(गाईजात्राको अवसरमा)
प्रिय साना तथा ठूला दलका नेताहरु क्रान्तिकारी अभिवादन,
त्यहाँ तपाईंहरुलाई के कस्तो छ भन्ने कुराको केही दृष्य त यहींबाटै देखिरहेका छौं । तपाईंहरुको जस्तो मोजको जिन्दगी त त्यहि ब्रम्हाण्डको युरोपका नेताहरुको भन्दा कम छैन, र पनि तपाईंहरुको सुस्वास्थ्य एवं आनान्ददायी र दिर्घायुको कामना गर्दछौं । यतातिरको खबर त के बताई रहनु र ? त्यहाँ हँुदाको सास्ती भन्दा अली सन्चो संग सास फेर्न सम्म पाएका छौं । हाम्रो भन्दा पनि आफ्नो ख्याल गर्नु ।
खासै र महत्वपूर्ण कुरा त केही पनि छैन । तै पनि तपाईंहरुको दैनिकी र राजनीतिमा भएको मोलमोलाईले देश दुर्घटनातिर जान लागेको हो की भन्ने चिन्ताले यो पत्र नकोरी बस्न सकिएन । देशमा ठूला ठूला ठूला आन्दोलन भए, हामी जस्ता निहत्था नागरिक अग्र मोर्चामा लामबद्व भयौं । पटक पटकको आन्दोलनले हामी जस्ता सर्वहारा नागरिकको मूक्तिको नाराले हाम्रो रगत उम्लिएर आउँथ्यो । गरिबी, भोकमरी र बेरोजगारीको अन्त्य हुन्छ, सबै जनता देशका मालिक हुन्छन भन्ने नाराले हामीलाई उद्वेलित बनायो । हामी हाम्रो निजी जीवन फेर्न भनेर मात्र होमीएका थिएनौं । संसारका मान्छेको मूक्ति नै क्रान्तिबाट संभव छ भन्ने बुझेर जीवन समर्पण गरेर लाग्यौं र देशका लागि ज्यान अर्पण ग¥यौ ।
त्यस बेलामा तपाईंहरुले दिनु भएको पार्टिको प्रशिक्षण संझदा अहिले पनि मन झसंग हुन्छ । तपाईंहरुले हाम्रो क्रान्ति सफल भएपछि त भोकले कोही मर्नु पर्दैन, शिक्षा र स्वास्थ्य निशुल्क पाईन्छ, रोजगारीको ज्ञारेण्टी हुन्छ, भ्रष्टाचारीलाई पाता फर्काईन्छ, राज्यले दिने सेवा सुविधामा ढिला सुस्ती हुदैन, घुस र कमिसनखोरको अन्त्य हुन्छ, खेत जोत्नेको हुन्छ, श्रमिक उद्योगको मालिक बन्छ, सहरका ठुला ठुला भवनको मालिक आफैं बन्न पाईन्छ लगाएत सयौं नारा बताउँदा हामीले मुक दर्शक भएर शिरोपर ग¥यौं । त्यती मात्र होईन यी सबै कुरा अन्त्य हुन्छ भन्ठानेर मुठ्ठी कसेर क्रान्ति र जीवनलाई कहिल्यै धोखा नदिने कसम पनि खायौं ।
तपाईंहरुले ‘हुदैन विहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन देश दुई चार सपुत मरेर नगए’ भनेर हामीलाई बली चढाउँन उचालेको पनि झलझली याद आईरहेको छ । हामी पनि नेता त यसरी जीवन बलीदान गर्न हिंडेका छन भने बरु हामी मरेर नेतालाई बचाउँनु पर्छ भन्ने लागेर जीवन आहुती दियौं । हामीले क्रान्तिको मोर्चामा सामेल हुँदाका बखत आफ्नो बालबच्चा, घर परिवार, ईष्टमित्र, नातागोता सबै त्यागेर देश र जनतालाई सामन्तवादी दासताको जन्जीरबाट मूक्ति दिन र सुनौलो बिहानी ल्याउँन ढिला गर्नु हुन्न भन्ने पनि सोच्यौं । जनताको सरकार बनाउँन जनतालाई संगठित गर्नुपर्छ भनेर कयौं दिन भोक, प्यास, झरी, बादल र निन्द्रा केही पनि भनिएन । त्यसो त राज्य सत्ताको बन्दुक खोसेर उनिहरुलाई प्रहार नगरे जनताको सत्ता प्राप्त हुदैंन भनेर शहिद हुनेहरु पनि आज तपाईहरुको गतिविधि हेरीरहेका छौं ।
तपाईंहरुले हिजो क्रान्तिकारी कुरासंगै वर्गसंघर्षको कुरा गर्दा हामी जस्ता निमुखाको उद्वारको लागि भगवाननै बनेर आउनु भएको आभाष दिलाउनु हुन्थ्यो । मुक्तिदाता भगवाननै शोषित पिडित जनताको उद्वार गर्न आए झै गरेपछि हामी जस्ता निमुखा पछि लाग्नुको विकल्प छ जस्तो पनि लागेन । तपाईंहरुलाई मुक्तिदाता सम्झेर प्राणको आहुती दिन पाउँदा खुशीले गदगद भएका पनि थियौं । हामीले प्राण उत्सर्ग गरेर सबै प्रकारको बन्धनबाट मुक्त गरेर राजनीतिक क्रान्ति सफल पनि पा¥यौं ।
तर आज देशले गतिलो भरपर्दाे र विश्वास लाग्दो नेता पाउन सकेन । जसले देशका लागि कहीे गर्छु भनेर कम्मर कसेर लागेको थियो उसैलाई आफ्नै पार्टिबाट हटाउँन खाजीदै छ । त्यसकारण देशले जुन गति लिनु पर्ने हो त्यो पनि लिन सकेन । हाम्रो वलिदानीबाट जोजो चुनाव जितेर सत्तामा पुगे तिनिहरुले राजनैतिक मूल्य, मान्यता र सिद्वान्तलाई जितको उन्मादसंगै विर्सिदै गए । सबै दल ठेकेदारहरुले चलाउँन थाले । पार्टिहरु सिद्वान्तबाट बिचलित हुदै गए । जसले गर्दा आफ्नो भूगोलमा स्थापित हुन नसकेकाहरु ठूला भनिएका नेताहरुको गुलामी गर्र्दै वरिपरि घुम्नेहरु लाई तथास्तु गरेर नेता बनाउँदा निष्ठावान कार्यकर्ताहरु राजनीतिबाट पलाएन मात्र भएनन् अरबको खाडीतर्फ पलाएन हुनुपरेको तितो अवस्था विद्यमान छ । जसले गर्दा पार्टिमा संगठन प्रतिको उर्जा मर्दै गएको छ भने पार्टिलाई वैज्ञानिक र वैधानिक ठंगले गतिशिल बनाउने ईच्छा शक्ति अहिलेको कुनै पनि दल र तिनिहरुको कमिटिमा छैन । गतिशिल संगठनले नियमित गतिशिल हुदै अग्रगमनतफृ जान खोज्छ । जो भनेको अधिवेशन वा महाधिवेशनको माग गर्दछ । जो टिका लगाएर वा काकतालीमा परेर नेता बनेको हुन्छ उ अधिवेशन वा महाधिवेशनबाट भाग्न खोज्नु स्वभाविकै हुन्छ । किनकी उसलाई राम्रो संग थाहा छ की खास नेतालाई प्रतिनिधि वा कार्यकर्ताले छान्नेछन् र त्यो छनौटमा आफु नपर्न पनि सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दलहरुको अवस्था भने टिका लगाएर वा आशिर्वाद थापेर नेता बन्ने संस्कार बढ्दै गएको छ ।
प्रिय नेतागण, तपाईहरु जसरी नयाँ नेपालको सग्लो नक्शा निकाल्ने बेलामा एकै ठाँउमा उभिनु भएको थियो, त्यसैगरी फेरी एकपटक ‘सम्बृद्व नेपाल र सुखी नेपाली’ को नारालाई पूर्णता दिन एकै ठाँउमा उभिदिनुहोस । विगतको आन्दोलनले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै अब आर्थिक क्रान्ति गर्ने बेला हो । तपाईंहरुले राजनीतिमा अलिकति मात्रै भए पनि राजनैतिक ईमान्दारीता देखाउनु भयो भने अस्थिर राजनितीको अन्त्य हुन्छ । दिगो र प्रतिवद्व दलहरुको सरकार बन्छ र टिक्छ पनि । त्यसपछिमात्र हामी सहिदका परिवारले ढुक्कसंग श्रम गरेर खान पाउँछन् । श्रम गरेर खाने वातावरण बन्छ । हाम्रा बालबच्चा भोकभोकै मर्नु पर्ने छैन । देशको दुरदराजमा रहेका नाङ्गा र भोका जनताले पनि देशमा सरकार भएको अनुभूति गर्न पाउँने