सौन्दर्य, व्यक्तित्व, आत्मविश्वास र प्रतिभाको संगमका रूपमा आयोजना हुँदै आएको ‘मिस ब्युटिफुल नेपाल’को ११औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को १०औं संस्करणको ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघर, काठमाडौंमा भव्य समारोहका बीच आयोजना हुने भएको छ ।
अडिसनबाट छनोट भएका प्रतियोगीहरू अहिले ग्रान्ड फिनालेको तयारीमा जुटेका छन । प्रतियोगीहरूलाई व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी विशेष प्रशिक्षण प्रदान भइरहेको छ । प्रशिक्षणमा मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, सेल्फ–मेकअप तथा फेशन लगायतका विषयमा दक्ष प्रशिक्षकहरूबाट प्रशिक्षण दिइँदै आएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा मिस एण्ड मिसेस ब्युटिफुल तर्फ मन्दिरा आचार्य, सृजना घिमिरे, समीक्षा शर्मा, रिता कटुवाल, गीता बुढाथोकी, रिता तामाङ, रेखा श्रेष्ठ, निशा राजभण्डारी, सञ्जिना चौधरी, तारा कुमारी दुलाल र सुनिता श्रेष्ठ आचार्य रहनुभएको छ । आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेका अनुसार प्रतियोगिताको उद्देश्य सौन्दर्यलाई मात्र नभई महिलाको व्यक्तित्व, प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वलाई समेत उजागर गर्नु हो । पाण्डेले भन्नुभयो, प्रतियोगीहरूलाई प्रशिक्षणमार्फत मञ्चमा प्रस्तुत हुने कला, आफ्नो क्षमता प्रस्तुत गर्ने आत्मविश्वास तथा समाजमा सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गरिँदैछ ।
अब प्रतियोगीहरू ग्रान्ड फिनालेको अन्तिम तयारीमा रहेका छन । प्रशिक्षणसँगै उनीहरूको र्याम्प वाक, स्टेज प्रेजेन्स, प्रश्नोत्तर, प्रस्तुति तथा व्यक्तित्व विकासमा विशेष अभ्यास भइरहेको छ । भदौ ६ गते राष्ट्रिय नाचघरमा हुने भव्य ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिने प्रतियोगीमध्येबाट मिस तथा मिसेस ब्युटिफुल नेपाल २०२६ का विजेता चयन गरिनेछ । सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास र व्यक्तित्वको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने प्रतियोगीलाई उपाधि प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, सञ्चारकर्मी, फेसन तथा सौन्दर्य क्षेत्रका प्रतिनिधि, सामाजिक व्यक्तित्व र शुभेच्छुकहरूको उपस्थिति रहने छ ।








