अब चुनाब सकियो । कोहि कसैले अवश्य जित्ने नै छन् । जित्नु अगाडि नेता पार्टीको भएर चुनाव लडेको हुन्थ्यो । अब जितिसकेपछि सबैको साझा हुन आवश्यक छ । पाँच वर्षभरी गरेको कामको मूल्याकंन आगामी हुने निर्वाचनमा हुने नै छ ।
यदि राम्रो काम गरे नेता आवद्ध पार्टीलाई पनि फाइदा र नेता आफूलाई पनि फाइदा हुने हुँदा जहिले पनि जनताको हितमा काम गर्नु हुनेछ भन्ने आम जनताको आशा जो । अब जनताको नेतासँग आश भनेको जनतासँग दैनिक हुने काममा सहजता, विकासका काममा अग्रसरता, सेवाको बेला राम्रो व्यवहार, भेटेको बेला राम्रो बोली, दुःख सुखमा जनताको घर घरमा पुग्ने , विकासको भागबन्डा समान्तर हिसावले गर्ने कुरा नै प्रमुख हुन । आशा छ आम जित्ने नेताले यी कुरालाई ध्यानमा राखी अगाडि बढ्ने नै छन् ।
आम जित्ने नेता पार्टीको नेता जस्तो नहोस् । सबैले मान्ने, सबैको साझा, यो त्यो नभनी आम जनताको सेवकको रुपमा काम गर्ने हुनुपर्यो । विकासका कार्यक्रम पनि आफ्ना कार्यकर्ता बढी भएको ठाउँमा र आफू बस्ने ठाउँमा बढी लाने, काम पनि कार्यकर्ता मुखि हुने हुन भएन । यसो गरियो भने आम जनता चिडिने छन् र आगामी दिनमा अफ्ट्यारो हुनेछ । विकासका कार्यक्रम पनि जतताको चाहाना अनुसार हुन आवश्यक छ । अन्यथा त्यसको सहि सदुपयोग नहुन पनि सक्छ । आवश्यकलाई पहिलो प्राथमिकतामा राखेर हेर्नु पर्छ। बजेट छुट्याउँदा जनतासँग प्रत्यक्ष छलफल गरि अगाडि बढ्नुपर्छ । अत्यथा आवश्यकता एउटा अनि काम अर्कै हुन जान्छ र त्यो काम अगाडि नबढ्न सक्छ । सबै जनता आफैं सबै काम गर्न सक्छन् भन्ने हुँदैन । त्यसका लागि छुट्टै एउटा डेस्क खडा गरि काममा सहजता दिन सकियो भने जनताको लागि ठूलो राहत पुग्न जान्छ । सामान्य पढेलेखेका आम जनताले सबै किसिमका फर्म भर्ने, निवेदन लेख्ने अनि अन्य कामकाज गर्न नसक्ने हुँदा यसमा विशेष ध्यान दिन आवश्यक छ । जनताले चाहेको एउटा अनि नेताले गर्ने अर्को नहोस् ।
सबै विकासका काम सरकारी बजेटबाट मात्र गर्न सकिन्छ भन्ने होइन । आजभोलि धेरै संघ संस्था विकास निर्माणका काममा लागेका हुन्छन् । जनतालाई सीप मुलक तालिम, जनचेतना मुलक कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छन् । तिनीहरुसँग समन्वय गरि आफ्नो ठाउँमा कार्यक्रम ल्याउन लाग्नुपर्छ । बजेट बनाउने बेलामा सम्बन्धित निकायसँग आफ्ना कुरा पुर्याई अगाडि बढ्नुपर्छ । बजेटले सबै ठाउँमा एकै पटक विकास गर्न सम्भावना छैन । त्यसका लागि प्राथमिकताका आधारमा पालैपालो आ–आफ्नो ठाउँमा विकास गर्न जनतालाई विश्वास दिलाउने गर्न सक्नुपर्छ । कति पय कामहरु सरकारको बजेटको भर नपरि एक आपसमा समन्वय गरेर पनि अगाडि बढ्न सकिन्छ । आफ्नो क्षेत्रका संघ, संस्था, बैंक, अस्पताल, स्कुल, सहकारी लगायतका सबै कार्यालयमा सामाजिक उत्तरदायित्व अन्तरगत १० प्रतिशत अनिवार्य खर्च गर्न पर्ने रकमलाई साझेदारीमा काम गरि अगाडि बढ्न सक्दा धेरै काम गर्न सकिन्छ । कतिपय कामहरु बजेट नहुँदा पनि प्रष्ट योजना अगाडि सार्न सक्दा गर्न सकिन्छ । हामीले यदि सार्वजनिक शौचालय बनाउने वा फोहोरका लागि डस्विन राख्ने हो भने त्यसको लागि समन्वय मात्र गरे पग्छ बजेट नहुँदा पनि काम गर्न सकिन्छ । हामीले जहाँ जहाँ डस्विन र सार्वजनिक शौचालय बनाउने हो त्यहाँ त्यहाँका कार्यालयलाई समन्वय गरि उनीहरुको सामाजिक उत्तरदायित्व झल्काउने गरि उनीहरुलाई नै जिम्मा दिई बनाउन सकिन्छ । यसको लागि राम्रो योजना मात्र आवश्यक हो । अब हामीले काम गर्दा अरुको मात्र भर परेर पनि हुँदैन ।
सबै कुरा नेतालाई मात्र पनि थाहा हुँदैन । त्यसका लागि आम जनताले आफ्नो ठाउँको लागि कहाँ के आवश्यक हो त्यो कुरा समयमै सम्बन्धित स्थानको नेतालाई बताउनु पर्छ अनि न आवश्यक अनुसार आवश्यक ठाउँमा काम हुन्छ । सम्बन्धित ठाउँको भौगोलिक कुरा, जनताको स्थिति, आवश्यकता अनि प्राथमिकता के हो भन्ने त्यहाँका दिनरात भोगेका जनतालाई मात्र थाहा हुन्छ । त्यसैले नेताले होइन जनताको चाहाना अनि लगाब अनुसार पनि विकास के कस्तो कति हुने भन्ने हुन्छ । त्यसकारण हामी आम जनता आफैँ आफ्नो ठाउँको विकासको लागि अगाडि बढ्नुपर्छ । विकास हुनु मात्र पनि ठूलो कुरा भएन । त्यहाँ बनेका,रहेका सबै कुराको राम्रो संरक्षाण गर्नु पनि अर्को महत्वपूर्ण काम हो। त्यसैले हामी समयमै बुझेर अगाडि बढ्न पर्छ ।
हामीले अब नेतालाई मात्र गाली होइन आफू पनि सुध्रिनु पर्ने समय आएको छ । चाहे जुनसुकै पार्टीबाट जितेर गए पनि अब जनप्रतिनिधि हुन् । त्यस कारण अब कुन पार्टी के भन्दा पनि आफ्नो ठाउँको विकास र जनताको काम कसरी सहज रुपमा गर्ने भन्ने तिर लाग्नु पर्छ । जुन पार्टीबाट जितेर आए पनि अर्को पार्टीको भनि फरक व्यवहार गर्नु हुन्न । सहज रुपमा लिई अगाडि बढ्नुपर्छ । त्यसले आम जनता, नेता, कार्यकर्ता सबैको हित हुन्छ । अब अर्को चुनाबसम्म निर्वाचित जननिर्वाचित नेताले पार्टीभन्दा माथी उठेर आम जनताको हितमा सबैलाई समान व्यवहारका साथ काम गर्न सक्दा वास्तविक जनताको नेता बन्न सकिन्छ । –नव क्षितिज साप्ताहिकबाट








