
बनेपा,मौलिक लोक एवं सांस्कृति नृत्य संरक्षण तथा संबद्र्धन गर्ने उद्धेश्यले नृत्य निर्देशक संघ नेपाल काभ्रेपलाञ्चोक शाखाले ४२ जनालाई नृत्य प्रशिक्षण दिएको छ ।
बनेपा नगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा भएको सो प्रशिक्षणमा बनेपा नगरपालिका भित्रका ४२ जनाले सहभागिता जनाएका थिए । गत चैत २७ गतेदेखि शुरु गरिएको प्रशिक्षण शनिवार समापन भएको हो । प्रशिक्षण समापन कार्यक्रममा बोल्नुहुँदै बनेपा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष वर्ण शाक्यले थोरै सहयोगमा पनि धेरै जनाले मौलिक लोक एवं सांस्कृति नृत्य प्रशिक्षणमा सहभागिता जनाएकोमा खुशि ब्यक्त गरे ।
कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले अधिकांश युवा युवतीहरु आधुनिक नृत्यमा झुकाव राखेर अगाडी बढिरहेको वेला काभ्रेपलाञ्चोकका युवा युवतीहरु मौलिक लोक एवं सांस्कृतिक नृत्यप्रति देखाएको लगाव र आकर्षणले सांस्कृतिक र लोक नृत्यलाई संरक्षण तथा संबद्र्धन गर्नमा टेवा पुग्ने बताए ।
नृत्य निर्देशक संघ काभ्रेपलाञ्चोकका अध्यक्ष मोहन तौजलेले मौलिक लोक एवं सांस्कृतिक नृत्य संरक्षण तथा संबद्र्धन गर्नका लागि वडा कार्यालयसंगको सहकार्यमा आयोजना गरेको नृत्य प्रशिक्षणलाई संघकोतर्फबाट निरन्तरता दिने बताए । सञ्चारकर्मी नवराज बजगाई,ब्यवसायी नवराज मानन्धर लगाएतले शुभकामना दिएको कार्यक्रम नृत्य निर्देशक संघका सचिव एवं नृत्य प्रशिक्षण संयोजक अमरकृष्ण चन्दको सञ्चालनमा भएको थियो ।
संघको सोहि दिन भएको अधिवेशनले मोहन तौजलेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । तौजलेको अध्यक्षतामा नव गठित जिल्ला कार्यसमितिमा उपाध्यक्षमा नारायण हेंगजु, सचिवमा अमरकृष्ण चन्द, कोषाध्यक्षमा सोनिया शाक्य, सह सचिवमा रविनसन श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा धनराज थापा मगर, मनिषा भुजेल, जानु शाही र सिसम श्रेष्ठ चुनिएका छन् ।







