अहिले बजारमा केराको मूल्य दर्जनको २ सय ५० भन्दा माथी पुगेको छ । पर्याप्त केरा नपाइएको र यहीबीचमा मातातीर्थ औंसी पर्व परेकाले पनि केरा महँगिएको व्यवसायीले बताएका छन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले गत वर्षको तुलनामा यो वैशाखमा केराको मूल्य वृद्धि भएको देखाउँछ ।
२०८२ र २०८३ को तुलनामा मात्रै केराको मूल्य दर्जनमा ५० प्रतिशतले बढेको छ । थोक बजारमै केराको मूल्य दर्जनमा ५० प्रतिशतले वृद्धि भएको हो । थोक बजारमै महँगिनुको कारण भनेको उपभोक्ताको मागअनुसार केरा आपूर्ति नहुनु हो । बजारमा केराको मागअनुसार आपूर्ति गर्न नसक्दा मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् ।
ट्रोपिकल रेस–४ (टीआर–४) रोगको जोखिमका कारण आयात अनुमतिपत्र जारी नगरिएको प्लान्ट क्वारेन्टिनका सूचना अधिकारी रोशन अधिकारीले जनाए । ‘टीआर–४ ढुसीजन्य रोग हो, चितवनको एउटा बगैंचामा देखिसकेको छ, त्यसलाई हामीले बोट नै खनेर गाड्यौं, यसले भयावह अवस्था सिर्जना गर्न सक्छ,’ उनले भने, ‘यसबारे हामीले थप अध्ययन गरिरहेका छौं ।’ औपचारिक रूपमा आयात गर्न नपाइए पनि अनौपचारिक रूपमा आयात हुने केराको हकमा सूचना पाएसम्म कानुनी प्रक्रियाअनुसार नष्ट गरिरहेको उनको भनाइ छ । जैविक सुरक्षाका लागि पनि केरा आयातका लागि नयाँ अनुमति पत्र जारी रोकेको अधिकारीको भनाइ छ । गत आर्थिक वर्षको ८ महिनामा १ अर्ब १५ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको २ करोड ८० लाख २८ हजार ३८६ किलो केरा आयात भएको थियो । चालु आर्थिक वर्षको ८ महिनामा ७६ करोड ५५ लाख ६ हजार रुपैयाँको १ करोड ९४ लाख ३९ हजार २ सय ४१ किलो मात्रै केरा आयात भएको छ । केरा आयात नहुँदा उपभोक्ताको माग पूरा हुन नसकेको र त्यसको प्रभाव मूल्यवृद्धिमा देखिएको हो ।
पहिले १ सय रुपैयाँ प्रतिदर्जन पाइने केरा अहिले २ सयदेखि ३ सय ५० रुपैयाँसम्म पुगेको छ । नेपाली खानयोग्य भइनसकेका केरा उपभोक्ताले महँगो मूल्यमा किन्नुपरिरहेको उनको दाबी छ । नेपाली उत्पादनले ३–४ महिना (भदौ–मंसिर) मात्र बजार धान्न सक्ने छ ।
व्यवसायीले भदौदेखि मंसिरसम्म मात्र आन्तरिक उत्पादनले माग धान्ने बताए पनि केरा उत्पादक भने वैशाख, जेठ र असारमा मात्रै समस्या हुने र अन्य समयमा आन्तरिक उत्पादन नै पर्याप्त रहने दाबी गर्छन् । वैशाख, जेठ र असार नेपाली केराको ‘अपुग’ समय रहेको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले जनाए । केरामा आत्मनिर्भर हुनुपर्छ भनेर किसानले १२ महिना पु¥याउने गरी केरा लगाइसकेको र अर्को वर्षदेखि त्यस्तो समस्या नहुने पन्तले बताए । अहिले उत्पादन र खपत बढी हुँदा समस्या देखिएको र अबको २० देखि २५ दिनमा चितवनका मालभोग केरा बजारमा आउने भएकाले समस्या कम हुने छ ।








