छोरो बेचेर कमारो किन्ने दुनियाँले विश्वासको धरोहर नबुझ्दो रहेछ ।
हिराको अतुल्य आभालाई यहाँ कोईला बनाईदों रहेछ ।।
लोभ, लालच र स्वार्थ भरिएको दुनियाँमा सद्भाव र समर्पणलाई अंजुली दिईदों रहेछ ।
अजमजाएर बोल्न सक्ने अभिमानी खेलाडीहरुलाई नपरी नचिनिदों रहेछ ।।
मदमत्त, रक्त पिपासुहरुमा संवेदनशीलता रत्ति पनि नहुंदो रहेछ ।
फगतमा रगजग गर्नेहरुले संसारलाई आफ्नै मुहार देख्दो रहेछ ।।
पलभरलाई भ्रम फैलाउनेहरु आफुलाई राईबाघ सम्झिदो रहेछ ।
शतपथ र शतपात्रको कसौटी नहुंदा बित्थामा सुली चडाईदो रहेछ ।।
शहरको भीडहरुमा म त हराएको रहेछु ।
अब अनन्त यात्राको गन्तव्य पैलाएको छु ।।
जीवनको कुरुक्षेत्रमा म अनायासै बिलाएको रहेछु ।
आज आत्म सन्तुष्टीका पखेंटाहरु फैलाएको छु ।।
अब,
धेरै दिन पछि मेरो आकाशमा मडारिएका बादलहरु हटेको छ ।
थाकेका मन लामो बिश्राम पछि चरासरी गगन चुम्न उडेको छ ।।
स्तब्ध मस्तिष्क तेज हावाको रफतारमा कुदेको छ ।
सात रंगमा रंगिएको बिश्वास श्यामश्वेत बनी बुझेको छ ।।
त्यसैले,
अब मेरो सूर्यबाट ग्रहण सदाको लागि हटेको छ ।
मेरो चन्द्रमा हररात जुनेली पल दिन डटेको छ ।।
चरा जस्तै स्वतन्त्रता रुचाउने मनले खुला आकाश पाएको छ ।
चन्चल र चुलबुली मनभरी अथाह खुशी छाएको छ ।।








