बनेपा-६, बुडोलमा रहेको पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मधुसूदन पन्तको अध्यक्षता र बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा १९ औँ साधारण सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै उपप्रमुख सापकोटाले सहकारी संस्थाहरूले नागरिकको आयआर्जन र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै सबै सहकारीले सदस्यकेन्द्रित कार्य गरेमा समस्या नआउने बताईन । संस्थाका अध्यक्ष मधुसूदन पन्तले संस्थाले मुटु, मिर्गाैला, क्यान्सरलगायतका रोगबाट पीडित सदस्यलाई राहत, सुत्केरी राहत, जेहेन्दार विद्यार्थी सम्मान, बाल बचत प्रोत्साहन, ज्येष्ठ सदस्य सम्मान, मृत्यु कार्यमा काजकिरिया खर्च प्रदान, उत्कृष्ट कर्जा सदस्य सम्मान, सदस्यलाई रासायनिक मल बितरणलगायत कार्य गर्ने गरेको बताए ।
आर्थिक वर्ष २०८२÷२०८३ मा संस्थामा १ हजार ३१२ जना सदस्य रहेका छन । संस्थाको शेयर पुँजी १३ करोड ६१ लाख ५० हजार रुपैयाँ, कुल निक्षेप ९ करोड २२ लाख ९ हजार रुपैयाँ र कर्जा लगानी ६ करोड ४९ लाख ८७ हजार रुपैयाँ रहेको छ । संस्थाको कुल वासलात १२ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । साधारण सभाका अवसरमा संस्थाले जेहेन्दार विद्यार्थी, कर्मचारी, ज्येष्ठ सदस्य खगेन्द्रकुमारी पन्त र बालकृष्ण श्रेष्ठलगायत उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान गरेको थियो । संस्थागत र सामुदायिक विद्यालयका दुई–दुई जना गरी चार जना जेहेन्दार विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।
उपाध्यक्ष आनन्द दाहालले स्वागत, सचिव यादवप्रसाद सिटौलाले प्रगती प्रतिवेदन, कोषाध्यक्ष नवराज तिमल्सिनाले आर्थिक प्रतिवेदन र तथा लेखा सुपरिवेक्षण समितिका संयोजक हरिचन्द्र भण्डारीले लेखा सुपरिवेक्षण प्रतिवेदन पेश गरेका थिए । पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना ब्यक्त गरेको कार्यक्रममा सहकारीका सदस्यहरू ज्ञानी सापकोटा, अप्सरा दाहाल र नारायणी शर्माले सहकारी गित प्रस्तुत गरेका थिए ।