हरितालिका तीज नेपाली हिन्दू महिलाहरूको महत्वपूर्ण धार्मिक, सामाजिक र सांस्कृतिक पर्व हो। यो केवल व्रत बस्ने र नाचगान गर्ने पर्व मात्र होइन । नेपाली समाजको पारिवारिक सम्बन्ध, माइती चेलीको आत्मीयता, महिला मनका सुख–दुःख र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कारको जीवन्त अभिव्यक्ति पनि हो । त्यसैले तीजलाई एउटा धार्मिक पर्वका रूपमा मात्र होइन, नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानका रूपमा बुझ्न आवश्यक छ ।
तीजको शुरुवात यही समय वा यही स्थानबाट भयो भन्ने ठ्याक्कै ऐतिहासिक मिति निर्धारण गर्न कठिन छ। तर यसको धार्मिक र सांस्कृतिक परम्परा प्राचीन कालदेखि भारतवर्ष, विशेषगरी नेपाल र उत्तर भारतमा प्रचलित रहेको पाइन्छ । नेपालमा भने तीजले आफ्नै मौलिक स्वरूप र सामाजिक पहिचान निर्माण गरेको छ । नेपाली महिलाको जीवन, भावना, पीडा, खुसी, सम्बन्ध र सामाजिक अवस्थालाई तीजका गीत, परम्परा र संस्कारले पुस्तौँदेखि अभिव्यक्त गर्दै आएका छन । धार्मिक मान्यताअनुसार हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको कठोर तपस्या र व्रतसँग हरितालिका तीज जोडिएको छ। पार्वतीले शिवलाई पति पाउने आफ्नो संकल्प पूरा भएको दिनको स्मरणमा तीज मनाउने परम्परा बसेको विश्वास गरिन्छ। यही धार्मिक आस्थाका आधारमा विवाहित महिलाले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य र पारिवारिक सुख शान्तिको कामना गर्दै तथा अविवाहित महिलाले सुयोग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने परम्परा रहँदै आएको छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजको अघिल्लो दिन दर खाने चलन छ । त्यसपछि व्रत, पूजा, शिव मन्दिर दर्शन, नाचगान र गीत संगीत हुँदै पर्व अघि बढ्छ । तीजपछिको ऋषिपञ्चमी पनि यसको महत्वपूर्ण पक्ष हो । दतिवन, स्नान तथा ऋषिहरूको पूजासँग जोडिएको यो परम्परा शारीरिक तथा मानसिक शुद्धता र आत्मअनुशासनको प्रतीकका रूपमा लिइन्छ ।
तीजको सबैभन्दा ठूलो शक्ति यसको सामाजिक पक्षमा छ। नेपाल कृषिप्रधान समाज भएकाले खेतीपातीको मुख्य काम सकेर केही फुर्सदको समयमा तीज मनाउने परम्परा विकास भएको देखिन्छ । विवाहपछि टाढा पुगेका छोरीचेलीलाई माइतीले बोलाउने, दाजुभाइ लिन जाने, दिदीबहिनी भेटघाट गर्ने र वर्षभरिका सुख–दुःख साटासाट गर्ने अवसरका रूपमा तीजले विशेष स्थान बनाएको छ। घरपरिवार र समाजमा आफ्नो मनका कुरा खुलेर राख्न नपाएका महिलाले गीतमार्फत आफ्ना पीडा, गुनासा र भावनाहरू व्यक्त गर्ने अवसर पनि यही पर्वले दिएको थियो ।
पुराना तीज गीतहरूमा महिलाका वास्तविक जीवनका कथा भेटिन्छन । सासू बुहारीका सम्बन्ध, माइतीको सम्झना, श्रीमानको व्यवहार, छोराछोरीबीचको विभेद, गरिबी, सामाजिक अन्याय र महिलाका पीडा गीतका विषय बन्थे। त्यसैले तीजका गीत केवल मनोरञ्जन थिएनन् । ती तत्कालीन नेपाली समाजको मौखिक इतिहास पनि थिए। महिलाले गीतमार्फत आफ्नो आवाज समाजसम्म पु¥याउने एउटा माध्यम तीज पर्व बनेको थियो । समय परिवर्तनसँगै तीज मनाउने शैली पनि परिवर्तन भएको छ । परिवर्तन आफैँमा नराम्रो होइन । आजका महिला शिक्षित, आत्मनिर्भर र सामाजिक रूपमा सचेत छन । तीजमा उनीहरूले आफ्नो खुसी, स्वतन्त्रता र सामाजिक सम्बन्धलाई नयाँ ढंगले अभिव्यक्त गर्नु स्वाभाविक हो। तर आधुनिकताको नाममा मौलिकता नै गुमाउने अवस्था आउनु भने चिन्ताको विषय हो ।
