धेरैको ध्यान फेरि पलाञ्चोक भगवतीतर्फ तानेको छ । तर यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ—भगवतीको मूर्तिमा पसिना आउनु र त्यसपछि हुने प्राकृतिक वा राजनीतिक घटनाबीच वैज्ञानिक कारण–सम्बन्ध प्रमाणित भएको छैन । यी घटनाहरूबीचको सम्बन्ध मुख्यतः धार्मिक आस्था, स्थानीय विश्वास र पुस्तौँदेखि चलिआएको जनश्रुतिमा आधारित छ । तर आस्था आफ्नो ठाउँमा छ । पलाञ्चोक भगवती माता सम्पूर्ण नागरिकको रक्षा गर ।