साढेसाती अचम्मले नेपालमा बेसी किन ?
पल्किएको बिरालोझैँ तर चोर्न दिनदिन ।
धराकम्प कहिले त कहिले छ कोरोना पो
दश वर्ष चली द्वन्द्व सत्यानाश मानिस भो ।।१

सय जति मरे मान्छे जेन–जीको नाउँ गरी
बाले देश अनाहक बहादुर अघि सरी ।
बेलाबेला बिनाकाम नाकाबन्दी खेप्नै पर्ने
साढेसाती हरे सधैँ नेपालीले पर्ने ।।२

दो हजार तिरासीको भदौ दश बौलाउँदै
भोटेकोशी दशा बनी रौद्ररूप धर्यो कठै ।।
रसुवा त यसै पनि सखाप नै पार्यो अनि
चितवन,नुवाकोट,धादिङ र गोर्खा पनि ।।३

हिमताल फुटी पैह्रो हिउँको नै चलेर जो
धुवाँ छुटी नदी आयो मानौँ काल छलेर पो ।
बेला परी बिहानको भागी बाँचे कति जन
यति हुँदाहुँदै पनि स्वाहा भयो धनजन ।।४

वेत्रावती बजार त्यो मायाँप्रीति गाँस्दै थियो
स्याफ्रुबेँसी उसैगरी टिमुरे नि हाँस्दै थियो ।
विद्यालय अनेक ती कार्यालय खुल्दै थिए
पर्यटकहरू कति नयाँ ठाउँ डुल्दै थिए ।।५

हठात् उर्ली धुँवा छुटी वैरी आयो खानलाई
दायाँबायाँ किनारका गाउँबस्ती लानलाई ।
कोलाहल रुवाबासी भागाभाग गर्दा पनि
बाढीसँगै सती गए सयौँ मान्छे वस्तु अनि ।।६

लेखा छैन बगे कति घाइतेको लेखा छैन
ईश पनि कहाँ सक्छ ! बताउन देख्या छैन ।
राम ! राम !! हरे राम ! बुद्ध ! बुद्ध !! भन्दै कति
अस्ताए ती निमेषमै पापी काल नाचेपछि ।।७

बाटोघाटो कतै पुल विजुली र सञ्चार नि
बन्द भयो अनायासै उपाय नै छैन अनि ।
सुरक्षाका निकायले उद्धार जो गरे कतै
कस्तो दीन हरे दैव ! हाहाकार जताततै ।।८

चारदिन बिते तर कहाँ चुक्यौ सरकार !
उद्धारमा ढिलासुस्ती किन भयो प्रष्ट पार ।
जलविद्युत् टनेल र अन्त पनि फसेका जो
मानिसको बिचल्ली छ अझैसम्म के गरेको !।।९

मित्रराष्ट्रहरूले त सहयोग गर्छौँ भन्दा
अस्वीकार भयो किन साथ लिन के को धन्दा ?।
आफूले जो नसक्ने हो सक्नेलाई दिनुपर्छ
साइत नै जुराउँदा ठूलो क्षति खप्नुपर्छ ।।१०

परिवारहरूलाई सास कि त लास दिन
नसकेर अनाहक शवहरू पुर्छौ किन ।।
बाँचेकाको व्यवस्था होस् गाँसबास कपासको
सही ठाउँ प्रयोग होस् कोष जम्मा गरिएको ।।११

आमा बगे कसैको त बाबु बगे कतैतिर
पत्नी बगे कसैका त पति बगे पिरैपिर ।
छोराछोरी कसैका त ती बुहारी बगे कतै
परिवारै कसैको त हेरिसाध्य छैन उसै ।।१२

घाइतेको बिहाल छ बाँचेकाले के चैँ गर्नु ?
गाँसबास पत्ता छैन न त बाँच्नु न त मर्नु ।
रोई हुन्न कराए नि शोकलाई शक्तितिर
सबै मिली बदल्नै छ नहुनुथ्यो भो आखिर ।।१३
’इति’
रचनाकार – मुरहरि “रायमाझी ’हरि’
रोशी–१२ च्याँख्ले, हाल बनेपा – ९ काभ्रे ।