धादिङ, गल्छी, नयाँ वर्ष २०८३ को पावन अवसर पारेर बैशाख १ गते मंगलबार सितापाइला केबल नेटद्वारा SUPER NET धादिङ गल्छी शाखाको समृद्धाटन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रममा कम्पनीका सञ्चालक प्रकाश श्रेष्ठ ले कम्पनीले सातै दिन चौबीसै घण्टा भरपर्दो इन्टरनेट तथा टिभी सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तारसँगै अझ छिटो, गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले “Super Net राम्रो पनि हाम्रो पनि, Internet अनि TV पनि” भन्ने नारालाई आत्मसात गर्दै ग्राहकको विश्वास जित्दै अघि बढ्ने धारणा राख्नुभयो।

उक्त कार्यक्रम हास्य कलाकार गोपाल ढकाल (छन्दे) ले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य मधु कुमार श्रेष्ठ को विशेष उपस्थिति रहेको थियो। साथै, धादिङ गल्छी गाउँपालिका वडा नं. ७ का उपाध्यक्ष भाईकाजी तिवारी, वडा नं. ७ का अध्यक्ष हरि खतिवडा, वडा नं. ८ का अध्यक्ष बिशाल लुंगेली मगर, बेलकोटगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष मदन भुजेल लगायत स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा हास्य कलाकार गोपाल ढकाल, गायक कृष्ण भट्टराई तथा भिजुअल इफेक्ट (VFX) आर्टिस्ट अच्युत बजगाईं रहेका थिए।

स्थानीय स्तरमा आधुनिक इन्टरनेट तथा टेलिभिजन सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित सञ्चालनमा आएको SUPER NET शाखाले गल्छी क्षेत्रका उपभोक्ताहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।