हामीले जहिलेसम्म हाम्रो शिक्षालाई ब्यवाहारिक रुपमा उतार्न सकेनौं । जबसम्म हामी शिक्षालाई सहि तरिकाले अगाडि बढाउन सक्दैनौं तबसम्म देशको अरु कुरामा परिवर्तन ल्याउन कठिन हुन्छ । अहिले हामीकहाँ भएका विद्यालय अत्यन्तै साँगुरो ठाउँमा अत्यन्तै कठिन तरिकाले चलेका छन् । खेल्न चौर छैन , यताउता गर्न खुल्ला ठाउँ छैन, प्रयोगशाला छैन र विद्यार्थीहरु जस्तो छ त्यस्तैमा कामचलाउ हिसाबले पढाइमा अगाडि बढेको पाइन्छ । तर विश्व बजारलाई हेर्दा अब हामीले भने अलि फरक खालको विद्यालय कल्पना गर्न आवश्यक भैसक्यो । अब खोल्ने विद्यालयमा फराकिलो ठूलो परिसर होस् अनि त्यहाँ एउटा आवासीय स्कूल होस् जहाँ विद्यालयको आफ्नै बगैंचा, फार्म, खेतबारी होस् र त्यहाँ विद्यार्थीले हरेक कुरा प्रयोगात्मक रुपमा गर्न पाउन । अझ त्यहाँ थप बस्नको लागि विद्यार्थीहरुलाई समुहमा बसेर छलफल गर्न ठाउँ–ठाउँमा कटेज जस्तो होस् । जसको सरसफाई र मेन्टेनेन्स विद्यार्थीहरु आँफैले गरुन् । खेतबारीमा काम पनि विद्यार्थीहरु नै गरुन् र सबै कुराको जानकारी राम्रोसँग राख्न सकुन । यसले आम विद्यार्थीलाई सिक्न धेरै मद्धत गर्दछ ।
स्कूलमा कक्षा कोठाहरु धेरै भन्दा पनि छत भएका खुला पढ्न मिल्ने र छलफल गर्ने ठाउँहरु प्रयाप्त हुन आवश्यक छ । जहाँ थीम बेस्ड पुस्तकालयहरु, प्रयोगशालाहरु र उत्कृष्टताको खोजी गर्ने केन्द्रहरु हुन् । यति भयो भने बल्ल विद्यार्थीहरुले केहि नयाँ कुरा र अहिलेको समय अनुसार जान्न पर्ने कुरा पाउन सक्छन् । खेलकूद र व्यक्तित्व विकासका लागि चाहिने स्टेडियम, ट्र्याक, हर्स राइडिङ , सुइमिङ पुल, रक क्लामिङ, इनडोर सुटिङ सुविधा हुन जरुरी छ । दिनमा ३ ÷ ४ पिरियड मात्र पढाई गर्ने र ३ घन्टाभन्दा बढि विद्यार्थीहरुलाई कक्षा कोठामा नराख्ने, पढाउन बोर्ड र कक्षा कोठा नभई नहुने कुराको लागि बाहेक अरु कुराको लागि विद्यार्थीहरुलाई कक्षा कोठामा नराख्ने र सकेसम्म बाहिर फिल्डमै अभ्यास गराउनतिर निरन्तर लागिपर्ने हुनुपर्छ ।
विद्यार्थीहरुलाई उमेर, समूह र कक्षाभन्दा रुचिको आधारमा मिसाएर बनाईएका क्लबहरुमा समाबेश गराउने, जसमा फरक फरक क्लबका माध्यमबाट फरक फरक प्रोजेक्टहरुमा विद्यार्थीहरुलाई काम गर्न लगाउने गरिनुपर्छ । त्यसै गरि स्कूलमा रहेका हरेक क्लबलाई आवश्यकतासँग जोड्न पर्छ। यसरी फरक फरक क्लबलाई फरक फरक तरिकाले संसारसँग जोडि उत्कृष्ट संस्था र कम्पनीहरुसँग समेत जोडेर विद्यार्थीहरुले प्रोजेक्टमा काम गर्ने वातावरण बनाइनुपर्छ ।
