आमा हरेक परिवारको मेरुदण्ड हुन् । उनले छोराछोरीलाई जन्म दिने मात्र होइनन्, जीवनका मूल्य, संस्कार र व्यवहार पनि सिकाउँछिन्। विद्यालय वा कलेजले ज्ञान दिन सक्छ भने वास्तविक जीवन जिउनका आधारभूत शिक्षा आमाले दिन्छन्। यो नै जीवनमा सबैभन्दा महत्वपूर्ण र सम्झन लायक संस्कार हुन्छ। बालबालिकालाई केवल पढाइले मात्र होइन, सही सोच र व्यवहारले नै वास्तविक मान्छे बनाउँछ भन्ने कुरा आमाले मात्र बुझेकी हुन्छिन् ।
छोराछोरीले जीवनमा भान्साको जिम्मेवारी लिन सक्नुपर्छ। अझ विशेष गरी छोराले भान्सा केवल महिलाको लागि मात्र होइन, पुरुषले पनि खाना बनाउन, परिवारलाई सहयोग गर्न र आवश्यक परे आफैंलाई आत्मनिर्भर बनाउन सक्नुपर्छ भन्ने कुरा बुझ्न सक्नु पर्छ। यससँगै महिलालाई बराबरीको दृष्टिले सम्मान गर्न, उनीहरूको विचारलाई ध्यानपूर्वक सुन्न र सम्मानजनक व्यवहार गर्न पनि सिकाउनुपर्छ ।
सफाइमा ध्यान दिनु पनि जीवनको महत्त्वपूर्ण शिक्षा हो। शरीर सफा राख्नु, नियमित नुहाउनु, नङ काट्नु र आफूलाई सधैं स्वच्छ सफा राख्नु पर्छ। रमाइलो गर्दा पनि अरुलाई असहज नबनाउने, मर्यादित र सभ्य व्यवहार गर्ने गुण आमा–बाबुको संस्कारले नै सिखाउँछ। जहाँ असल शिक्षा प्राप्त भएको हुन्छ त्यहाँका बालबालिका सधैं सभ्य र संस्कार जानेका हुन्छन् ।
शिष्ट भाषाको प्रयोगले मानिसको स्तर झल्किन्छ । हरेक स्थानमा बोल्दा नरम र सभ्य भाषा प्रयोग गर्नुपर्छ । फोनमा वा कोहि कसैसँग सम्वाद गर्दा कठोर शब्द प्रयोग गर्नु वा अरुलाई अपमानित गर्ने शैली अपनाउनु उचित होइन। भद्र र सभ्य भाषाले मात्र मानिसलाई सम्मानित बनाउँछ। त्यसैगरी, आधारभूत सीप सिक्नु, घरका साना मसिना काम गर्न, उपकरण चलाउन जान्नु वा मर्मत गर्न सक्नु जीवनभर उपयोगी हुन्छ। हामीले घरमा आफ्ना बालबालिकालाई यस्ता कुराहरु सिकाउनु पर्छ । हेर्दा सानो तर यो विषय अत्यन्त महत्त्वपूर्ण हो ।
महिलामा अरुको मन बुझ्न सक्ने संवेदनशीलता पनि हुन आवश्यक छ । कतिपय अवस्थामा महिलाले धेरै कुरा बुझ्न र सहन आवश्यक हुन्छ । कहिले कहिँ कतै केही समस्या भयो भने त्यसबेला समझदारी देखाउन सक्नुपर्छ । घरमा बसेर निरन्तर काम गर्ने आमा, दिदी–बहिनी वा भाउजूहरूको परिश्रमलाई पनि हामी सबैले बराबरी सम्मान गर्नुपर्छ। उनीहरूको श्रमको सधैं सम्मान गर्नुपर्छ । हेर्दा सजिलो लागे पनि वास्तविक भने त्यस्तो होइन । अफिस, कार्यालय वा अन्य स्थानमा सीमित घण्टा काम गर्ने भन्दा पनि बढी कठिन हुन्छ ।
अनुशासनले मानिसलाई परिपक्व बनाउँछ । हरेक दिन बिहान उठ्नेबित्तिकै ओछ्यान मिलाउने, खाना खाने टेबल सजाउने जस्ता साना बानीले जीवनलाई व्यवस्थित बनाउँछ। साथीहरूको दबाबमा नराम्रो बाटो नचाल्ने, गलत प्रस्तावलाई दृढतापूर्वक अस्वीकार गर्ने साहसले नै चरित्र निर्माण गर्छ । यसमा हामीले विशेष ख्याल गर्नुपर्छ ।
जीवनमा अनेकौं किसिमका समस्याहरु आउने गर्छन् । त्यसको समाधान शान्तिपूर्ण तरिकाले खोज्न सक्नु नै वास्तविक बुझाई हो । रिस वा जिद्दी पनले समस्या झन् बढाउँछ । शान्त भएर कुरा गर्ने बानी नै समाधानको सही बाटो हो। यससँगै आत्मरक्षाको ज्ञान हुन पनि अत्यावश्यक छ । किनकि जीवनमा होशियार रहनु र आफूलाई सुरक्षित राख्न सक्नु परिपक्वताको एउटा हिस्सा हो। समय समयमा विभिन्न स्थानमा जानु बोल्नु पर्ने हुन्छ । त्यस समय शब्दको प्रयोगमा पनि मर्यादा हुनु आवश्यक छ। अरुलाई अपमान गर्ने, तुच्छ शब्द प्रयोग गर्ने मानिस कमजोर देखिन्छ। सभ्य र सम्मानजनक भाषा मात्र व्यक्तित्वको शक्ति हो। यसले मानिसलाई उच्च स्थानमा पु¥याउन ठूलो सहयोग पुगेको हुन्छ ।
छोराछोरीलाई वास्तविक मान्छे बनाउन किताबका अक्षर वा डिग्री मात्र पर्याप्त हुँदैनन्। आमा बुवा र घरपरिवारले दिएको संस्कार, मान सम्मान गर्ने गुण र इमानदार जीवन जिउन सिकाएको पाठ नै उसको जीवनको आधार हो। आमा वास्तवमा आमा मात्र होइन । हरेक बालबालिकाको पहिलो शिक्षक पनि हो । यति मात्र होइन पुरै परिवार र समाजले पनि यस्ता सहि र सकारात्मक शिक्षा दिन सक्ने हो भने भविष्यका पुस्ता सचेत, संवेदनशील र जिम्मेवार नागरिक बन्न सक्ने छन्। यस कुरामा हामी अत्याधिक सजक भई हरेक काम गर्न सक्नुपर्छ ।








