नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा गाँसिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ। कृषि प्रधान देश नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा धान खेतीको विशेष महत्व रहेको छ। कुल कृषियोग्य जमिनको ठूलो हिस्सा धान खेतीले ओगटेको छ भने लाखौँ किसान परिवारको जीविकोपार्जन धान उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
नेपाल सरकारद्वारा यस वर्षको राष्ट्रिय धान दिवसका लागि तय गरिएको “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराले कृषि क्षेत्रलाई आधुनिक, उत्पादनमुखी तथा वातावरणमैत्री बनाउनुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा उजागर गरेको छ। जलवायु परिवर्तनका कारण अनियमित वर्षा, खडेरी, बाढी तथा प्राकृतिक विपद्का चुनौती बढिरहेका बेला कृषि उत्पादनलाई सुरक्षित र दिगो बनाउन आधुनिक प्रविधि, उन्नत बीउ, सिँचाइ सुविधा तथा वैज्ञानिक खेती प्रणालीको विकास अपरिहार्य बनेको छ ।
नेपाल डेरी एसोसिएसनको आयोजनामा तथा सरकारी, सहकारी, निजी क्षेत्र, हाईलाइफ चिउरा र अन्य सरोकारवाला निकायहरूको सहकार्यमा “दही–चिउराको स्वाद, स्वदेशी उत्पादनको साथ; किसान र उद्योगीको सम्मान, समृद्ध नेपालको अभियान” भन्ने नाराका साथ आयोजित दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रमले कृषि र दुग्ध क्षेत्रबीचको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
नेपाल डेरी एसोसिएसनले स्थापना कालदेखि नै दुग्ध क्षेत्रको विकास, दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोग वृद्धि, किसानको हित संरक्षण, पोषण सुरक्षाको प्रवद्र्धन तथा स्वदेशी उत्पादनको प्रोत्साहनका लागि निरन्तर रूपमा काम गर्दै आएको छ। नेपालको दुग्ध क्षेत्र लाखौँ किसान परिवारको आयआर्जन, रोजगार, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसको दिगो विकास राष्ट्रिय समृद्धिको महत्वपूर्ण आधार हो ।
नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । दूध उत्पादनमा गाई र भैँसीपालन गर्ने किसानहरूको महत्वपूर्ण भूमिका रहेको छ। दुग्ध क्षेत्रले कृषि कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ भने हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन दुग्ध क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
असार १५ मा दही–चिउरा खाने परम्परा केवल एक सांस्कृतिक अभ्यास मात्र होइन, यो कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग, पोषण सुरक्षा र सामाजिक सद्भावको जीवन्त उदाहरण हो। खेतबारीमा दिनभरि कठिन श्रम गरेपछि दही–चिउरा सेवन गर्ने परम्पराले कृषकलाई आवश्यक ऊर्जा प्रदान गर्नुका साथै श्रमप्रतिको सम्मान, सामूहिकता र सहकार्यको भावनालाई मजबुत बनाउने काम गरेको छ ।
हाम्रो बाल्यकाल र गाउँघरको जीवन सम्झँदा असार १५ रोपाइँसँग जोडिएका अनेक रमाइला र भावनात्मक दृश्यहरू स्मरणमा आउँछन । बेठी लगाएर सामूहिक रूपमा रोपाइँ गर्ने, हिलोमा रमाउने, खेतको आलीमा बसेर दही–चिउरा, आलु तथा केराउको अचार खाने चलन नेपाली ग्रामीण जीवनको अनुपम सांस्कृतिक सम्पदा हो। त्यतिबेला दही–चिउरा केवल भोजन थिएन, त्यो किसानको श्रमको सम्मान, सामूहिक सहयोग, सामाजिक एकता र उत्सवको प्रतीक थियो। आधुनिक जीवनशैलीसँगै यस्ता मौलिक परम्पराहरू क्रमशः हराउँदै जान थालेका छन्। त्यसैले यस्ता कार्यक्रमहरूले हाम्रो सांस्कृतिक पहिचान, कृषि परम्परा र मौलिक जीवनशैलीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछन ।
