यसरी जोगाऔं कोरोनाबाट बालबालिकालाई ?


बनेपा, कोरोना भाइरस महामारीको दोस्रो लहरमा सबै उमेर समुह जस्तै धेरै बालबालिकाहरु संक्रमित भए । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका लागि संक्रामक देखिएको अवस्थामा अर्को नयाँ लहरमा पनि बालबालिकाहरुका लागि निकै खतरनाक हुने विज्ञहरुले बताइरहेका छन् । त्यसैले बालबालिका अझै सचेत रहनु आवश्यक छ ।
महामारीको समयमा अभिभावकहरुले के गर्ने ? के नगर्ने ? अभिभावकहरु संक्रमित भएको अवस्थामा बालबालिकाको हेरचाह कसरी गर्ने ? अनि बालबालिकाहरु नै संक्रमित भएमा के गर्ने ? इण्डियन एक्सप्रेसमा डाक्टर शेफाली गुलाटीले दिएको यस्तै जिज्ञासाहरुको जवाफ अनुवादित गरी प्रस्तुत गरिएको छ ।

कोरोना भाइरस महामारीको तेस्रो लहरले बढी बालबालिकाहरुलाई असर गर्ने धेरै विज्ञहरुले चेतावनी दिएका छन् । सिंगापुरमा यस्तो भैसकेको पनि छ । हामीले भाइरसविरुद्ध प्रतिरक्षा हासिल गर्ने भनेको कि त खोप लगाएर हो, कि त एकपटक संक्रमित भैसकेपछि हो । धेरै वयस्क मानिसहरु पहिलो तथा दोस्रो लहरमा संक्रमित भैसकेका छन् । हालसम्म खोपहरु केवल वयस्कहरुको प्रयोगका लागि मात्र स्विकृत भएका छन् । पहिलो लहरमा संक्रमित भएका बालबालिकाहरुको संख्या भन्दा दोस्रो लरहमा संक्रमितहरुको संख्या धेरै छ । यसको कारण चाहीँ समग्रमा संख्या नै धेरै हुनु र सबै परिवार नै संक्रमित भएका कारण पनि हुनसक्छ ।

कोरोना भाइरसका नयाँ म्युटेन्टहरु, खासगरी बी.१.१.७ भेरिएन्टले बालबालिकाहरुलाई बढी असर गरेको सिंगापुर लगायतका केही देशमा देखिएको छ । यद्यपि उक्त नयाँ भेरिएन्टबाट हालसम्म सिंगापुरमा कति बालबालिकाहरु संक्रमित भए भन्ने आधिकारिक तथ्यांक चाहीँ उपलब्ध छैन । भाइरसको सुरुवाती भेरिएन्ट भन्दा बी.१.१.७ भेरिएन्ट ६० प्रतिशत बढी घातक छ । यो नयाँ भेरिएन्ट यतिधेरै घातक हुँदाहुँदै पनि बालबालिकाहरुको रोग प्रतिरोधी क्षमता उच्च हुने भएका कारणले गर्दा भाइरसको आक्रमण हुँदा समेत गम्भीर विरामी नपरेका हुन् ।
भाइरस संक्रमणको सम्भावनाका हिसाबले बालबालिकाहरु वयस्क जत्तिकै जोखिममा हुन्छन् । तथापि कोभिड १९ संक्रमित बालबालिकाहरु साधारणतया लक्षण विनाका वा कम गम्भीर खाले लक्षण भएका हुने गरेका छन् । बालबालिकाहरुमा भाइरसको असर कम हुनुको कारण चाहीँ भाइरस संक्रमण हुने तरिकाका साथै बालबालिकाको रोग प्रतिरोधी प्रणालीका कारणले हुनसक्छ ।

अध्ययन अनुसार खासगरी १ वर्षमुनिका र १० देखि १४ वर्षसम्मका बालबालिकाहरु कडा लक्षण सहितको कोभिड १९ संक्रमण हुने उच्च जोखिम समूहमा पर्दछन् । शिशुहरु संक्रमित भएमा गम्भीर विरामी पनि पर्न सक्दछन् । त्यस्तै १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुमा २ देखि ६ हस्तासम्मको लक्षणवीहिन वा लक्षणयुक्त कोभिड संक्रमणपछि मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम देखिन सक्छ ।

