नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालय मा नेपालकै पहिलो इजरायली ‘लगुना’ प्रविधिमा आधारित सौर्य ऊर्जाचालित अफ–ग्रिड पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली को उद्घाटन तथा हस्तान्तरण गरिएको छ। यस परियोजनाले विद्यालयलाई जलवायुमैत्री प्रविधि, दिगो पानी व्यवस्थापन तथा कृषि नवप्रवर्तनको जीवित प्रयोगशाला का रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
यो परियोजना संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टर तथा काठमाडौं विश्वविद्यालयअन्तर्गतको नेपाल प्रविधि नवप्रवर्तन केन्द्र ९एनटीआईसी० को नेतृत्वमा अमेरिकास्थित मेरिल्यान्ड विश्वविद्यालयअन्तर्गतको ग्लोबल फ्युचर एलायन्स तथा द अरावा इन्स्टिच्युट फर इन्भाइरोन्मेन्टल स्टडिज, इजरायल को सहकार्यमा कार्यान्वयन गरिएको हो।
उद्घाटन समारोहमा नेपालका लागि इजरायलका राजदूत महामहिम श्मुलिक एरी बास, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, ग्लोबल फ्युचर एलायन्सका निर्देशक तथा मेरिल्यान्ड विश्वविद्यालयको जनस्वास्थ्य विद्यालयका प्राध्यापक डा। एमी सापकोटा, नेपाल प्रविधि नवप्रवर्तन केन्द्रका निर्देशक प्रा। डा। विमप्रसाद श्रेष्ठ, तथा संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टरका निर्देशक इन्जिनियर श्रीकृष्ण धिताल लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा द अरावा इन्स्टिच्युटका नवप्रवर्तक तथा इन्जिनियर अमिर आसा र क्लाइभ लिप्चिन, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको समेत उपस्थिति थियो।
कार्यक्रममा बोल्दै इन्जिनियर श्रीकृष्ण धिताल ले नेपालमा प्रशस्त जलस्रोत भए पनि कृषि उत्पादनका लागि आवश्यक समयमा पानीको अभावका कारण कृषि क्षेत्र गम्भीर चुनौतीमा रहेको बताए। उनले नेपालका छरिएका बस्ती, साना कृषि क्षेत्र तथा भौगोलिक विकटतालाई मध्यनजर गर्दै इजरायलको लगुना इनोभेसन कम्पनीद्वारा विकसित अत्याधुनिक पानी प्रशोधन प्रविधिलाई जनक माध्यमिक विद्यालयमा नमुना परियोजनाका रूपमा स्थापना गरिएको जानकारी दिए।
उनका अनुसार शैवालमा आधारित जैविक प्रक्रिया तथा स्वचालित प्रणालीमार्फत विद्यालयबाट निस्कने प्रयोग भइसकेको पानी प्रशोधन गरी सुरक्षित रूपमा कृषि सिँचाइमा पुनःप्रयोग गरिनेछ। साथै प्रणाली सञ्चालनको पहिलो वर्ष नियमित रूपमा पानीका नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिनेछ। परीक्षणबाट अपेक्षित नतिजा प्राप्त भएपछि उक्त प्रविधि नेपालमै उत्पादन गरी देशभर विस्तार गर्ने लक्ष्य रहेको पनि उनले बताए।
यो प्रणालीले खाद्य–ऊर्जा–पानी अन्तरसम्बन्ध ९एफईडब्लु नेक्सस० को अवधारणालाई व्यवहारमा उतार्दै पानी, ऊर्जा र खाद्य उत्पादनलाई एकीकृत गर्नेछ। साथै दिगो पानी व्यवस्थापन, जल संरक्षण, नवीकरणीय ऊर्जाको उपयोग तथा जलवायुमैत्री कृषिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
नेपाल प्रविधि नवप्रवर्तन केन्द्रका निर्देशक प्रा। डा। विमप्रसाद श्रेष्ठ ले केन्द्रको भूमिका केवल अनुसन्धानमा सीमित नभई नवप्रवर्तन, सहकार्य र व्यवहारिक प्रभाव सिर्जनामा केन्द्रित रहेको बताए। ग्रामीण नेपालको आवश्यकता सम्बोधन गर्न कृषि, ऊर्जा र जनस्वास्थ्यलाई जोड्ने एकीकृत समाधान विकासमा केन्द्र निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।
