लोकतन्त्र प्राप्तिसँगै मौलिक हक भित्र स्वतन्त्रताको हक समावेश छ। अभिव्यक्ति दिन वा बोल्न, लेख्न, प्रकाशन प्रसारण गर्न सबैलाई अधिकार छ। यसमा कुनै पेसा, आस्था र संलग्नताले बाधा पुर्याउने छैन। लोकतन्त्रको रक्षाका लागि लड्नुको उद्देश्य नै यहीँ थियो। यतिखेर महासङ्घ शुद्धीकरण भन्दै फरक पेसा अपनाएका, राजनीतिक तथा संस्थागत संलग्नता भएका नाममा सदस्यता काट्न लागि परेको छ। यसबाट हामीले कहीँ कतै लोकतन्त्रको मर्मलाई ख्याल गर्न भूलेका त छैनौ भन्ने लागेको छ।
नेपालको संविधानले सबै नागरिकलाई राजनीतिक आस्था राख्ने अधिकार दिएको छ। संस्थामा आबद्ध हुने, योग्यता र सिप अनुसारको पेसा गर्ने अधिकार दिएको छ। हामी मोफसलमा रहेर पत्रकारिता गर्छौ। न्यूनतम पारिश्रमिकको अवस्था पनि के छ? हामी जानकार छौ। मोफसलमा अझै पत्रकारिताबाट मात्र आफू पालिन अनि परिवार पाल्न धौ धौ छ। सीमित बाहेक अधिकांश अतिरिक्त पेसामा संलग्न छन् भने यी सबै बहानामा हाल भइरहेका सदस्यहरूलाई हटाइरहन किन जरुरी?
सञ्चारको विकास द्रुत छ। त्यस सँगै हरेक पेसामा लागेका सँग फरक फरक किसिमको ज्ञान छ। कति लेखनमा समय दिन्छन् भने कतिले दिँदैनन्। जसले फरक पेसा गरेर पनि लेखनमा समय दिन्छ त्यसलाई झनै प्रोत्साहन गरौँ न। स्वास्थ्य क्षेत्रमा डाक्टरको जति विज्ञता विशुद्ध पत्रकारमा नहुन सक्छ।
शिक्षा क्षेत्रमा प्राध्यापक, शिक्षक, कृषिमा अगुवा कृषक, कृषि प्राविधिक वाणिज्यमा व्यापारी व्यवसायी, सहकारितामा सम्बन्धित क्षेत्रमा लागेकाहरू वैदेशिक क्षेत्रमा विदेशमा रहनेहरू, राजनीतिक क्षेत्रमा राजनीतिज्ञ उनीहरूको ज्ञान मिडियामा आउँदा त्यसले पो पत्रकारिताको मर्म समेट्न सक्ला की? उनीहरूले क्रियाशील रूपमा पत्रकारितामा समय दिन सके भने त्यसलाई गौरवको विषयका रूपमा लिऔँ न। कोही व्यक्ति महासङ्घ आबद्ध हुँदैमा महासङ्घलाई थप भार पर्ने पनि पक्कै होइन।
कोही मानिस विदेश जाँदैमा उ पत्रकारिताबाट टाढिने पनि होइन। विदेशी भूमिमा रहेर अनलाइन मार्फत पत्रकारितामा सक्रिय रहने साथीहरू पनि त थुप्रै छन् नि। उनीहरूलाई महासङ्घको सदस्य किन नबनाउने?
यहाँ कसले के पेसा गर्छ को कहाँ आबद्ध छ भन्ने भन्दा पनि को कति सक्रिय छ भन्नेमा ख्याल गरौँ। निष्क्रय सदस्यलाई सम्मानपूर्वक बिदा गरौँ। सक्रियलाई अझै सक्रियता बढाउन प्रोत्साहन गरौँ। एकतामा बल हुन्छ विविधतामा पहिचान। अनि महासङ्घको इतिहासलाई पनि ख्याल गरौँ। महासङ्घ यो अवस्थामा आइपुग्ने कुन क्षेत्रका कस्ता व्यक्तित्वहरूको साथ रह्यो। विकल्पका रूपमा अधिकार क्षेत्र परिवर्तन गरौँ।
तर कारबाही महसुस हुने ढङ्गले शुद्धीकरणका नाममा सक्रिय सदस्यहरूलाई पत्रकारिताबाट ओझेलमा नपारौँ। यो विषय पत्रकार महासङ्घ प्रदेश समिति तथा केन्द्रीय समितिले पनि मनन गर्नु जरुरी छ।
(यो लेख नेपाल पत्रकार महासङ्घ काभ्रेका पूर्वअध्यक्ष नारायण सापकोटाको निजी बिचार हो)








