
भकुण्डे,नमोवुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रमा चलाइएका ईट्टा उद्योगहरुमा डोजर चलाएर भत्काउन शुरु गरेको छ । नगरपालिकाले सम्झौता विपरित सञ्चालन भएका इटा भट्टा डोजर लगाएर भत्काएको छ । नगरपालिकाले क्रेन र डोजर लगाएर इटा भट्टाका चिम्नी भत्काएको हो । उद्योगीहरूले नगरपालिकासँग आफैंले उद्योग हटाउनेगरी गरेको करार सम्झौता उलंघन गरी अटेर गरेपछि हिजो नगरले उद्योगमा डोजर लगाएर भत्काइदिएको हो ।
नगरले उद्योगहरु हटाउने भएपछि उद्योगीहरुले उद्योगमा जाने बाटोमा अवरोध पुर्याएका थिए । जेसिभीहरु बाटोमा तेस्र्याएर अवरोध गरिए पनि नगरपालिकाले बैकल्पिक बाटो निर्माण गरी अहिले शिवशक्ति ईट्टा भट्टा, भैरबकुण्ड ईट्टाभट्टा भत्काएको थियो । नमोवुद्ध नगरपालिकाको वडा नं. २ र ३ मा गरी जम्मा ८ वटा ईट्टा उद्योगहरुले ईट्टा उत्पादन गर्दै आएका थिए । नगरको कार्यापालिकाको बैठकले यी सबै उद्योग हटाउने निर्णय गरेको थियो ।
यसअघि नगरपालिका र उद्योगीहरुबीच २०७५ पुष २८ गते २०७६ असार मसान्तसम्ममा भट्टा बन्द गर्ने करार संझौता भएको थियो । ‘सम्झौताअनुसार ०७६ असार मसान्तपछि हामीले उद्योगीहरुलाई उद्योग बन्द गर्न ताकेता गर्यौं । सम्झौतालाई कार्यान्वयन गर्न अनुरोध गरियो । तर उद्योगीहरुले दतारुकता देखाएनन् । त्यसपछि सम्झौताको बुँदा नम्बर ६ मा टेकेर हामीले भट्टा भत्काएको नगरपालिकाले बताएको छ ।







