काठमाडौँ- गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई आवश्यक प्रक्रिया पुर्याइ वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ।

मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरी बुबा र आमाको नागरिकता प्रमाणपत्रको आधारमा नागरिकता प्रमाणपत्र पाऊँ भनी निवेदन दिएमा नागरिकता उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न पेश भएको विधेयक विगत लामो समयदेखि संघीय संसद्मा विचाराधीन अवस्थामा छ तर पनि सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई कानुन बमोजिम नागरिकता प्रमाणपत्र प्रदान गर्न आदेश दिएको थियो ।

त्यस्तो निर्देशन मङ्गलबार गृह मन्त्रिस्तरीय निर्णयले नेपालको संविधानको धारा ११ को उपधारा (३) को व्यवस्था बमोजिम जन्मको आधारमा नागरिकताप्राप्त नागरिकका सन्तानले बुबा र आमाको नागरिकता राखी निवेदन दिएमा आवश्यक प्रक्रिया अपनाई नागरिकता प्रदान गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले उमेर पुगेका नागरिक नागरिकताबाट वञ्चित हुँदा शैक्षिक तथा अन्य वृत्ति विकासमा समेत समस्या भएको भन्दै प्रशासनिक निर्णय गरेको जनाएको छ।

नेपाल नागरिकता ऐन २०६३, नागरिकता नियमावली २०६३ र नागरिकता कार्यविधि सम्बन्धी निर्देशिका २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनुपर्ने सम्पूर्ण कार्यविधि अपनाउन निर्देशन दिएको छ ।