जिन्दगीका हर मोडमा अभाव र कठिनाइहरू तेर्सिए पनि आफ्नो बाल्यकालको सपनालाई मर्न नदिने विरलै पात्रमध्ये पर्छन्, बाग्लुङबाट काठमाडौँ आएका बहुआयामिक कलाकार तथा स्रष्टा अलोन रेशम । सपनाको सहर काठमाडौँमा रहरले मात्र नभई कडा परिश्रम, पसिना र अथक संघर्षले आफ्नो छुट्टै पहिचान बनाउँदै गरेका उनी आज सयौँ युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन ।
बाग्लुङदेखि काठमाडौँसम्मको कठिन यात्रा
बाग्लुङको माटोमा हुर्किएर कलाकार बन्ने र सुनौला सपनाहरू सजाउने उद्देश्य बोक्दै अलोन रेशम वि.सं. २०७३÷७४ सालतिर राजधानी भित्रिएका थिए । गोजीमा ठूलो धनसम्पत्ति थिएन, तर मनमा अगाध आँट र केही गरेर देखाउने हुटहुटी थियो । काठमाडौँले उनलाई सुरुमै सजिलै स्वीकार गरेन, बल्कि जीवनका कठिन परीक्षा लिन थाल्यो ।
रातभरि गिटी, दिनभरि सुटिङः जिन्दगी बचाउने रहर र संघर्ष
राजधानीमा टिक्न र कलालाई जीवन्त राख्न उनले गरेका संघर्षका दिनहरू शब्दमा बयान गर्नै गाह्रो छ । उनी घर बनाउने काम (इँटाको वाल लगाउने), ज्यामी मजदुरी गर्ने र इनार बनाउने काम गर्थे । उनको दिनचर्या यति कठोर थियो कि उनी रातभरि न्युरोडमा गिटी बोक्ने मजदुरी गर्दथे अनि त्यही थकित शरीर लिएर दिनभरि सुटिङमा पुग्थे । मजदुरीले उनका हातहरूमा ठेला उठेका थिए, सिमेन्टले खाएर खुट्टामा प्वाल परेका थिए, र हात–खुट्टा सबै फुस्रा भएका थिन्थे। एकातिर कलाकार बन्न ’सुकिलो ज्यान’ र आकर्षक रूप आवश्यक पर्ने उद्योग, अर्कोतिर पेट पाल्न रहर मार्न नचाहने एउटा जिद्दी मन— उनले यी दुईबीचको खाडललाई आफ्नै पसिनाले पुरे । कोठामा खानेकुरा नभएर कयै दिनसम्म भोकै बसेका कहालीलाग्दा दिनहरू पनि उनले झेलेका छन । तर, यी सबै शारीरिक र मानसिक पीडा तथा दुःख–दर्दहरूलाई भित्रै लुकाएर उनी सधैँ ओठमा मुस्कानसहित सबैकासामू उभिए, काम गरे र निरन्तर अगाडि बढिरहे । परिस्थितिले उनलाई भारी बोकायो, शरीरमा घाउ र ठेलाहरू बनायो, तर उनको जिन्दगीको लक्ष्य सधैँ कला नै रह्यो। भोकै बसेर पनि उनिले सपनासँग कहिल्यै सम्झौता गरेनन् अलोन आफ्नो विगत सम्झँदै भावुक हुन्छन ।
एक दशक लामो निरन्तरता र सांगीतिक सिर्जनाहरू
विगत ९–१० वर्षदेखि काठमाडौँलाई कर्मथलो बनाएर निरन्तर संघर्षरत अलोन रेशम हाल निरन्तर रूपमा गीतकार तथा निर्देशकको रूपमा सक्रिय रहँदै आएका छन । उनले थुप्रै लोकप्रिय म्युजिक भिडियोहरूमा अभिनय गर्नुका साथै दर्जनौँ गीतहरू लेखेर निर्देशन गरिसकेका छन् ।
उनको कला, संघर्ष र भोगाइको प्रतिविम्ब उनका सिर्जनाहरूमा स्पष्ट झल्किन्छ । उनका “मलाई मारिदेऊ“, “आँसुको मूल्य“, “यस्तो पो होस् माया“, र “भइगो अब म जिउँदिन“ जस्ता चर्चित गीतहरूले दर्शकको मन जितेका छन । पछिल्लो समय उनको बहुप्रतिक्षित नयाँ सांगीतिक कोसेली “मलाई मारिदेऊ २“ बजारमा आएको छ, जसमा चर्चित गायिका एलिना चौहानको मर्मस्पर्शी स्वर रहेको छ भने यसको शब्द, कथा तथा निर्देशन स्वयं अलोन रेशमको रहेको छ भने पुरु भण्डारि र सदिक्षा पाण्डे को अभिनय रहेको छ । यो सांगीतिक कृतिले अहिले स्रोता तथा दर्शकबाट व्यापक तारिफ र माया पाइरहेको छ ।
प्रेरणाको अर्को नाम
शून्यबाट, अझ भनौँ भोकमरी र शारीरिक पीडाका खाडलबाट उठेर आज कला क्षेत्रमा आफ्नै बलबुटामा यहाँसम्म आइपुग्नु सामान्य उपलब्धि होइन । अलोन रेशमका पाइलाहरूले आज धेरै नवसङ्गीतकर्मी तथा संघर्षरत युवाहरूलाई यो गतिलो पाठ सिकाइरहेका छन–“सपना देख्न हिम्मत चाहिन्छ र ती सपना पूरा गर्न जस्तोसुकै काँडा पन्छाउने अठोट चाहिन्छ ।“ अभाव र दुःखका पहाडहरूलाई आफ्नो कलाको इन्धन बनाउने अलोन रेशमको यो संघर्षगाथा साँच्चै नै हरेक नेपालीका लागि एउटा ज्वलंत प्रेरणा हो ।








