२०८३ भाद्र १० गते रसुवामा आएको विनाशकारी बाढीले धेरै परिवारको जीवन उजाड्यो । धेरै मानिसहरू बाढीमा परी बेपत्ता भए—तर विडम्बना, धेरैको न सास भेटियो, न लास । आफन्तहरू दिनरात खोजिरहे, आशा बोकेर बाटो हेरिरहे, तर अन्ततः प्रकृतिसँगको त्यो संघर्षमा धेरै श्रमिक परिवार निरीह बन्न बाध्य भए ।
यही श्रमिक हरु मध्य मेरा छिमेकी तथा मित्र पनि पर्नुभएको थियो । उहाँको खोजीका लागि सक्दो सबै शक्ति लगाइयो । सम्भावित ठाउँहरूमा खोज्यौँ, आशा मरेको थिएन । तर समय बित्दै गयो, केही पत्ता लागेन । अन्ततः परिवार यस्तो निर्णय लिन बाध्य भयो, जुन निर्णय लिन कुनै पनि परिवारले कहिल्यै नपरोस । कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्नु पर्दाको बाध्यता मा २०८३ भाद्र २७ गते बिहान हामी सबै मलामी भएर पशुपति आर्यघाट पुग्यौँ । त्यहाँ पुगेपछि आवश्यक प्रशासनिक प्रक्रिया बुझ्यौँ । त्यसपछि आफैँले गर्नुपर्ने भयो । गुरुको भनाई अनुसार कुशको शव बनाउन थाल्यौँ । त्यो क्षण शब्दमा बयान गर्न निकै कठिन छ । जसलाई वर्षौँदेखि चिनियो, जससँग छिमेकी र मित्रको सम्बन्ध थियो, उहाँको वास्तविक शरीरसमेत हेर्न नपाई आफैँले एउटा प्रतीकात्मक शरीर बनाउनुपर्ने अवस्था थियो–पीडामाथि अर्को पीडा थपिएको थियो ।
कुशलाई मिलाउँदै शरीरको स्वरूप बनाउन थाल्यौँ । हात, खुट्टा र शरीरका विभिन्न अंगको आकार दिँदै गयौँ । त्यसपछि कपडाले बेर्दै, बाहिरी शरीरको स्वरूप मिलाउँदै एउटा मानव शरीरको प्रतीक तयार ग¥यौँ । हेर्दाहेर्दै त्यो कुशको संरचना एउटा शवजस्तै देखिन थाल्यो । फूलमालाले सजाइयो, कपडाले बेरियो र अन्तिम संस्कारका लागि खटमा राखियो । त्यो बनाउँदै गर्दा मनभित्र एउटै प्रश्न घुमिरह्यो—मानिसको अन्तिम बिदाइमा उसको शरीर नै साथमा नहुनु कति ठूलो पीडा होला?
आफ्नै हातले शवको स्वरूप बनाउनु प¥यो । आफैँले खटमा राख्नु प¥यो । तर त्यो शरीर उहाँको वास्तविक शरीर थिएन । त्यो त परिवारको वर्षौँको सम्बन्ध, सम्झना र अन्तिम श्रद्धाको एउटा प्रतीक मात्र थियो । ब्रह्मनाल हुँदै आवश्यक धार्मिक विधि पूरा ग¥यौँ । अन्ततः मलामीसहित पशुपति क्षेत्रमा रहेको वनतर्फ लगेर विधिअनुसार त्यसलाई गाड्यौँ । त्यो दिन हामीले एउटा कुशको शरीर मात्र गाडेका थिएनौँ । एक परिवारको अन्तिम आशा, प्रतीक्षा र नफर्किने पीडालाई पनि त्यहीँ गाडेर फर्किन बाध्य भयौ । न अन्तिमपटक अनुहार हेर्न पाइयो, न वास्तविक शरीरलाई काँध दिन पाइयो, न अन्तिम पटक परिवारले छुन पाए । बाढीले शरीर मात्र बेपत्ता पारेन, एउटा श्रमिक परिवारको जीवनभर रहने एउटा ठूलो घाउ पनि छोडेर गयो ।
बेपत्ता हुनुको पीडा सायद मृत्युको पीडाभन्दा पनि फरक र झन् कठोर हुन्छ—किनकि मृत्युमा अन्तिम सत्य स्वीकार गर्न सकिन्छ, तर बेपत्तामा आशा र पीडाको बीचमा जीवन बिताउनुपर्छ । यो मेरो छिमेकी मित्रको मात्र कथा होइन, २०८३ भाद्र १० गतेको रसुवा बाढीले आफ्ना प्रियजन गुमाएका र आजसम्म न सास न लासको अवस्थाबाट गुज्रिरहेका धेरै श्रमिक परिवारको साझा पीडा हो । भगवानले दिवंगत आत्मालाई शान्ति प्रदान गरून । परिवारजनलाई यो असह्य पीडा सहने शक्ति प्रदान गरून ।