हामी सबैले उद्योग सञ्चालन गर्ने भइसकेपछि बौद्धिक सम्पत्तिको बारेमा जानकारी राख्नै पर्छ। बौद्धिक सम्पत्ति भनेको मानिसको सिर्जना, ज्ञान, आविष्कार, पहिचान र मौलिक सोचबाट सिर्जित अमूर्त सम्पत्ति हो। यसको एउटा महत्वपूर्ण पक्ष औद्योगिक सम्पत्ति हो। जस अन्तर्गत पेटेन्ट, ट्रेडमार्क, औद्योगिक डिजाइन, व्यापारिक गोपनीयता, भौगोलिक संकेतलगायतका विषय पर्दछन्। मेरो बुझाइमा उद्योग व्यवसायको सम्पत्ति भनेको केवल भवन, मेसिन, जग्गा, कच्चा पदार्थ वा बैंक खातामा रहेको पूँजी मात्र होइन, वर्षौंको मेहनतबाट निर्माण भएको ब्राण्ड, उत्पादनको पहिचान, प्रविधि, सूत्र, डिजाइन र बजारमा बनाएको विश्वास पनि उत्तिकै महत्वपूर्ण सम्पत्ति हो। आजको प्रतिस्पर्धात्मक बजारमा कुनै उद्योगको वास्तविक मूल्यांकन गर्दा उसको भौतिक सम्पत्तिसँगै यस्ता अमूर्त सम्पत्तिको मूल्य पनि उत्तिकै महत्त्वका साथ हेर्नुपर्ने अवस्था छ। त्यसैले औद्योगिक सम्पत्तिको संरक्षणलाई उद्योग व्यवसायको दीर्घकालीन लगानी र सुरक्षासँग जोडेर हेर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा हो।
नेपालको अवस्था र सरोकारवालाको जिम्मेवारी
औद्योगिक सम्पत्तिमा उद्योगी व्यवसायीहरूको भावना अनुसार हाल काम हुन सकिरहेको छैन। उनीहरुको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा अझै धेरै काम गर्न बाँकी छ। यसको एउटा प्रमुख कारण नेपालको औद्योगिक सम्पत्ति सम्बन्धी कानुनी संरचना अत्यन्तै पुरानो हुनु नै हो। नेपालको विद्यमान पेटेन्ट, डिजाइन तथा ट्रेडमार्कसम्बन्धी कानुन सन् १९६५ को हो। जबकि आजको व्यवसाय डिजिटल प्रविधि, नयाँ आविष्कार, ग्लोबल ब्राण्ड, ई–कमर्स र व्यापारिक गोपनीयताको युगमा प्रवेश गरिसकेको छ।
अर्को कमजोरी उद्योगी व्यवसायी स्वयंमा पनि उत्तिकै छ। धेरै व्यवसायीले उद्योग सञ्चालन, उत्पादन र बजार विस्तारलाई प्राथमिकता दिन्छन् । तर आफ्नो ब्राण्ड, ट्रेडमार्क, डिजाइन वा प्रविधिको कानुनी सुरक्षा समयमै गर्नुपर्छ भन्ने कुरालाई प्राथमिकतामा नै राखेको देखिँदैन। राज्यको तर्फबाट जनचेतनाका साथै दर्ता प्रक्रिया, जनशक्ति, अनुसन्धान, अनुगमन, विवाद समाधान र कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ। त्यसैले यो केवल सरकारको मात्र कमजोरी वा निजी क्षेत्रको मात्र कमजोरी होइन। हामी सबै सरोकारवाला पक्षमा चेतना, क्षमता र प्राथमिकताको कमी देखिन्छ। उद्योग विभागले अहिले औद्योगिक सम्पत्ति सम्बन्धी सचेतना तथा अन्तरक्रियाका कार्यक्रमसमेत समय समयमा अघि बढाइरहेको देखिन्छ । यो कुरालाई हामीले सकारात्मक रूपमा लिनुपर्छ।
ब्राण्ड निर्माणसँगै औद्योगिक सम्पत्तिको संरक्षण
उद्योग व्यवसायको सन्दर्भमा हेर्दा ब्राण्ड निर्माणलाई केवल बजारमा उत्पादन बेच्ने विषयका रूपमा नभई लामो समयसम्म कायम राख्नुपर्ने व्यावसायिक पहिचानका रूपमा लिनुपर्छ। विशेषगरी ट्रेडमार्क, लोगो, उत्पादनको नाम, प्याकेजिङ, लेबलिङ, उत्पादनको गुणस्तर र उपभोक्तासँग जोडिएको विश्वासलाई ब्राण्डको महत्वपूर्ण हिस्सा मानेर अगाडि बढेका छौँ।