सबैभन्दा आम लक्षणहरु भनेका ज्वरो (६३ प्रतिशत), खोकी (३४ प्रतिशत) र त्योसँगै वाकवाकी तथा वान्ता (२० प्रतिशत) र झाडापखाला (२० प्रतिशत) रहेका छन् । वयस्क मानिसहरुमा जस्तै बालबालिकाहरुमा पनि कोभिडका मुख्य लक्षणमा ज्वरो र खोकी नै पर्दछ । तर बालबालिकामा त्यस्तो लक्षण देखिने दर वयस्कमा भन्दा निकै कम हुन्छ ।

कोभिड १९ संक्रमणको आशंका भएका वा पुष्टि भएका र ज्वरो, खोकी तथा फ्यारिन्जाइटिस जस्ता सामान्य खालका लक्षण देखिएका बालबालिकालाई सामान्यतया घरमै व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । दम, मुटुको रोग, मधुमेह, छारे रोग तथा मांशपेशीजन्य लगायतका रोग भएका संक्रमित बालबालिकालाई चाहीँ तत्कालै अस्पताल लैजानु पर्दछ । किनकी पहिले देखिनै अर्को रोगबाट ग्रसित भैरहेका बालबालिकाहरुमा कोभिड १९ को संक्रमणले सिकिस्त बिरामी पार्ने जोखिम हुन्छ ।

संक्रमितको घरमै गरिने व्यवस्थापन अन्तरगत संक्रमित वा आशंकितलाई आइसोलेसनमा राखेर अरुलाई रोग सर्न नदिने, उसको निरन्तर निगरानी गरिरहने र लक्षणहरुको बारेमा जानकारी लिइरहने, आडभरोसा दिने र पोषणयुक्त खानेकुरा र डाक्टरहरुको सल्लाह बमोजिम औषधि आवश्यक परेमा खुवाउने ।

घरमै हेरचाह तथा आइसोलेसनमा रहेका संक्रमित बालबालिकाहरुमा यस्ता कडा लक्षण देखिएमा सचेत हुनु पर्दछ । सास फेर्न गाह्रो हुनु, घ्यारघ्यार हुनु र दुध चुस्न नसक्नु । किशोरावस्थाका बालबालिकामा छाति दुख्नु र दबाब महसुस हुनु । अनुहार तथा ओठ निलो बन्दै जानु । पिसाब कम लाग्नु, सरीर चिसो बन्नु तथा छालामा धब्बाहरु बन्नु । बालबालिकामा द्धिविधा तथा अलमल बढ्नु, लोसे बन्दै जानु ।
आइसोलेसनको अवधि ः लक्षण देखिएका विरामीका लागि लक्षण देखिएको दिनबाट १० दिनसम्म र लक्षण देखिन छाडेको थप ३ दिनसम्म ।
लक्षण नदेखिएका विरामीका लागि कोरोना परीक्षणबाट संक्रमण देखिएको दिनदेखि १० दिनसम्म ।
अधिकांश बालबालिकामा न्यून तथा मध्यम खालको लक्षण देखिन्छ र केवल ४ प्रतिशतमा मात्रै कडा खालको विमारी हुन्छ ।
बच्चाको हेरचाह गरिरहँदा अभिभावकहरुले ठिक तरिकाले, सही किसिमको मास्क लगाउने । ग्लोभ्स तथा पिपिइ लगाउने । संक्रमित बच्चालाई घरमा रहेका वृद्ध हजुरबा हजुरआमा लगायतसँग हेलमेल हुन नदिने । बाबु आमा दुबैजनाले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेका भएपनि महामारी पूर्वको अवस्थामा जस्तो ढुक्क हुन हतार गर्नु हुँदैन ।