दही नेपाली खानपान संस्कृतिको एक महत्वपूर्ण पोषक खाद्य पदार्थ हो। यसमा उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, फस्फोरस, भिटामिन बी–, रिबोफ्लाभिन लगायत शरीरलाई आवश्यक पोषक तत्वहरू पाइन्छन्। दहीमा रहेका लाभदायी सूक्ष्मजीवहरूले पाचन प्रणालीलाई सुदृढ बनाउन, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न, आन्द्राको स्वास्थ्य सुधार गर्न तथा समग्र स्वास्थ्य प्रवद्र्धन गर्न सहयोग पु¥याउँछन्। दही–चिउराको संयोजन कार्बोहाइड्रेट, प्रोटिन, खनिज पदार्थ तथा ऊर्जाको सन्तुलित स्रोत भएकाले यसलाई नेपाली समाजको परम्परागत पौष्टिक भोजनका रूपमा लिन सकिन्छ ।
विश्व स्वास्थ्य संगठन तथा विभिन्न पोषण अध्ययनहरूले पनि किण्वित दुग्धजन्य पदार्थको नियमित सेवनले पाचन स्वास्थ्य सुधार गर्न र शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउन सहयोग गर्ने देखाएका छन्। नेपाली सन्दर्भमा दही–चिउरा केवल परम्परा नभई पोषण सुरक्षाको एक महत्वपूर्ण माध्यम पनि हो ।
त्यसैगरी मोही नेपाली जीवनशैलीसँग जोडिएको एक अमूल्य र स्वास्थ्यवद्र्धक पेय पदार्थ हो। केही दशकअघि हरेक गाउँघरमा गाईभैँसी पाल्ने, ठेकीमा मथेर मोही बनाउने र छिमेकीसँग बाँडेर खाने संस्कृति व्यापक थियो। माटाको भाँडोमा राखिएको चिसो मोहीले गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने, पाचन सुधार गर्ने तथा शरीरलाई आवश्यक पोषण उपलब्ध गराउने काम गथ्र्यो । समयसँगै पशुपालन, ठेकी मथ्ने परम्परा तथा मोहीको प्रयोग घट्दै गयो र त्यसको स्थान विभिन्न आयातित तथा कृत्रिम पेय पदार्थहरूले लिन थाले ।
मोहीमा पाइने लाभदायी जीवाणु, प्रोटिन, क्याल्सियम तथा अन्य पोषक तत्वहरूले पाचन प्रणाली सुधार गर्न, शरीरलाई हाइड्रेट राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन, हड्डी तथा दाँतलाई बलियो बनाउन तथा गर्मी मौसममा शरीरलाई प्राकृतिक रूपमा शीतलता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछन्। पछिल्ला वर्षहरूमा केही दुग्ध उद्योगहरूले व्यावसायिक रूपमा मोही उत्पादन गरी बजारमा उपलब्ध गराउन थालेका छन्, जुन नेपाली परम्परागत खाद्य संस्कृतिको पुनर्जागरणका लागि सकारात्मक संकेत हो ।
मोही प्रवद्र्धन अभियानको सुरुआतसँगै नेपाली समाजमा परम्परागत पेय पदार्थप्रतिको आकर्षण पुनः बढ्दै गएको देखिन्छ। स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै प्राकृतिक, पोषणयुक्त र स्थानीय उत्पादनको महत्व बढिरहेका बेला मोहीलाई राष्ट्रिय पेय संस्कृतिको एक महत्वपूर्ण अंशका रूपमा स्थापित गर्न सकिने सम्भावना प्रशस्त छ ।
नेपालमा दुग्ध क्षेत्रले कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । ६ लाख किसान परिवार प्रत्यक्ष रूपमा दूध उत्पादनमा संलग्न छन्। तर पछिल्ला वर्षहरूमा उत्पादन लागत वृद्धि, पशु आहाराको महँगी, बजार व्यवस्थापन, दूध भुक्तानीमा हुने ढिलाइ, आयातित वस्तुसँगको प्रतिस्पर्धा तथा उपभोगमा आएको कमीका कारण किसान तथा दुग्ध उद्योग दुवै चुनौतीमा परेका छन्। यस्ता चुनौतीहरूको समाधानका लागि राज्य, निजी क्षेत्र, सहकारी तथा किसानबीच थप प्रभावकारी सहकार्य आवश्यक छ ।
