पछिल्लो समय देशभर जस्तै काभ्रेपलाञ्चोक जिल्लामा पनि ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विशेष पहल गरी ग्यास सहज उपलब्ध गराउने वातावरण बनाउन लागि परेको छ । काभ्रेमा सगर, सूर्य, लोकप्रिय र हिमाल ग्यासका उद्योग रहेको भएपनि ग्यास सहज नभएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अग्रसरता बढाएको हो ।
यहि क्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीकोनेतृत्वमा सुरक्षा निकायका प्रतिनिधि, ग्यास उद्योगका सञ्चालक, वितरक र अन्य सरोकारवालासहितको उपस्थितिमा सोमबार जिल्ला प्रशासन कार्यालय भएको छलफलले सहजरुपमा जिल्लामा ग्यास विक्री वितरणको प्रबन्ध मिलाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रहरी प्रमुख रबिन बिष्ट, अनुसन्धान अधिकृत प्रशान्त थापा, सगरमाथा ग्याँस उद्योग, हिमाल ग्याँस उद्योग, लोकप्रिय ग्याँस उद्योग प्रा.लि., र सूर्य ग्याँस उद्योग प्रा.लि., काभ्रेपलाञ्चोकका सञ्चालक, वितरक, डिपोवाला र सञ्चारकर्मीलगायतको उपस्थिितीमा भएको बैठकले जिल्लामा सहज रुपमा ग्यास विक्री वितरणको व्यवस्था मिलाउने निर्णय गरेको हो । जसअनुरुप जिल्लामा रहेका एल.पी. म्यास उद्योगीहरुले एल.पी. ग्याँसको नियमित तथा पर्याप आपूर्तिको व्यवस्था मिलाउने र सोको नियमित विवरण जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा उपलब्ध गराउने । एल.पी. ग्यास डिष्ट्रिव्यूटरहरुले डिलरहरुलाई ग्यास उपलब्ध गराउँदा पारदर्शी र सबै डिलरहरुलाई समन्यायीक ढंगले गर्ने व्यवस्था मिलाउने ।
कुनै पनि ग्याँस उद्योगी÷डिलर ग्याँस व्यवसायीहरुले खाना पकाउने ग्यास अत्यावश्यक भएका सर्वसाधारणलाई पहिलो प्राथमिकतामा राखी ग्यास विक्री वितरणको प्रबन्ध मिलाउने । ग्याँसको अनावश्यक भण्डारण गरी वा एकै व्यक्ति तथा निकायलाई आवश्यकता भन्दा बढी ग्यास उपलब्ध गराई बजारमा कृत्रिम अभाव श्रृजना वा कालो बजारी गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिमको बजार अनुगमन समितिले आवश्यकतानुसार बजार अनुगमन गरी कानून अनुसार कारवाही गर्नेलगायत रहेका छन ।
हिजो अस्ती सरकारले तोकेको मात्र स्थानबाट ग्यास वितरण गरेको भएपनि आजदेखि नै सबै वितरण केन्द्र र डिपो, डिपोमा ग्यास पठाउन शुरु गर्ने व्यवसायीले बताएमा छन । आपुर्ती कम नभएकाले सबै वितरण केन्द्र र डिपो, डिपोमा ग्यास पठाउन सकिने हुदाँ अव यो समस्या सहज हुने व्यवसायीहरुले बताएका छन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि नै काभ्रेमा रहेका सगर, सूर्य, लोकप्रिय र हिमाल ग्यास उद्योगको अनुगमन गरेको थियो ।








