बनेपा, भोटेकोशीमा विनाशकारी बाढी आएको १३ दिन पुग्दापनि क्षतिको विवरण एकिन हुन सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आइतबारसम्मको अद्यावधिक सूचना अनुसार सम्पर्कविहीनको संख्या अझै ४,९९६ रहेको छ ।
विपत्तिको आज तेह्रौं दिन, अझै पनि बेपत्ताहरूको खोजी र उद्धारको काम जारी छ । यो घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्कबाहिर छन् भन्ने एकीकृत विवरण अझै संकलन भइसकेको छैन । हालसम्म फेला परेका शवको संख्या ः १,३४१ रहेको छ । हालसम्म उद्धार गरिएको संख्या ः १३,१०४, हालसम्म घाइते संख्या ः ६,०७५, सनाखत भई बुझिलिएको शव संख्या ः ९८, हालसम्म परिचालित सुरक्षाकर्मीको संख्या ः २१,४६५,होल्डिङ सेन्टरमा रहेकाहरूको संख्या ः ३,६५२ र प्रारम्भिक क्षति अनुमान ः ३ खर्ब ८७ अर्ब ५४ करोड रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ । त्यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा राम्रो सहयोग संकलन भएको भएपनि वितरण भने पिडितसम्म पुग्नेगरी हुन सकेको छैन ।यता बाढीपीडितलाई वितरण गर्न ठिक पारिएका राहत सामग्रीमा गम्भीर लापरबाही फेला परेको छ । विपद्मा परेकालाई सहयोग स्वरूप पठाउन लागिएका चामल, आटा, भुजा, चिप्स लगायत खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका छन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंको संयुक्त अनुगमन टोलीले काठमाडौंका विभिन्न पाँच वटा भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षण क्रममा यस्तो तथ्य बाहिर आएको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम गरिएको उक्त अनुगमनले सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मको भण्डारणमा म्याद सकिएका सामग्री फेला पारेको छ । अनुगमन टोलीले विशेषगरी बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा भण्डारण गरिएका राहत सामग्रीमा कैफियत भेटेको हो ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार राहत संकलन र प्याकेजिङ भइरहेका यी स्थानमा म्याद सकिएका वस्तुलाई अन्य असल सामग्रीसँगै वितरणका लागि तयारी अवस्थामा राखिएको थियो । बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा राहतका लागि प्याकिङ गर्न ठिक पारिएका सामग्रीमध्ये यशोदा फुड्स प्रालि (रुपन्देही) को ‘करेन्ट चिप्स’ र गिरिधारी फुड प्रडक्ट (बुटवल) को ‘भुजा’ म्याद सकिएको अवस्थामा फेला परेको छ ।
अनुगमन टोलीले ३० थान करेन्ट चिप्स र २१ बोरा भुजा वितरणमा रोक लगाउँदै छुट्टै ‘एक्स्पायर्ड जोन’ मा राखेर कारबाही अघि बढाएको छ । यसैगरी सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा भण्डारण गरिएका सामग्रीमध्ये दुई प्याकेट (१८ पिस) चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद सकिएको अवस्थामा फेला परेको छ । सोही स्थानमा राखिएको ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन जम्मा दुई दिनमात्र बाँकी रहेको पाइएको थियो । राहतजस्तो संवेदनशील र मानवीय कार्यमा म्याद गुज्रेका सामग्री पठाउँदा पहिले नै मारमा परेका विपन्न र पीडित नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले विभागले कारबाही अगाडि बढाएको जनाएको छ ।








