बनेपा, प्रगतिशील लेखक सङ्घ (प्रलेस), काभ्रेको आयोजनामा भएको बडादशैँको अवसरमा शुभकामना आदानप्रदान, नियमित कवि गोष्ठी तथा साहित्यिक विमर्श सहितको कार्यक्रममा युवा कवि रामेश्वर आचार्यद्वारा लिखित कविता सङ्ग्रह ‘विचारको ज्वालामुखी’ लोकार्पण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घ, बागमती प्रदेशका पूर्वअध्यक्ष प्रा. डा. हरि सिलवालले कविता सङ्ग्रहको लोकार्पण गर्दै कृतिमाथि विस्तृत विवेचनात्मक समालोचना प्रस्तुत गर्नुभयो । उहाँले सङ्ग्रहमा समेटिएका कविताको भाव, विचार, वैचारिक गहिराइ तथा साहित्यिक पक्षमाथि चर्चा गर्दै कृतिको सिर्जनात्मक विशेषताबारे प्रकाश पार्नुभयो । कार्यक्रममा स्रष्टा विशेषका रूपमा सम्मानित कवि रामेश्वर आचार्यले आफ्नो सिर्जनायात्रा र ‘विचारको ज्वालामुखी’ कविता सङ्ग्रहको पृष्ठभूमिबारे विचार व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा प्रगतिशील लेखक सङ्घ, काभ्रेका अध्यक्ष रक्तिम लामाले माक्र्सवादी–प्रगतिवादी साहित्यको वैचारिक आधार र सामाजिक रूपान्तरणमा यसको भूमिकाबारे धारणा राख्नुभयो ।
कवि गोष्ठीमा मुरहरी रायमाझी, शारदाप्रसाद शर्मा, उपेन्द्र दाहाल, नवराज रायमाझी, बलराम बिष्ट, श्रीकृष्ण पाण्डे, केशव घिमिरे, सरस्वती चिमोरिया, दिनेशराज खरेल, भवानी पाण्डे, सुभद्र अधिकारी, अल्फिफोहिन फाक्लुक्पा, केशव ज्ञवाली, विजया शर्मा, शिलाकुमारी खरेल र राधिका घिमिरेलगायतका कविहरूले आफ्ना कविता तथा साहित्यिक रचना वाचन गर्नुभयो ।
नवराज दाहाल ‘उत्साही’ले स्वागत मन्तव्य राख्नुभएको थियो भने श्रीकृष्ण पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रममा श्रस्टा बिशेषमा कवि रामेश्वर आचार्य र प्रमुख अतिथी प्रलेस बागमती पुर्व अध्यक्ष प्रा डा हरि सिलवाललाई सम्मान गरिएको थियो ।