१३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा संसारभर रहेका सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। श्रम, पसिना र समर्पणले समाज निर्माण गर्ने श्रमिक वर्गप्रति उच्च सम्मान प्रकट गर्दै यो दिवस केवल उत्सव मात्र नभई संघर्ष, उपलब्धि र जिम्मेवारीको स्मरण गर्ने महत्वपूर्ण अवसर हो।
आजभन्दा१३७ वर्षअघि अमेरिकाको शिकागो सहरमा मजदुरहरूले “८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जन” भन्ने मूल नारासहित ऐतिहासिक आन्दोलन गरेका थिए। त्यही आन्दोलनको बलमा श्रमिकहरूले श्रम अधिकारको आधारशिला स्थापित गर्न सफल भएका थिए। यो आन्दोलन केवल एक देशको विषय नभई विश्वभरिका मजदुरहरूको साझा जितको प्रतीक बनेको छ।
तर विडम्बना, आजको युगमा समेत हाम्रो जस्तो विकासोन्मुख देशमा ती अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्। श्रमिकहरू अझै पनि न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल र अस्थिर रोजगारको समस्यासँग जुधिरहेका छन्। यसैबीच संगठित हुने अधिकारमाथि हस्तक्षेप, ट्रेड युनियन खारेज गर्ने प्रयासजस्ता समाचारहरूले थप चिन्ता बढाएको छ।
यस किसिमको परिस्थितिमा ट्रेड युनियनहरू श्रमिकहरूको आवाज बन्नुपर्ने हो। तर कतिपय अवस्थामा युनियनकै नाममा नेतृत्व गर्नेहरूले मजदुरलाई अपमान गर्ने, हेला गर्ने र आफ्नै स्वार्थमा केन्द्रित हुने प्रवृत्तिले श्रमिक आन्दोलनलाई कमजोर बनाएको देखिन्छ। श्रमिकको नाममा राजनीति गर्ने तर श्रमिककै अधिकारमाथि आँच पुर्याउने प्रवृत्तिले दीर्घकालीन रूपमा असन्तोष र विद्रोहको अवस्था सिर्जना गर्न सक्छ।
त्यसैले, जो जहाँ हुनुहुन्छ स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार वा श्रमसम्बन्धी निकायहरू सबैले समयमै सचेत हुन आवश्यक छ। श्रमिकहरूलाई अधिकार दिलाउन कन्जुस्याइँ नगर्नुहोस्, सहकार्य गर्न पछि नहट्नुहोस्। श्रमिकमैत्री नीतिहरू कार्यान्वयन गर्नुहोस् र श्रमिकहरूको सम्मान सुनिश्चित गर्नुहोस्। किनभने श्रमिकहरूको सन्तुष्टि र सुरक्षा नै समग्र विकासको आधार हो।
अतस् मजदुर दिवसले हामी सबैलाई श्रमको सम्मान गर्न, श्रमिकका अधिकार सुनिश्चित गर्न र न्यायपूर्ण समाज निर्माणमा अग्रसर हुन प्रेरणा देओस्। श्रमिकको अधिकारको रक्षा र प्रवर्द्धनमा सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो।
लेखक–अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेका अध्यक्ष हुन ।