बालबालिकालाई उत्तरदायित्व, सहभागिता, सहकार्य जस्ता कुराहरु सिकाउने । साथै पाक कला, पैसाको व्यवस्थापन, प्राथमिक उपचार, आफ्नो कोठा मिलाउने तथा घरायासी काममा सहयोग गर्ने जस्ता कामहरु पनि सिकाउन सकिन्छ यो बेलामा ।
कोभिड १९ को बारेमा इन्टरनेटमा अत्यधिक सामाग्रीहरु हेर्नबाट आफ्नो किशोरावस्थाको सन्तानलाई रोक्नुहोस् किनकी यसले एन्जाइटी बढाउँदछ । साथै सोसल मिडिया तथा इन्टरनेट गेमिंगको अत्यधिक प्रयोगबाट पनि आफ्नो बच्चालाई टाढा राख्नुपर्दछ ।
आफ्नो बच्चाको मानसिक सुस्वास्थ्य प्रवद्र्धनका लागि आर्ट, संगीत, नृत्यु लगायतका कलामा समेत संलग्न गराउन सकिन्छ ।
के कोभिड १९ ले बालबालिकामा विकासात्मक सुस्तता ल्याउँदछ ?

विभिन्न ३१ देशका ९ हजार ३३५ जना संक्रमित बालबालिकामा गरिएको एक अध्ययनले १२ प्रतिशत बालबालिकामा स्नायुजन्य समस्याका लक्षणहरु देखा परेको पाइएको छ । त्यसमध्ये २ प्रतिशत बालबालिकामा चाहीँ इन्सेफ्यालोप्याथी, स्ट्रोक, मध्य स्नायु प्रणालीमा संक्रमण जस्ता घातक लक्षणहरु पनि देखिएका छन् ।

दुई वर्ष भन्दा मुनिको बच्चालाई कहिल्यैपनि मास्क लगाइदिनु हुँदैन । तथापि बच्चालाई अनावश्यक सार्वजनिक सम्पर्कमा नल्याउनुहोस् ।
कोभिड १९ बाट संक्रमित वा भर्खरै निको भएका बालबालिकाहरुलाई लक्षणवीहिन भएको २ हप्तापछि मात्र अन्य नियमित खोपहरु बच्चालाई लगाउन सकिन्छ ।
मास्क लगाउन नसक्ने शिशु तथा साना बालबालिकाहरुलाई संक्रमणबाट जोगाउनका लागि के गर्ने ? मास्कको साटो फेस सिल्ड लगाउने भएमा पुरै अनुहार छोप्ने गरी लगाउनु पर्दछ । फेस सिल्डले अनुहारको दुबैपट्टि ढाकेको हुनुपर्दछ भने चिउँडो भन्दा तलसम्म आएको हुनुपर्दछ । फेस सिल्ड लगाउँदा त्यो फुटेर अनुहार तथा आँखा लगायतमा हुनसक्ने घाउचोटका विषयमा सचेत हुनु पर्दछ ।

आफु, आफ्नो सानो शिशु तथा अन्य सन्तानहरुलाई अरु मानिसहरुभन्दा ६ फिट टाढै राख्नुहोस् । बालबालिकालाई घरमै राखेर आफु बाहिर निस्किनुपर्ने भएमा सकेसम्म छिटै घर फर्किनुहोस् ।
आफ्नो सानो बच्चालाई लिएर सार्वजनिक ठाउँहरुमा जानुपर्ने भएमा बच्चा बोक्ने स्ट्रोलरलाई पातलो ब्लांकेटले छोप्ने गर्नुहोस्, तर बच्चालाई छोप्ने होइन ।
आफ्नो हात सधे सफा राख्ने । घर आउने बित्तिकै आफु तथा आफ्ना अन्य बच्चाको हात धुन नबिर्सिने । हात धोएर मात्रै शिशुलाई छुन े।
घरमा प्रायः छोइरहने सतहहरु दिनमा नियमित रुपमा डिसइनफेक्टेन्ट स्प्रे तथा वाइपरले सफा गरिरहने । कुरा बुझ्ने उमेरका बालबालिकालाई हातले अनुहार छुने बानीलाई छाड्न लगाउने ।

प्रतिक्रिया दिनुहोस्