बनेपा, काभ्रे सेवा समाज काभ्रेले गत शनिवार काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकूलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा “काभ्रेपलाञ्चोक जिल्लामा प्राविधिक शिक्षालयको आवश्यकता, चुनौती र समाधान उपाय” विषयक एक दिवसीय कार्यशाला गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले नेपालको अहिलेको पहिलो आवश्यकता भनेकै सीपयुक्त मध्यम तथा उच्चस्तरको जनशक्ति भएको बताए । कुनै पनि कार्य अघि बढाउन अभियन्ताले सबैभन्दा बढी आफू र आफ्ना सहकर्मीहरुलाई पत्याउनुपर्छ । देशभक्तिको भावनालाई हृदयमा राखी इमान्दारीपूर्वक काममा खट्दा राखेको लक्ष्य प्राप्त हुनेछ उनको भनाई थियो ।
कार्यक्रममा समाजका कार्य समितिका पदाधिकारी, स्थानीय प्रबुध्द शिक्षासेवी, सामाजिक अभियन्ता, साहित्यकार एवं पत्रकारहरुको उल्लेख्य समुपस्थिति थियो । कार्यशालामा काठमाण्डौं विश्वविद्यालयका सहायक प्राध्यापक डा.रेश्मा श्रेष्ठ र डा.कृष्णप्रसाद श्रेष्ठले विश्वबजार, नेपाली बजार तथा स्थानीय काभ्रेली बजारको विस्तृत तवरले समीक्षा सहितको समसामयिक, रचनात्मक र स्तरीय कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तोताले विश्वका विभिन्न मुलुकमा प्रचलित सफल प्राविधिक शिक्षा प्रणालीका साथ नेपालको सन्दर्भमा मध्यमस्तरका अतिरिक्त इच्छुकलाई उच्चस्तरको शिक्षासमेत संभव हुने विषयमा जोड दिनुपर्छ भनी बताएका थिए । कार्यपत्र प्रस्तोताद्वयले काभ्रेको सन्दर्भमा छाता संगठनकोरुपमा काभ्रे टेक्निकल ट्रेनिङ्ग सेन्टर (केटीटीसी) को परिकल्ना अघि सर्दै सोको सबलता, निर्बलता, चुनौती र अवसर (स्वोट) विश्लेषणका साथ काभ्रेमा कृषि, अटोमोबाइल, भूमि–व्यवस्थापन, वागवानी, पशुपालन, मेशिनरी इलेक्ट्रोनिक, लगायतका दैनन्दिन व्यवहारसँग संबन्धित अत्यावश्यक विषयहरुमा आधारभूत, माध्यमिक तथा डिप्लोमा तहको शिक्षा प्रदान गर्ने प्राविधिक शिक्षालयको स्थापनाको संभावना र खाँचो औंल्याएका थिए ।
वरिष्ठ साहित्यकार मोहन दुवाल एवं काठमाण्डौ विश्वविद्यालयका विज्ञान सङ्कायका प्रमुख प्रो.डा.कन्हैया झा, काठमाण्डौ विश्वविद्यालयकै व्यवस्थापकीय निर्देशक मुकुन्द शर्मा उपाध्याय विशेष अतिथिको रुपमा रहेको कार्यक्रममा सभापतिको हैसियतले समापन मन्तव्य राख्दै काभ्रे सेवा समाजका अध्यक्ष केशव थापाले समाज काभ्रेको समृद्धि र विकासको अभियन्ता नभएर यस काममा सघाउने एक सामान्य सहजकर्ता मात्र भएको र काभ्रेको सकारात्मक उन्नयनको लागि जुनसुकै निकायसँग पनि सदा सहकार्य गर्न तयार रहेको बताउदै विशेष गरेर स्थानीय जनप्रतिनिधि, शिक्षासेवी तथा राजनीतिक दलका प्रतिनिधिहरुको समुपस्थितिमा यस कार्यशालाको सञ्चालन गरी यसको स्वामित्व ग्रहण र एकल वा सामूहिक पहलमा प्राविधिक शिक्षालय स्थापनाको लागि उहाँहरुलाई अनुरोध गर्ने अभिप्रायले काभ्रेका स्थानीय सरकार प्रमुखज्यूहरुलाई लिखितरुपमा नै यस संबन्धमा अनुरोध गरिएको भएता पनि सायद योभन्दा महत्वपूर्ण कार्य अरु भएकोले होला आज उहाँहरुको उपस्थिति नभएता पनि प्रस्तुत कार्यपत्र र कार्यपत्रउपरको सुझावसहित यस विषयमा विशेष ध्यान दिन समाजको तर्फबाट स्थानीय तहसमक्ष पुनः अनुरोध गरिने बताएका थिए । थापाले स्थानीय सरकार ऐन, २०७४ को दफा २६ ले लागत न्यूनीकरण, स्रोतसाधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको लागि कुनै एक स्थानीय तहले अन्य स्थानीय तहसँग साझेदारी, संझौता वा संयुक्त व्यवस्थापनमा आधारभूत र माध्यमिक तहको प्राविधिक शिक्षालयको सञ्चालन, प्रबद्र्धन र विकास गर्न सक्ने कानुन व्यवस्था गरेको, आगामी आ.व. २०७६÷७७ को बजेट वक्तव्यले शैक्षिक प्रणालीलाई रोजागारीसँग आवद्ध गर्न सीपमूलक, आयमूलक र प्राविधिक शिक्षालाई अभियानको रुपमा सञ्चालन गर्दै सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक धारको विद्यालय स्थापना गर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् र व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धिमार्फत ८३००० युवालाई विभिन्न सीपमूलक तालिम प्रदान गर्ने, प्रत्येक प्रदेशमा प्राविधिक सीप परीक्षण केन्द्र र वहुप्राविधिक शिक्षलय स्थापना गर्ने, चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश अभियान सञ्चालन गर्ने उद्घघोष गरेको सन्र्दभमा यस अवसरलाई काभ्रेले अधिकाधिक आफ्नो पक्षमा पार्न अधिकतर प्रयास गर्नुपर्छ भन्दै सदा काभ्रेको समृद्धि र सम्पन्नताको प्रार्थना र यसका पक्षमा खट्ने काभ्रेली धर्तिपुत्रहरुको सम्मानमा गीत गाउने काभ्रे सेवा समाज काभ्रेको राम्रो हुने जुनसुकै अभियानमा सघाउन हरहमेसा तयार रहेको बताए ।
समाजका संस्थापक अध्यक्ष प्रल्हाद के.सी.ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव निभराज जोशीले र कार्यशालाको व्यवस्थापकीय कार्यको संयोजन तथा व्यवस्थापन समाजका कार्य समिति सदस्य शिवप्रताप कार्कीले गरेका थिए ।