दुमो बचत तथा ऋण सहकारी संस्था लि., बनेपा–४, नालाद्वारा आर्थिक वर्ष २०८३÷०८४ का लागि आयोजित वार्षिक रणनीतिक व्यावसायिक योजना तथा बजेट निर्माण कार्यक्रम आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जीवन मंग्रातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव कुमार रम्तेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रबन्धक दीपक रम्तेल ले संस्थाले तयार गरेको तीन वर्षे रणनीतिक योजना (२०८३÷०८४–२०८५÷०८६) तथा आगामी आर्थिक वर्षको वार्षिक बजेटका प्रमुख उद्देश्य, लक्ष्य, रणनीति र कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
त्यसैगरी, संस्थाका सदस्य विकास रम्तेलले तीन वर्षे रणनीतिक योजनाका प्राथमिकता, दीर्घकालीन लक्ष्य तथा संस्थागत विकासका रणनीतिबारे थप प्रष्ट पार्नुभएको थियो। संस्थाका कोषाध्यक्ष केशव बोगटीले आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेटका आय–व्यय, वित्तीय व्यवस्थापन तथा बजेटका प्राथमिकताबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार राजन परियारले रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा सदस्य–केन्द्रित सेवामार्फत संस्थालाई अझ सक्षम र दिगो बनाउने विषयमा महत्वपूर्ण धारणा राख्नुभएको थियो ।
अन्त्यमा अध्यक्ष जीवन मंग्रातीले कार्यक्रमका क्रममा उठेका सुझाव तथा धारणा समेट्दै तीन वर्षे रणनीतिक योजना र वार्षिक बजेट संस्थाको भविष्यको स्पष्ट मार्गचित्र भएको उल्लेख गर्नुभयो। उहाँले योजना र बजेटलाई सफलतापूर्वक कार्यान्वयन गर्न सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी तथा सम्पूर्ण सदस्यहरूको साझा प्रतिबद्धता, सहकार्य र सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरूले प्रस्तुत रणनीतिक योजना र वार्षिक बजेटमाथि रचनात्मक सुझाव राख्दै संस्थाको दिगो विकास, वित्तीय सुदृढीकरण, सुशासन, प्रविधिमैत्री सेवा विस्तार तथा सदस्य हितलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
दुमो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी तीन वर्षमा संस्थागत विकास, सदस्य सेवा विस्तार, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, डिजिटल सेवा प्रवद्र्धन तथा सदस्य सन्तुष्टि अभिवृद्धिलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।