असार १५ को अवसरमा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा वृद्धि हुने गर्दछ। नेपाल डेरी एसोसिएसनको अनुमान अनुसार यस वर्ष असार १५ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत भई करिब १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। यसले दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था, डेरी उद्योग तथा समग्र दुग्ध मूल्य श्रृंखलामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
स्वदेशी उत्पादनको प्रयोग बढ्दै जाँदा विदेशी वस्तुमा निर्भरता कम हुने, किसानको आय वृद्धि हुने, ग्रामीण अर्थतन्त्र चलायमान हुने तथा राष्ट्रिय अर्थतन्त्र थप सुदृढ बन्नेछ। आज नेपालले खाद्य तथा दुग्ध क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको अवस्थामा स्थानीय उत्पादनको उपभोग राष्ट्रिय दायित्वसमेत बनेको छ । जलवायु परिवर्तन आज विश्वव्यापी चुनौतीका रूपमा देखा परेको छ । अनियमित वर्षा, खडेरी, बाढी तथा तापक्रम वृद्धिले कृषि उत्पादन प्रणालीलाई प्रत्यक्ष असर गरिरहेको छ। यस्ता चुनौतीहरूबीच जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, उन्नत बीउबिजन, सिँचाइ व्यवस्थापन, आधुनिक पशुपालन तथा उत्पादनशीलता अभिवृद्धि आजको आवश्यकता बनेको छ। धान र दूध उत्पादनमा आत्मनिर्भरता हासिल नगरी समृद्ध नेपालको परिकल्पना पूर्ण हुन सक्दैन ।
नेपाल डेरी एसोसिएसनले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवद्र्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता निरन्तर उठाउँदै आएको छ। नेपाली किसानले उत्पादन गरेको दूधको उचित मूल्य, समयमै भुक्तानी, गुणस्तरीय उत्पादन, उपभोक्ताको विश्वास तथा दुग्ध उद्योगको दिगो विकास सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य अझ सुदृढ हुन आवश्यक छ ।
असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि, संस्कृति, पर्यटन, खाद्य परम्परा र स्वदेशी उत्पादनबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अवसर प्रदान गर्दछन्। कृषि पर्यटन, ग्रामीण पर्यटन तथा स्थानीय खाद्य संस्कृतिको प्रवद्र्धनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा मौलिक पहिचानसहित प्रस्तुत गर्न सकिन्छ । “मानो रोपेर मुरी फलाउने” हाम्रो उखानले समयमै गरिने कृषि कर्म, श्रमको सम्मान र समृद्धिको सन्देश दिन्छ ।
अन्त्यमा, हामी सबैले किसानको पसिना, श्रम र उत्पादनको सम्मान गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ। दही–चिउरा र मोही केवल परिकार वा पेय पदार्थ मात्र होइनन्, यी नेपाली सभ्यता, कृषि संस्कृति, पोषण सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पहिचानका प्रतीक हुन । कृषि र दुग्ध क्षेत्रको संरक्षण, प्रवद्र्धन र आधुनिकीकरणमार्फत मात्रै समृद्ध नेपालको सपना साकार हुन सक्छ ।
“दही–चिउराको स्वाद, स्वदेशी उत्पादनको साथ; किसान र उद्योगीको सम्मान, समृद्ध नेपालको अभियान।”असार १५, दही–चिउरा र मोही ः कृषि संस्कृति, पोषण सुरक्षा र स्वदेशी अर्थतन्त्रको आधार । लेखक ः प्रल्हाद दाहाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुन ।