सहकारी मानव समाजको सहकार्य, एकता र साझा समृद्धिको उत्कृष्ट उदाहरण हो। विश्व इतिहासमा सहकारी अभियानको औपचारिक सुरुवात सन् १८४४ मा बेलायतको रोचडेलमा भएको मानिन्छ, जहाँ केही श्रमिकहरूले “रोचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर्स” स्थापना गरी सहकारी आन्दोलनको आधार तयार गरेका थिए। यही अभियान विस्तार हुँदै आज विश्वभर लाखौं मानिसको जीवनस्तर उकास्ने माध्यम बनेको छ।
नेपालमा सहकारी आन्दोलनको सुरुवात वि।सं। २०१३ सालमा चितवन जिल्लाको बखानमा स्थापना भएको पहिलो सहकारी संस्थाबाट भएको हो। सानो प्रयासबाट सुरु भएको यो अभियान आज देशभर फैलिएको छ र ग्रामीण तथा शहरी अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। विशेषगरी साना किसान, मजदुर, महिला र निम्न आय भएका वर्गका लागि सहकारी आत्मनिर्भरता हासिल गर्ने सशक्त माध्यम बनेको छ।
हरेक वर्ष चैत्र २० गते मनाइने सहकारी दिवसले सहकार्य, समानता र साझा जिम्मेवारीको भावना झल्काउँछ। तर, यस महत्वपूर्ण दिवस मनाइरहँदा वर्तमान अवस्थामा सहकारी क्षेत्रभित्र देखिएका समस्याहरूलाई नजरअन्दाज गर्न मिल्दैन।
सहकारीको मूल उद्देश्य “सदस्यद्वारा, सदस्यका लागि” भन्ने भए पनि व्यवहारमा कतिपय सहकारीहरू यस सिद्धान्तबाट विचलित भएका छन्। बचतकर्ताको रकम दुरुपयोग, अनियमितता, कमजोर अनुगमन, पारदर्शिताको अभाव र व्यवस्थापनमा दक्षताको कमी जस्ता समस्याहरूले सहकारी क्षेत्रको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएका छन्।
विशेषगरी पछिल्ला वर्षहरूमा केही सहकारी संस्थाहरूमा देखिएको ठगी र वित्तीय अनियमितताले सर्वसाधारणको विश्वास कमजोर बनाएको छ। सदस्यहरूले आफ्नो दुःखको कमाइ सुरक्षित रहने अपेक्षा राखेका हुन्छन्, तर त्यही रकम जोखिममा पर्दा सहकारीप्रतिको धारणा नकारात्मक बन्छ। यसले समग्र सहकारी अभियानलाई नै असर पारिरहेको छ।
यसका साथै सहकारीमा बढ्दो राजनीतिक हस्तक्षेप पनि अर्को चुनौतीको रूपमा देखिएको छ। योग्यता र अनुभवभन्दा सम्बन्ध र प्रभावका आधारमा नेतृत्व चयन हुँदा संस्थाको दिगोपनमा असर परेको छ। ऋण प्रवाहमा मापदण्डको अभाव, फिर्ता नहुने ऋणको वृद्धि र एउटै क्षेत्रमा धेरै सहकारीहरूको अस्वस्थ प्रतिस्पर्धाले पनि समस्या थप जटिल बनाएको छ। यस्ता समस्याहरूका बीचमा सहकारी दिवस मनाउनु केवल औपचारिक कार्यक्रममा सीमित हुनु हुँदैन। यो दिवस आत्ममूल्यांकन गर्ने, कमजोरीहरू पहिचान गर्ने र सुधारका लागि प्रतिवद्ध हुने अवसरका रूपमा लिनु जरुरी छ।
अब प्रश्न उठ्छ—सहकारी अभियानलाई अझ बलियो बनाउन के गर्न सकिन्छरु
सबैभन्दा पहिले, सहकारी संस्थाहरूमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ। नियमित लेखापरीक्षण, स्पष्ट वित्तीय प्रतिवेदन र सदस्यलाई सूचना उपलब्ध गराउने प्रणाली अनिवार्य गरिनुपर्छ। दोस्रो, प्रभावकारी नियमन र अनुगमन आवश्यक छ। सरकारी निकायले कडाइका साथ नियम कार्यान्वयन गरी अनियमितता गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ।
तेस्रो, सहकारी सञ्चालनमा दक्ष जनशक्ति विकास गर्न तालिम र क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। चौथो, ऋण प्रवाहमा स्पष्ट मापदण्ड अपनाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहन दिनुपर्छ। पाँचौं, सहकारीमा राजनीतिक हस्तक्षेप न्यून गर्दै योग्य र इमानदार नेतृत्व चयन गर्ने वातावरण बनाउनुपर्छ। त्यसैगरी, सदस्यहरूलाई पनि आफ्नो अधिकार र कर्तव्यप्रति सचेत बनाउनु आवश्यक छ। सहकारी केवल बचत र ऋण लिने माध्यम मात्र नभई सामूहिक विकासको आधार हो भन्ने बुझाइ विकास गर्नुपर्छ। प्रविधिको प्रयोग बढाउँदै डिजिटल प्रणालीमार्फत सहकारी सञ्चालनलाई आधुनिक र सुरक्षित बनाउन पनि जोड दिनुपर्छ।
अन्ततः, सहकारी क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण स्तम्भ बन्न सक्ने क्षमता राख्दछ। तर यसको लागि सहकार्य, पारदर्शिता, अनुशासन र जिम्मेवारी अनिवार्य छन्। सहकारी दिवसले हामीलाई केवल उत्सव मनाउने होइन, सुधार, आत्मअनुशासन र साझा समृद्धितर्फ अग्रसर गराउने प्रेरणा दिनुपर्छ। सहकारीको मर्मलाई आत्मसात गर्दै अघि बढ्न सकेमा मात्र “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य हासिल गर्न सकिन्छ। त्यसैले, आजको आवश्यकता—बलियो, विश्वासिलो र उत्तरदायी सहकारी अभियान हो। धन्यवाद–जय सहकारी ।