
कवि हरिप्रसाद चौलागाईँको कवितासङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’को लोकार्पण सम्पन्न भएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, ठाकुर शर्मा भण्डारी, कवि चौलागाईँ, रामसुन्दर देउजा लगायतले ‘देश बाँचे म बाँच्दछु’को लोकार्पण गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा.ज्ञवालीले भने, ‘कविताको मूख्य कुरा भनेकै भावना हो । विचार,संकल्प र साधनाले यसमा महत्व राख्दछ । उनले अगाडि भने,कविताको पहिलो शर्त लयको माधूर्य,दोस्रो शब्दको सौन्दर्य,भाव सौन्दर्य संप्रेषणीयता हुनुपर्छ तब कविता सुन्दर हुन्छ ।’ प्रा.डा. ज्ञवालीले भने, ‘कविसँग तेस्रो आँखा हुन्छ । ‘ उनले चौलागाईँलाई निरन्तर साधनामा लाग्न शुभकामना दिए ।
प्रा.डा.गौतमले जस्तो व्यक्तित्व त्यस्तै सिर्जना भन्दै आफु कविताकर्ममाथि कर्म गर्ने मान्छे भएको बताए । ‘सर्सती कृति हेर्दा चौलागाईँका कवितामा नेपाली कविताक्षेत्रमा कम प्रचलित छन्दहरु पनि प्रयोग गरिएको पाएँ । उनले भने,कविताहरु सरलतामा पनि गहिरो भाव दिने रहेछन् ।’उनले भन े।
कृति चर्चा गर्दै समालोचक भण्डारीले भने, ‘कविता सिर्जना गर्दा सबै विषयहरुमा ध्यान गएको देखिन्छ । संवेदनशील भएर भावनालार्य ह्रदयस्पर्शी हुनेगरी कविताहरु लेखिएका छन् । उनले भने,समाजको संगत विसङ्गत कविताहरुले देखाएका छन् । सकारात्मक सोचले भरिएका छन् कविताहरु । पदयोग र वियोगमा केही ध्यान नपुगेको देखिएजस्तो लागेपनि छन्दमा भने दोष कम छ ।’
अर्का वक्ता रोदनले भने, ‘लेखनीलाई उमेरले छेक्दैन् भन्ने कुरा कविको कृति प्रकाशनले प्रष्ट पारेको छ । सरल,शालीन भावका कविका कविता उनीजस्तै छन् ।’
कवि चौलागाईँले सबैलाई धन्यवाद दिए । कार्यक्रममा डा.सिता सुवेदी,रुपा रिसाल र दीपक चौलागाईँले कृतिभित्रका कविताहरु बाचन गरे । गायक रामहरि न्यौपानेले गीत गाएको उक्त कार्यक्रम रामसुन्दर देउजाको अध्यक्षतामा सम्पन्न भएको थियो । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा प्रदीप सापकोटाको सञ्चालन र पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतको स्वागतमा उक्त कार्यक्रम भएको थियो ।