विद्यार्थीहरुलाई सफ्टवेयर कम्पनी मार्फत एप्पल, माइक्रोसफ्ट जस्ता कम्पनीको प्रडक्ट डेभलपमेन्ट टिमसँग सिधै सम्पर्कमा काम गर्ने वातावरण बनाउने गर्नुपर्छ जसका कारण भविष्यमा विद्यार्थीलाई अगाडी बढ्न सजिलो हुन्छ । अहिलेको यो २१ औं शताब्दीमा पढाई मात्र होइन जुनसुकै सिप सिकेर पनि सफलता हाँसिल गर्न सकिन्छ । यहाँ खेलेर, नाँचेर, गायर, जेसुकै गरेर पनि आजकाल मज्जाले बाँच्न सकिन्छ । त्यसैले अब हामीले संचालन गर्ने विद्यालयमा विद्यार्थीहरुलाई यि यस्ता खाले सबै सुविधा उपलब्ध गराउन सक्नुपर्छ । अझ संसारभर आफ्नो देशको नाम राख्न सकिने भनेको खेल मार्फत नै हो । त्यसैले नेपालका उत्कृष्ट खेलाडीहरु, पदक विजेताहरुलाई विद्यालयले कोच, प्रशिक्षक वा तालिम दिएर शिक्षकको रूपमा राखी विद्यार्थीलाई हौसला प्रदान गरिनुपर्छ । जसले गर्दा नेपलका लागि पदक जितेका खेलाडीहरुसँग, उनीहरुको आफ्नो खेल प्रतिको समर्पण र त्यसका लागि उनीहरुले गरेको मिहिनेत प्रत्यक्ष देखेर हाम्रा विद्यार्थीहरु प्रेरित होउन् र सफलता हाँसिल गर्नेले पनि आत्म सम्मान पाउन सकुन ।
अब विद्यालयमा घोकाउने, रटाउने अनि अनावश्यक रुपमा नचाहने कुरा सिकाउने ठाउँ होइन भन्ने प्रमाणीत गर्नुपर्छ । अबको विद्यालय भनेको जीवनमा चाइने कुरा मात्र सिक्ने स्थान हुनुपर्छ र सोहि अनुसार वातावरण बनाउने र प्रेरणा प्रदान गर्ने संस्था बनाइनुपर्छ । विद्यालय एउटा उत्कृष्टताको मन्दिर हुनेछ जहाँ स्वतन्त्र र स्वच्छन्द रूपमा आजीवन सिकारुपन, विनम्र, माटोसँग जोडिएको तर संसार जित्ने आँट सहितको व्यक्तित्व विकास हुने खालको उत्कृष्ट लक्ष्य बोकेको हुनुपर्छ । जहाँ स्वदेशका मात्र होइन विश्वभरका विद्यार्थी पढ्नको लागि हाम्रो देशमा आउन सकुन ।
हाम्रो देश एउटा यस्तो देश हो जहाँ विश्वमा पाइने वातावरण पाउन सकिन्छ । हरेक ५÷१० किलोमीटरमा फरक फरक हावापानी पाइन्छ । हिमाल, पहाड, तराईले भरिएको मिश्रण जमिन छ । हाम्रो देश नेपाल विश्व चिनाउने सगरमाथा, विश्व शान्तिका अगुवा गौतम बुद्धको जन्म स्थान, सीता, भृकुटी जस्ता महान नारीको जन्म स्थान, जलस्रोत र वनजङलको धनी भएकाले विश्वभरबाट सजिलैसँग विद्यार्थी हामीले पाउन सक्छौं । यसको लागि राज्यले सहि निति नियम बनाउनु पर्यो र शिक्षामा लगानी गर्नेलाई निरुत्साहित होइन प्रोत्साहन गर्न जरुरी छ । आशा छ यो सम्भावनालाई बुझेर पक्कै पनि राज्यको तर्फबाट सहि निति नियम बनाई नेपाललाई विश्वको अगाडि शैक्षिक हब बनाउन सहयोग गरिनेछ । –नव क्षितिज साप्ताहिकबाट









सम्बन्धित समाचार