छन् । हाम्रो भ¥याङ्ग चढेर सत्तामा गए पछि जे मन लाग्यो त्यही गर्न तपाईंहरुलाई छुट छैन । तपाईंहरुलाई जनताले जुन स्थानमा पु¥याएका छन् त्यही परिणामलाई स्वीकार गर्दै सत्ता चलाउने र सघाउने गर्नुहोस । सानो दलले चित्त नखुम्च्याउनु र ठूलो दलले पनि अहंकार नगरीकन सबैलाई समेट्दै सत्ता चलाउनु । राष्ट्रियताको सवालमा कसैसंग कुनै पनि प्रकारको संझौता नगर्नु । देशको आकार वा भूगोल सानो हुन सक्छ तर देशप्रतिको स्वाभिमान अमेरीका, बेलायत, चिन, भारत, जापानको जत्रो र जस्तो छ नेपालकोसंगै विश्वकै सबै देशहरुको पनि स्वाभिमान उत्रै र उस्तै हुन्छ । देश सानो हुदैमा स्वाभिमान कम्जोर वा सानो हुदैन । यो कुरालाई कहिल्यै पनि नबिर्सिनु ।
प्रिय नेताहरु, तपाईंहरु यतिखेर पार्टि चलाउन भन्दा पनि गुट चलाउनमा सिमित हुनु राम्रो होईन । काँग्रसभित्र शेर बहादुरले देउवाले पार्टि सभापति भएको यति धेरै वर्ष पछि पनि पार्टिलाई पूर्णता दिन नसक्दा धेरै वटा गुट र उपगुटको सामना गर्नु परिरहेको छ । गुटकै कारणले गर्दा उसका भातृ संस्थाहरु अधिवेशन गर्न नसकेर लथालिङ्ग भएको छ । तोकिसकेको पार्टिको महाधिवेशन पनि हुने हो वा होईन टुंगो नलागे पनि रामचन्द्र, शेखर, कृष्ण, गगन लगाएत झण्डै एक दर्जन नेताले पार्टि सभापतिमा लड्ने घोषणा गरिसकेका छन् । यिनीहरुले आ आफ्नो प्यानल बनाउँदा कतिवटा गुट र उपगुट बन्ने हो ठेगान छैन । तैपनि भोली सम्हाल्न नसक्ने गरी विभाजित हुनु भन्दा पहिलेनै महाधिवेशनमा प्रतिनिधि बनेर जाने युवा एवं दोश्रो पुस्ताले पार्टि जोगाउन सफल बनुन शुभकामना ।
तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकाएक नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को नाम दिएर एकिकरण गर्ने प्रयास गरे पनि झण्डै तीन वर्ष हुन लाग्यो विवाद कायम रहंदारहंदै अहिले सम्म जिल्ला कमिटि भन्दा तलका कमिटिहरु बन्न सकेका छैनन् । त्यसो त एकिकरण अगावै दुवै पार्टिमा गुट र त्यसको पनि उपगुट कायमै थिए । दूई दल मिलेपछि गएको चुनावमा टिकट बाँडफाड र केन्द्रीय कमिटि निर्माण गर्न सक्नु चानचुने कुरो पक्कै थिएन । तर रात रहे अग्राख पलाउँछ भने झैं सबै संगठनको काम बेलैमा नटुग्यांउदा अहिले आएर पार्टि नै फुट्छ की जसरी विवाद देखिएको छ । दुई पार्टि एक भएको कार्यकर्ताको पंक्तिले महसुस गर्न सकेका छैनन् । केन्द्रमा नेताहरुलाई बोकी नसक्नुको पदको भारी हुदाहुदै पनि अरु पनि पद हात लाग्छ की भन्ने आशले झुण्ड झुण्डमा विभक्त भएको अबस्था छ तर तलका कार्यकर्ता पद र भूमिका विहिन भएर सडकमा उठेको सवालको जवाफ दिन नसक्ने अवस्थामा छन् । कुनै पनि कमिटिले निर्णायक बैठक त परै जाओस आन्तरिक बैठक समेत बस्न सकेका छैनन् । अब नेकपाले कमिटिहरु चलायमान बनाउँन सक्दैन भने लाखौं कार्यकर्ता र मतदाताको बोली र बिचारलाई केन्द्रका दुई चार जना नेताको स्वार्थ पुरा नभएको बहानामा सिङ्गो पार्टिलाई नै बन्धक बनाएर राखन