देशमा प्रजातन्त्र र गणतन्त्र ल्याउन लाखौं युबा आफ्नो ज्यान बाजी राखेर आन्दोलनमा उत्रिएका थिए । २०४६ र २०६२ सालको आन्दोलनमा धेरैले आफ्नो ज्यान गुमाए भने कति अंगभङ्ग भएर अपांग बनेका छन् । जसले देशमा परिवर्तनका लागि त्यत्रो त्याग गरे तिनको आज कसैले सम्झना समेत गर्दैनन् । यो जनताका लागि ठूलो विडम्बना हो । आज तिनैका कारण नेताले पद, प्रतिष्ठा, मान, सम्मान पाएका छन् । जेका लागि हिजो जनतालाई उक्साएका थिए त्यो आज आम जनताका लागि नभएर फगत नेताका लागि मात्र उपलब्धि भएको छ । यसले गर्दा आज आम जनता त्यो प्रजातन्त्र र गणतन्त्र ल्याउन किन लागिएछ भनेर पछुताएर बस्न बाध्य
छन् । आज नेताको चर्तीकला हेर्दा आम जनतालाई बरु देशमा राजतन्त्र नै ठिक रहेछ भन्ने भान भएको छ । जनतालाई यो सब कुरा सोच्न यि आम नेताको ब्यवहारले बाध्य बनाएको हो । तर विश्वमा सबैभन्दा उत्तम ब्यवस्था भनेकै प्रजातन्त्र हो । तर आज नेपालमा त्यसको सहि सदुपयोग नगरी दुरुपयोग गरेका कारण जनताले नकारात्मक सोच्न बाध्य भएका हुन् । हिजो सेनाले बन्दुक ताकेर आन्दोलनमा आएका युवालाई गिरप्तार गरेको थियो । कयौंले आफ्नो ज्यानको आहुती दिएका थिए । हजारौंले आफ्नो भविष्यको कुनै ख्यालै नगरि सबै कुरा छोडेर ब्यवस्था परिवर्तनमा लागेका थिए। देशमा आम जनताको चाहाना अनुसार ब्यवस्था परिवर्तन भई गणतन्त्र पनि आयो । तर आज गणतन्त्र आएको पनि २ दशक हुन लागिसक्दा पनि जनताले त्यो जनताको लागि भएको परिवर्तन भनेर अलिकति पनि महसुस गर्न पाएका छैनन् । यो सबैभन्दा दुख लाग्दो विषय हो ।

देशमा राजतन्त्र सकाएर गणतन्त्र आएको यत्रो वर्ष हुँदा पनि कहिल्यै जनताले परिवर्तनको महसुस गर्नै पाएनन् । त्यति बेला जन्मिएको बच्चा आज युवा भएर देशमा हुने निर्बाचनमा समेत मतदान गर्ने भइसक्यो तर देशको अवस्था भने झन् झन् बिग्रदो अवस्थामा छ । जनताको इच्छा जहाँको त्यही छ । केहि नेताको वरिपरी सत्ताको खेल खेल्ने र जनता दर्शक भएर हेर्ने सिवाय केहि उप्लब्धी हुन सकेको छैन । नेपालका हरेक विकास हे¥यो भने अत्यन्तै दयनीय छ । देशको मुख्य राजमार्गको अवस्था हेर्दा देशमा सरकार नै छैन जस्तो महसुस हुन्छ । मुख्य राजमार्ग हुँदै पूर्वदेखि पश्चिम नेपालसम्म एक पटक सबै नेतालाई यात्रा गराउँदा बल्ल जनताको पिडा अनुभुति हुन्छ । तर हवाइ यात्रा गर्ने नेताहरुलाई वास्तविक सडक यात्राको मर्म थाहा हुने कुरै भएन । पछिल्लो समय लगभग देशमा भएका कलकारखाना सबै बन्द भइसकेका छन्। नयाँ स्थापना हुने वातावरण नै छैन । अहिले दिनदिनै बेरोजगारको संख्या बड्दै गएको छ। आज दैनिक दशौं हजार युबा बिदेशिनु परेको छ । घरमा बुढीआमा र बुवालाई छाडेर जानु युवाहरुको रहर हैन बाध्यता हो । देशमा साना र मध्यम ब्यब्सायीको पिढा भयावह भएको छ । बहिरबाट नेता र सरकारले सुने पनि अन्तर मनबाट महसुस भने हुन सकेको छैन। आम जनता सामान्य सिटामोल नपाएर मर्नु परेको अवस्थामा एउटा सानो रोग लागेमा उपचारका लागी देशको ढुकुटी सक्काउने नेताबाट अब जनताले कुनै पनि कुराको आशा नगरे हुने भएको छ । आज आम जनताले एउटा सानो रोग लाग्दा आफ्नो भए भरको धन सम्पत्ति सक्नु पर्ने अवस्था भएको छ । यो विषयमा बाध्य भएर अब आम जनताले बोल्न सक्नुपर्छ ।