ग्लोबल फ्युचर एलायन्सकी निर्देशक तथा मेरिल्यान्ड विश्वविद्यालयकी प्राध्यापक डा। एमी सापकोटा ले यो परियोजना तीन वर्षको निरन्तर अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र अथक प्रयासको परिणाम भएको बताइन्। उनका अनुसार नेपाल, इजरायल र संयुक्त राज्य अमेरिकाका साझेदार संस्थाहरूले सन् २०२३ मा मेरिल्यान्ड विश्वविद्यालयको ग्रान्ड च्यालेन्ज कार्यक्रम अन्तर्गत प्राप्त अनुदानबाट ग्लोबल फ्युचर एलायन्सको स्थापना गरेका थिए।
उनले गठबन्धनको उद्देश्य खाद्य, ऊर्जा र पानी सुरक्षालाई सुदृढ बनाउनु, वातावरणीय तथा मानव स्वास्थ्य संरक्षण गर्नु तथा विश्वभर जलवायु उत्थानशीलता अभिवृद्धि गर्नु रहेको बताइन्।
उनका अनुसार लगुना प्रणालीले प्रयोग भइसकेको पानीलाई वैज्ञानिक रूपमा प्रशोधन गरी पुनःप्रयोगयोग्य स्रोतमा रूपान्तरण गर्ने, त्यसै पानीलाई सुरक्षित रूपमा कृषि सिँचाइमा प्रयोग गरी खाद्य उत्पादन बढाउने तथा सम्पूर्ण प्रणाली सौर्य ऊर्जाबाट सञ्चालन हुने भएकाले यो खाद्य–ऊर्जा–पानी अन्तरसम्बन्धको उत्कृष्ट व्यवहारिक नमुना बनेको छ।
डा। सापकोटाले जनक माध्यमिक विद्यालयमा यो प्रणाली स्थापना हुनुको विशेष महत्व उल्लेख गर्दै अब विद्यार्थीहरूले आधुनिक पानी प्रशोधन प्रविधिलाई केवल पुस्तकमा पढ्ने मात्र नभई प्रत्यक्ष अवलोकन, सञ्चालन, अनुसन्धान तथा प्रयोगात्मक सिकाइ गर्ने अवसर प्राप्त गर्ने बताइन्। विद्यालयलाई भविष्यमा अनुसन्धान, नवप्रवर्तन तथा समुदायका लागि प्रविधि हस्तान्तरणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले स्पष्ट पारिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास ले नेपाल–इजरायल सम्बन्ध, इजरायली कृषि प्रविधि तथा ‘पढ्दै–कमाउँदै’ कार्यक्रमबारे जानकारी गराए। नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, वडा नं। ४ का अध्यक्ष अर्जुन कार्की तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत दाहाल ले संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टर, काठमाडौं विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूले समुदायमा ल्याएको नवप्रवर्तनकारी प्रविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिन आग्रह गरे।
आयोजकका अनुसार यो प्रणालीले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा स्थानीय समुदायका लागि पानी पुनःप्रयोग, वातावरण संरक्षण, नवीकरणीय ऊर्जा तथा जलवायुमैत्री कृषि सम्बन्धी अध्ययन, अनुसन्धान र व्यवहारिक सिकाइको जीवित प्रयोगशाला का रूपमा कार्य गर्नेछ।
कार्यक्रम औपचारिक उद्घाटन, प्रणाली हस्तान्तरण तथा जनक माध्यमिक विद्यालयका विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिसँगै सम्पन्न भएको थियो।
यस परियोजनाले नेपाल, इजरायल, संयुक्त राज्य अमेरिका र तान्जानियाबीचको वैज्ञानिक तथा प्राविधिक सहकार्यलाई थप सुदृढ बनाउँदै दिगो विकास, नवीकरणीय ऊर्जा, जल संरक्षण, अनुसन्धान तथा जलवायु उत्थानशीलता प्रवर्द्धनमा नयाँ अध्यायको सुरुआत गरेको आयोजकहरूले बताएका छन्।