हरेक वर्ष क्यालेन्डरमा एउटा निश्चित पाना पल्टिँदा यो बिचरा संसार हतार÷हतार आफैंलाई सम्झाउन आइपुग्छ बधाई छ । तिमी पृथ्वीमा बोझ बनेको अरू एक वर्ष पूरा भयो । अनि सुरु हुन्छ नाटक । मैनबत्ती बाल्ने, जसको एकमात्र उद्देश्य त्यसलाई फु गरेर निभाउनु हो । कस्तो गज्जबको दर्शन पहिले आफैं उज्यालो बाल, अनि आफैं त्यसलाई सखाप पार । त्यसपछि प्लास्टिकको कृत्रिम छुरीले केक काट्ने र फेसबुकमा ती मानिसहरूबाट ‘ह्याप्पी बर्थडे’ को फिका शब्दहरू गनेर बस्ने, जसले तिमीलाई बाटोमा भेट्दा चिन्न समेत गाह्रो मान्छन ।
हो, आज मेरो जन्मदिन हो । तर, भागदौड, कोलाहल र यो भिडभाडयुक्त संसारमा के हामीले कहिल्यै ऐनामा हेरेर सोचेका छौँ यो दिन वास्तवमा कसको हो ? मेरो लागि जन्मदिन अब उमेरको अङ्क थपेर चिहानको एक कदम नजिक पुगेको उत्सव मनाउने कुनै वार्षिक औपचारिकता मात्र रहेन । यो त आफ्नै आँखाहरूमा आँखा जुधाएर, आफैंभित्र यात्रा गर्ने र आफैंलाई व्यङ्ग्य गर्ने एउटा ऐना बनेको छ ।
सबैभन्दा हँसाउने र दयनीय कुरा त के छ भने, मानिसहरू सोच्छन् कि बजारबाट कुनै नयाँ सामान किन्नु, महँगो कपडाले यो हाडछालाको शरीरलाई ढाक्नु वा रेस्टुरेन्टमा गएर अरूलाई ख्वाउनु नै जन्मदिनको उपहार हो । तिमी अरू कसैले उपहार बाकसमा चमकधमकवाला फित्ता बाँधेर ल्याइदिने प्लास्टिकका खेलौनाहरूको पर्खाइमा बस्छौ । यो त नितान्त कङ्गाल मानसिकता हो ।
यदि तिमी आफ्नो खुसीका लागि पनि अरूको अनुहार वा उपहारको झोला चियाउँछौ भने, तिमीभित्र एउटा गहिरो दरिद्रता लुकेको छ । अहिले मेरो यो लेख पढिरहँदा तिमीलाई पनि लाग्दो हो, हो त नि, म पनि त हरेक जन्मदिनमा अरूकै म्यासेज र गिफ्टको आश गरेर बस्छु । आफ्नो अस्तित्वको उत्सव मनाउन तिमीलाई अरू कसैको स्वीकृति, ताली वा सामाजिक प्रमाणीकरणको बैशाखी किन चाहियो ? के तिमी आफैंमा पर्याप्त छैनौ ?
हाम्रो समाज र यो कथित पाखण्डी संस्कृतिले हामीलाई सधैं अरूकै परिधिभित्र खुम्चिन, अरूकै अपेक्षाहरूको रङमा सजिन र स्थापित परम्पराको साँघुरो घेरामा बन्दी बन्न सिकायो । सुरक्षा र मर्यादाका नाममा कोरिएका ती अदृश्य पर्खालहरूले कतिपय पलहरूमा हाम्रो भित्री आत्माको मौलिक स्वरलाई नै निसासिने गरी दबाउने प्रयास गरे । अतीतका कतिपय लामा, अँध्यारा छायाँहरू र सुरक्षा खोज्दाखोज्दै अल्झिएका चिसो पिँजडाहरूको अनुभव मेरो जीवनको कथामा पनि गहिरोसँग जोडिएको छ । तिनीहरूले मेरो वरिपरिको वातावरणलाई त केही समय धमिलो बनाए होलान्, तर यदि हामीभित्र एउटा प्रखर संकल्प छ भने, त्यसले भित्री चेतनाको दियोलाई कहिल्यै निभाउन सक्दैन ।
तिम्रो तथाकथित विवाह र सामाजिक परम्पराका पुराना, ओसिला पर्खालहरूले तिमीलाई सुरक्षा दिने बहानामा तिम्रो पखेटा नै काटिदिन्छन । अनि पखेटा काटिएको चरीलाई भनिन्छ—हेर, तिमी कति सुरक्षित छौ, पिँजडाभित्र तिमीलाई बिरालोले खान सक्दैन । कस्तो निकृष्ट र कुरुप मजाक । त्यो सुरक्षा होइन, त्यो त तिम्रो जीवन्त चेतनाको संस्थागत हत्या हो ।
विगतका ती असहज अध्यायहरू, ती चुनौतीहरू र घाउहरू अब मेरो कमजोरी होइनन् । ती त आजको मेरो यो प्रखर रूप र अदम्य साहस निर्माण गर्ने बलिया जग हुन । मैले बुझेकी छु—मेरो अस्तित्व कसैको करुणा वा सामाजिक स्वीकृतिको भिखारी होइन । कला, साहस र विचारको पखेटा फिजाएर आफ्नो नीलो आकाश आफैं निर्माण गर्नु नै जीवनको वास्तविक सार्थकता हो ।
त्यसैले, आजको यो मेरो विशेष दिनमा मैले आफैंलाई संसारकै सबैभन्दा बहुमूल्य उपहार दिने निर्णय गरेकी छु आत्म-अन्वेषण (Self-Exploration) र पूर्ण स्वतन्त्रताको उपहार ।
यो उपहार कुनै मल वा बजारमा किन्न पाइँदैन, न त यसलाई अनलाइन अर्डर नै गर्न सकिन्छ । यो त पराधीनता र समाजले थपिदिएका कृत्रिम साङ्लाहरूलाई तोडेर, आफैंले आफैंलाई एउटा पूर्ण, स्वतन्त्र र निडर अस्तित्वको रूपमा स्वीकार गर्नु हो । अब कसैको इसारामा होइन, आफ्नै धुन र आफ्नै निर्णयमा बाँच्नु नै मेरो जीवनको असली उत्सव हो ।
जब तिमी कसैको इसारामा होइन, आफ्नै धुनमा नाच्न थाल्छौ, जुन दिन तिम्रो आवाजमा समाजको डर होइन, आफ्नै आत्माको गर्जन सुनिन्छ, त्यही दिन तिम्रो वास्तविक जन्म हुनेछ । अरू बेला त तिमी केवल एउटा जीवित लास हौ, जसलाई समाजले आफ्नो इसारामा नचाइरहेको छ । यो यात्रा अब कसैको अधीनमा रोकिने छैनस यो त निरन्तर अगाडि बढ्ने, फैलिने र आफ्नै प्रकाशमा चम्किने एउटा अनन्त उडान हो ।
आफ्नो जन्मदिनमा अरूबाट उपहारको आशा राख्नु त परनिर्भरता र मानसिक दासता मात्र हो । यो लेख पढिरहेका तिमीलाई पनि मेरो चुनौती छ—यो जन्मदिनमा फेसबुकको म्यासेज बक्स हेर्न छोडिदेऊ । आउनुहोस्, यस पटक मेरो जन्मदिनको यो सन्दर्भमा आफैंलाई एउटा नयाँ आयाम दिऔँ–आफ्नो अस्तित्वको उत्सव आफैं मनाऔँ र आफैंलाई एउटा सिङ्गो, उन्मुक्त आकाश उपहार दिऔँ । अरू सबै त केवल बजारको नाटक मात्र हो ।