डेरी उद्योगको सन्दर्भमा उत्पादनको मौलिकता र गुणस्तर जोगाउनु जति महत्वपूर्ण छ । उत्पादनसँग जोडिएको नाम, चिन्ह, प्याकेजिङ र बजारमा निर्माण भएको प्रतिष्ठा जोगाउनु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले सम्बन्धित ट्रेडमार्क तथा अन्य औद्योगिक सम्पत्तिको कानुनी दर्ता, नवीकरण, ब्राण्डको एकरूपता, उत्पादनको गुणस्तर कायम गर्ने प्रणाली र व्यापारिक रूपमा संवेदनशील सूचना तथा प्रक्रियाको गोपनीयता कायम गर्ने विषयलाई क्रमश संस्थागत गर्दै लैजानुपर्ने आवश्यकता रहेको छ ।
ब्राण्ड निर्माण भनेको विज्ञापन गरेर मात्र हुने कुरा होइन। यसलाई वर्षौँसम्म एउटै गुणस्तर, विश्वसनीयता र मौलिक पहिचान कायम राखेर निर्माण हुने सम्पत्तिका रूपमा बुझ्नुपर्छ।
राज्य र निजी क्षेत्रको साझा भूमिका
औद्योगिक सम्पत्तिको संरक्षणका लागि राज्य र निजी क्षेत्र दुवैले आफ्नो भूमिका स्पष्ट रूपमा निर्वाह गर्नुपर्छ। राज्यले सबैभन्दा पहिले समय अनुकूल र अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने बौद्धिक सम्पत्तिसम्बन्धी एकीकृत कानुनी व्यवस्था ल्याउनुपर्छ। दर्ता प्रक्रिया सरल, छिटो र डिजिटल बनाउनुपर्छ। उद्योगी व्यवसायीलाई सचेतना तथा प्राविधिक सहयोग दिनुपर्छ र नक्कली उत्पादन, ब्राण्डको दुरुपयोग तथा बौद्धिक सम्पत्तिको चोरीविरुद्ध प्रभावकारी अनुगमन र कानुनी कारबाही हुनुपर्छ।
नेपालले ध्त्इ को त्च्क्ष्एक् सम्झौता, एबचष्क ऋयलखभलतष्यल लगायतका अन्तर्राष्ट्रिय व्यवस्थासँग आबद्धता राखेको अवस्थामा त्यस अनुकूल राष्ट्रिय प्रणालीलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता छ। निजी क्षेत्रले पनि आफ्नो ब्राण्ड, प्रविधि, डिजाइन, उत्पादनको सूत्र र व्यापारिक गोपनीयतालाई सम्पत्तिका रूपमा बुझेर समयमै दर्ता र संरक्षण गर्नुपर्छ। उद्योगी व्यवसायीका छाता संगठनहरूले आफ्ना सदस्यलाई बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी प्रशिक्षण, कानुनी परामर्श र सहयोग उपलब्ध गराउनुपर्छ।
राज्यले कानुनी सुरक्षा, नीति र कार्यान्वयनको जिम्मेवारी लिनुपर्छ भने निजी क्षेत्रले आफ्नो सिर्जना, ब्राण्ड र प्रविधिको संरक्षणमा लगानी गर्नुपर्छ। यसरी दुवै पक्षबीच सहकार्य भयो भने मात्र नेपालमा नवप्रवर्तन, स्वदेशी ब्राण्ड र प्रतिस्पर्धात्मक उद्योगको विकास सम्भव हुन्छ।
अब ब्राण्ड बनाउने मात्र होइन, अधिकार पनि सुरक्षित गर्ने समय
समग्रमा हेर्दा नेपालमा औद्योगिक सम्पत्तिको संरक्षणलाई अब कानुनी दर्ताको विषय मात्र नभई उद्योगको सम्पत्ति, लगानीको सुरक्षा, राष्ट्रिय ब्राण्ड निर्माण र आर्थिक विकासको आधारका रूपमा लिनुपर्छ। आज एउटा नेपाली उद्योगले आफ्नो ब्राण्ड निर्माण गर्छ। तर त्यसको नक्कल अर्कोले गरेर बजारमा बेचिदिन्छ भने उद्योगीको वर्षौँको लगानी र सिर्जनशीलता दुवै कमजोर हुन्छन्।
त्यसैले “ब्राण्ड बनाउने मात्र होइन, ब्राण्डको अधिकार पनि सुरक्षित गर्ने” संस्कार निजी क्षेत्रमा विकास गर्नु र त्यसको सुरक्षाको भरपर्दो वातावरण राज्यले बनाउनु आजको आवश्यकता हो। नेपालको औद्योगिक क्षेत्रलाई प्रतिस्पर्धी, सिर्जनशील र आत्मनिर्भर बनाउने हो भने उद्योगीले आफ्नो बौद्धिक तथा औद्योगिक सम्पत्तिको मूल्य बुझ्नुपर्छ र राज्यले त्यसको संरक्षणका लागि बलियो कानुनी तथा संस्थागत आधार तयार गर्नुपर्छ। यही सहकार्यबाट मात्र नेपाली उद्योगका ब्राण्ड, प्रविधि, सिर्जना र वर्षौँको मेहनतलाई सुरक्षित गर्दै विश्व बजारमा सम्मानजनक रूपमा अगाडि बढाउन सकिन्छ ।








