विद्यालयका शिक्षकहरू र कर्मचारीहरूको संयुक्त बैठक बोलाइएको थियो । पुराना पुराना चारखुट्टे टेबुल र प्लास्टिकका कुर्सीहरु जताततै फर्किएका थिए । टेबुलमा ठडिएका कोक र पेप्सीका बोतलहरुमा आधाआधा बासी पानी छचल्किरहेको थियो । भित्तामा झुण्डिएको भित्ते घडी गतिहीन थियो। कुन कुर्सीमा को बस्ने भन्ने कुनै नियम थिएन । प्रधानाध्यापक बस्ने कुर्सीमा प्रायः उनका सहायक प्रधानाध्यापक बस्ने गर्थे । यत्तिकैमा एउटा पुरानो डायरी हातमा बोकेर घोषित प्रधानाध्यापक हलभित्र प्रवेश गरे । उनी पुरानो बचेको एउटा काठको कुर्सीमा धुलो टक्टक्याएर बस्न खोजे । जताततै धुलो उड्रयो । सबैले नाक आफ्नो हातले थुने र आफ्नै हातले यता उता धुलो उडाए। सबैको ध्यान कार्यालय सहयोगीतर्फ केन्द्रित भयो । उनले कुनै प्रतिक्रिया जनाएनन् र अफिसको वातावरणमा पनि कुनै परिवर्तन आएन ।
बैठकको चलन सबैलाई थाहा थियो । बाहिर बाहिर व्यापक कुरा हुन्थे । भित्रभित्र सबै चुपचाप । बैठकको माइन्यूट प्रधानाध्यापकको गृहकार्य अन्तर्गत पर्दथ्यो । हरेक बैठकको ध्यान बाहिर धेरै कुरा नगर्ने र मिटिङमा आफ्ना कुरा स्पष्ट राख्ने निर्मल सरतिर केन्द्रित हुन्थ्यो । ‘खोइ त आजका वक्ता’ कसैको भनाई भुइमा खस्न नपाउँदै ढोकामा टुप्लुक्क निर्मल सर आइपुगे । कोही पनि बोलेनन् । केही समय उनी ढोकामै ठिङ्ग उभिरहे । मन मिल्ने मिल्नेहरु एक आपसमा सँगै बसेका थिए । निर्मल सर लाई बस्ने कुर्सी नभएपछि अप्ठ्यारो भएको कुरा प्रधानाध्यापकको अनुहारमा स्पष्टसँग झल्किन्थ्यो । आउनुन सर यतै मिलेर बसौ । उनले निर्मल सरलाई बैठकमा स्वागत गरे । बैठक कक्षमा अग्रासनमा बसेका कार्यालय सहायकले आफू बसेको ठाउँबाट उठेर रङको खाली बट्टा घोप्टो पारेर राखिदिएर । त्यहाँमाथि एउटा कागजको पाना राखिदिए । निर्मल सर त्यही दुईवटा घुँडामा हात च्यापेर टुसुक्क बसें ।
बैठक सुरु भयो । प्रधानाध्यापकले क्रमशः बैठकका प्रस्तावहरु राख्दै गए । उपस्थित सबैले आँखाको इशारा र शरीरको भाषाले स्वीकृतिको टाउको हल्लाए । किनकि बैठकका प्रस्ताव र निर्णयका बारेमा प्रायः सबैजना पूर्व जानकार नै थिए । घुमेर बोल्ने पालो आयो त्यही चिरपरिचित वक्ता निर्मल सरको । उनले आफ्नो विचार राख्न थाले । ‘वरिष्ठ प्रधानाध्यापक, उहाँभन्दा वरिष्ठ सहायक प्रधानाध्यापक,त्योभन्दा पनि वरिष्ठ अन्य उपस्थित शिक्षक साथीहरू, र झन वरिष्ठ कार्यालय सहयोगी र सहायक सम्पूर्ण साथीहरु । यति सम्बोधन पश्चात् सबैले पररर ताली बजाए। बोल्दै गरेका निर्मल सर केही समयका लागि टक्क रोकिए । अरु त सबै ठिकै छ । म्याडमलाई अली सन्चो छैन भन्ने सुनेको हो । कोरोना भाइरसको विश्वव्यापी आतंक त सबैलाई अवगत नै छ ।’ प्रधानाध्यापकसँग आँखा जुधाएर उनले भने ‘सरले पक्कै पनि सल्लाह गर्नु भएकै होला । प्रधानाध्यापक खासै बोलेनन् । समग्रमा सबै ठिकै छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । बोल्ने मौका दिनुभएकोमा पुनः एकपटक सबैजनालाई धन्यवाद ज्ञापन गर्दछु ।’ आजको बैठकमा निर्मल सरको प्रस्तुतिले सबैजना छक्क परे । एकापसमा सबैले मुखामुख गरे । किनभने आजको बैठक अनौठो भयो । ‘हुन्छ सबैलाई निकै हतार ैछ । अब आजको बैठक अन्त्य गरौ न त’ सहायक प्रधानाध्यापको सुरिलो आवाज टड्कारो सुनियो ।
‘‘सबैलाई धन्यवाद, आफ्नो व्यस्त समयको बाबजुद पनि मिटिङमा उपस्थित भएर यहाँहरुले शोभा बढाइ दिनुभयो। विशेषगरी निर्मल सरलाई धन्यवाद ज्ञापन गर्दछु । उहाँले व्यक्त गर्नुभएको चिन्ता, सुझाव र चासोका निम्ति कृतज्ञतासमेत ज्ञापन गर्दछु । उनको पिस्यार त नेगेटिभ नै आएको छ। तैपनि लक्षण मिलेकोले उनी एकान्तबास मै छिन कहिले कहिले प्रयोगशाला र डाक्टरले नै धोका दिन्छन् भन्ने उनको बुझाइ छ । अतः माइन्युट चाहिँ मैले नै लेखे । परामर्श भएकै छ खासै चिन्ता गर्नुपर्दैन । त्यतिकैमा आजको बैठक पनि सकिएको घोषणा गर्दछु ।”
अन्त्यमा, प्रधानाध्यापकले हलतिर आँखा घुमाए । हल् पूरै खाली भइसकेको थियो । प्लास्टिकका कुर्सी न हुन् सजिलै लड्छन् । उनले लडेका कुर्सीहरु उठाए । यतिकैमा उनले एउटा आवाज सुने,‘काका मलाई अहिले अलि हतार छ । म हिडि सके । ढोका तपाई आफै लगाएर आउनु । अहिले मलाई अलि हतार छ गएं है ।’ व्यस्त कार्यालय सहयोगीको स्वर उनले सजिलै ठम्याइहाले र एकोहोरो उभिरहे मूर्तिवत् ।