मिल्दैन । गाउँगाउँबाट पार्टि एकता सहितको संगठन घोषण गर्न ढिलाई गर्नु हुदैन । स्थानीय तहको संगठन त्यहिँको कार्यकर्ताले बनाएको हुँदा त्यसलाई सोही ढंगले चल्नदिनु बुद्विमानी हुन्छ । सचेत कार्यकर्ताले पद हाईन संगठनको रुपान्तरित एकता चाहन्छ । जब संगठन बलियो हुन्छ त्यसपछि सबै कार्यकर्तालाई जिम्मेवारी प्राप्त हुन्छ । एक असल कार्यकर्ता गुटको पछि लाग्दैन बिचारको पछि लाग्छ र उ गुटको नभै पार्टिकै नेता ठहरिनेछ ।
केही ठूला नेताहरुको स्वार्थका कारण कमिटिको बैठक बस्न सकेको छैन । केन्द्रको बाहेक कुनै पनि कमिटिको बैठक बस्न नसक्दा तलका पार्टि र मतदाताको काममा अविस्वास तथा झन्झट बढेको छ । कमिटिको प्रमुख नै जनप्रतिनिधि भएपछि त झन अहंकार बढेको छ । जनप्रतिनिधिलाई लगाम लगाउन संगठन चाहिन्छ की चाहिदैन ? संगठन नबनेका कारण जनप्रतिनिधिसंग जनता मात्र होईन कार्यकर्ताको पनि दुरी बढेको छ, यस्को जिम्मा कस्ले लिने ? त्यसैले नेकपाको नेतृत्वले तुरुन्त सबै संगठनलाई गतिशिलता दिनु पर्छ । नेताले संगठनलाई बन्धक बनाउँने काम गर्दा कार्यकर्ताले स्वतः संगठन घोषणा गर्ने काम शुरु हुन्छ, र गर्नै पनि पर्छ । यस विषयमा नेताहरुको बुद्घि छिटै फिरोस ।
यतिखेर केही साना दलको कुरा छोडौं । कार्यकर्ता बनाएको संगठनलाई समयमै उचित स्थान र संरक्षण गर्न नजान्दा डा. बाबुराम र अशोक राईको हालत के भएको छ त्यसबाट पनि सिकेर अगाडी बढ्न सकिएन भने नेकपाको पनि उहि हालत नहोला भन्न सकिन्न । केन्द्रीय राजनीतिमा हालीमुहाली गर्ने नेताहरुको कुबुद्घिले गर्दा क्षेत्रियबादी दलमा गएर खुम्चीनु परेको ईतिहास ताजै छ । त्यसैले कार्यकर्ताले नेतालाई जति सम्मान गरेकाछन् नेताले पनि सोहि अनुसारको व्यवहार नगरेर दास बनाउँने मानसिकता बोके भने कुनै पनि दिन त्यो विष्फोट नहोला भन्न सकिन्न ।
र अन्त्यमा कसैलाई अप्रिय पनि लाग्न सक्छ । लागोस केही फरक पर्ने छैन, तर भोली यहि कुरा सत्य सावित हुनेछ । के पी ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका आफु निकटका केही नेताहरुलाई साक्षी राखेर के पी ओलीले पाँच वर्ष प्रधानमन्त्री सहित अध्यक्षमा रहने र पार्टि भित्रको कार्यकारी अध्यक्ष प्रचण्ड हुने पूर्ववत सहमतिलाई कायम गर्दै शिघ्र महाधिवेशनबाट फेरी पनि प्रचण्डलाई सहमतिको एकल अध्यक्ष बनाउँने सहमतिमा अगाडी बढ्नु नै बुद्घिमानी हुनेछ । सहमति भनेको दुवै पक्षले अनिवार्य रुपमा मान्नु पर्ने शर्त हो । एउटा पक्षले ताड्ने बित्तिकै सहमति स्वतः भंग हुन्छ । त्यसैले केही वरिष्ठहरुको उक्साहटमा नलागी सरकारलाई सघाउँने र पार्टि चलाउने काम प्रचण्डको हो । यसैमा देशको, नेताको, कार्यकर्ताको र सम्पूर्ण नेपालीको कल्याण छ । नत्र भिरबाट लड्नेलाई राम राम मात्र हो काँध थाप्न सन्नि । हवस त हार्दिक एवं न्यानो अभिवादन सहित अहिलेलाई यत्ति नै । अस्तु ।।
उहि तपाईंहरुका शुभ चिन्तक स्वर्गवासी सहिदहरु ।








