भुम्लु गाउँपालिकामा सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुगमन तथा नापजाँच कार्य सुरु गरिएको छ । बुधबार गाउँपालिकाको पहलमा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थितिमा स्थलगत अनुगमन गरिएको हो ।
पालिका प्रमुख प्रेम भुजेलले गाउँपालिकाले यो कार्यलाई क्रमिक रूपमा विस्तार गर्दै सबै १० वटै वडामा सार्वजनिक जग्गाको पहिचान र अभिलेखीकरण गर्ने योजना अघि बढाएको बताए । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर केसीका अनुसार जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, सडक बोर्ड, नापी टोली, पूर्वाधार कार्यालय लगायतका प्रतिनिधिहरूको सहभागितामा वडा नं. ९ को ५४ किलो क्षेत्रदेखि वडा नं. ८ को दोलालघाट बजार क्षेत्रसम्म सार्वजनिक जग्गाको पहिचान, विवरण संकलन, सडक अधिकार क्षेत्र निर्धारण तथा रेखाङ्कन कार्य सम्पन्न गरिएको छ ।








