बनेपा,कक्षा १२ सम्मका लागि आफुले अभिभावकत्व ग्रहण गरेका सिमान्तकृत दनुवार समुदायका सुजन दनुवारको गृहकार्य सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हेरेका छन ।
शनिवार सुजनकोमा पुगेका मन्त्री बाँस्कोटाले उनलार्ई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब मागेपछि सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिएका थिए । मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न गरे । ‘सेकेण्ड भएँ’ छ वर्षका सुजनले उत्तर फर्काइहाले । सुजनलाई बधाई भन्दै ‘स्कूलले के–के दियो त बाबु तिमीलाई ?” मन्त्री बाँस्कोटाको थप प्रश्नलगत्तै सुजनले भने, “किताब, कापी, पेन्सिल, मोजा, के–के हो, के–के ।” मन्त्री बाँस्कोटाले करीब २० मिनेटको समय कुराकानी गर्दै सुजनको तीन कापी तथा गणित र अङ्ग्रेजी विषयका दुई प्रयोगात्मक किताब हेरेपछि अझ प्रयास गर्नु, अब कक्षामा पहिलो हुनुपर्छ, म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु नि !”, मन्त्री बाँस्कोटाको कुरा सुनेर सुजन उत्साहित देखिए । सुजनलाई मन्त्री बाँस्कोटाले आउँदो असारताका स्कूलको ‘वर्षे बिदा’ मा काठमाडौँ आउन समेत बोलाएका छन ।