मुलुकभर सक्रिय रहेको मनसुनका कारण २४ घण्टामा भएका विभिन्न विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यस अवधिमा देशभर कुल ४२ वटा विपद्जन्य घटनाहरू दर्ता भएका छन ।
बैशाखयताको अवस्थाःसर्पदंश र चट्याङबाट बढी मानवीय क्षति–चालु वर्षको बैशाख १ गतेदेखि हालसम्मको विवरण हेर्दा प्राकृतिक विपद्का कारण ठूलो मानवीय क्षति भएको देखिएको छ । प्राप्त तथ्यांकअनुसार यस अवधिमा सर्पदंशबाट मात्रै ३९ जनाको मृत्यु भएको छ । त्यस्तै, चट्याङबाट २५, लेक लागेर २१, आगलागी १७ र वन्यजन्तुको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ । हावाहुरीका कारण १३ र पहिरोका कारण १३ जनाले ज्यान गुमाएका छन । बाढीबाट १० र भारी वर्षाका कारण ४ जनाको मृत्यु भएको छ । त्यस्तै ढुंगा पल्टेर २ जना, वन डढेलोबाट १, हिउँ पहिरोबाट १ जनाको मृत्यु भएको छ ।
बैशाख १ देखि साउन २ गतेसम्म विपद्जन्य घटनाबाट कुल १ सय ६४ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ८९ विपद्का घटना भएका छन्। यस अवधिमा १ जना बेपत्ता भएका छन् भने ९ सय ८१ जना घाइते भएका छन । त्यस्तै ४ हजा ५ सय ५ परिवार प्रभावित भएका छन । सबैभन्दा बढी हावाहुरीबाट १ हजार ३ सय ५६, आगलागीबाट एक हजार परिवार प्रभावित छन । सर्पदंशबाट ५ सय ३३ परिवार, चट्याङबाट २७५ परिवार, लेक लाग्नेबाट ५४ परिवार, जनावर आक्रमणबाट २ सय ९६ परिवार प्रभावित छन ।
प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार साउन १ गते बिहान १० बजेदेखि २ गते बिहान १० बजेसम्म १४ जिल्लाका २२ स्थानमा पहिरो गएको छ । पहिरोमा परी एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्। अन्य दुई जनाको भने सकुशल उद्धार गरिएको छ । यसै अवधिमा पाँच जिल्लामा सर्पदंशका ६ वटा घटना भएका छन्, जसमा ६ जना घाइते भएका छन । त्यस्तै, आगलागीका ६ वटा घटनामा एक जना घाइते भएका छन । विपद्को जोखिम बढ्दै गएपछि प्राधिकरणले सर्वसाधारणका लागि विशेष सुरक्षा निर्देशिका जारी गरेको छ । यात्रामा निस्कनुअघि सडक विभाग वा स्थानीय प्रहरीसँग सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
तराई तथा भित्री मधेसमा सर्पदंशको जोखिम उच्च रहेकाले घर वरपरको सरसफाईमा ध्यान दिन, राति हिँड्दा टर्चलाइटको प्रयोग गर्न र सर्पले टोकेमा ढिलाइ नगरी तुरुन्त उपचार केन्द्र लैजान सूचित गरिएको छ । नदी र खोलामा जलस्तर बढ्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई मोबाइलमा आउने एसएमएस अलर्ट र बाढी पूर्वानुमान बुलेटिन नियमित रूपमा हेर्न अनुरोध गरिएको छ । नदीमा माछा मार्ने वा दाउरा संकलन गर्ने जस्ता जोखिमपूर्ण कार्य नगर्न समेत भनिएको छ ।