आज तीज आउनुभन्दा एक दुई महिनाअघिदेखि नै विभिन्न ठाउँमा भोजभतेर, पार्टी, महँगा होटलका कार्यक्रम, अत्यधिक खर्च र देखासिकी सुरु हुने गरेको छ। तीजको वास्तविक दिनभन्दा पहिले नै लामो समयसम्म चल्ने यस्ता कार्यक्रमले पर्वलाई उत्सवभन्दा बढी प्रदर्शनको माध्यम बनाउँदै गएको अनुभूति हुन थालेको छ। कसले महँगो साडी लगायो, कसले कति गरगहना लगायो, कहाँ ठूलो पार्टी भयो र कसले कति खर्च ग¥यो भन्ने प्रतिस्पर्धाले तीजको आत्मीयतालाई विस्तारै ओझेलमा पारिरहेको छ ।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारमा यसको असर अझ गम्भीर हुन सक्छ । अरूले गरेको देखासिकी गर्नुपर्ने सामाजिक दबाबले अनावश्यक खर्च बढाउँछ । कतिपय ठाउँमा माइतीबाट छोरीको घरमा दर पठाउने नाममा महँगा कपडा, गरगहना, जुत्ता, शृंगारका सामग्री र अनेकौँ परिकार पठाउनुपर्ने चलन बढ्दै गएको छ। प्रेम र आत्मीयताको प्रतीक हुनुपर्ने दर कतै आर्थिक बोझ र सामाजिक प्रतिस्पर्धाको विषय बन्न थालेको छ। धेरै ल्याउनेको सम्मान र कम ल्याउनेको मूल्याङ्कन गर्ने प्रवृत्तिले हाम्रो सम्बन्ध र संस्कारलाई नै कमजोर बनाउँछ । त्यसैगरी तीजका नाममा मदिरा सेवन, अनावश्यक तडकभडक र अस्वस्थ प्रतिस्पर्धा बढ्दै जानु पनि चिन्ताको विषय हो। मनोरञ्जन आवश्यक छ, स्वतन्त्रता पनि आवश्यक छ । तर स्वतन्त्रता र उच्छृंखलता एउटै कुरा होइनन्। आधुनिकता भनेको आफ्नो संस्कार, मर्यादा र पहिचान बिर्सनु पनि होइन ।
हामीले तीजलाई परिवर्तनको विरोध गरेर होइन, सही दिशामा परिवर्तन गरेर जोगाउनुपर्छ । व्रत बस्ने वा नबस्ने व्यक्तिगत आस्था र स्वतन्त्रताको विषय हुन सक्छ। तर तीजले बोकेको आत्मीयता, माइती चेलीको सम्बन्ध, दिदीबहिनीको भेटघाट, दुःख–सुख साट्ने परम्परा, मौलिक गीत संगीत र सामाजिक सद्भावलाई भने जोगाउनैपर्छ । तीजको सुन्दरता महँगा पहिरनमा होइन, आत्मीयतामा छ । ठूलो भोजमा होइन, एकअर्कासँग बाँडिएको खुसीमा छ। गरगहनाको प्रदर्शनमा होइन, सम्बन्धको गहिराइमा छ । होटल र पार्टीमा मात्र होइन, गाउँघरको आँगनमा गुञ्जिने मौलिक तीज गीतमा पनि यसको वास्तविक सौन्दर्य छ ।
आजको पुस्ताले तीजलाई नयाँ पुस्तासम्म पु¥याउने जिम्मेवारी पनि बोकेको छ । त्यसैले हामीले हाम्रा छोरी, बुहारी र नातिनीहरूलाई तीजको अर्थ केवल नयाँ कपडा लगाउने, भोज खाने र नाच्ने पर्वका रूपमा होइन, हाम्रो इतिहास, संस्कृति र सम्बन्धसँग जोडिएको पर्वका रूपमा बुझाउनुपर्छ । तीजलाई समय अनुकूल बनाऔँ । तर यसको आत्मा नमरौँ। संस्कार जोगाऔँ, विकृति हटाऔँ। खुसी मनाऔँ । अनावश्यक देखासिकी नगरौँ। भोज गरौँ, तर प्रतिस्पर्धा नगरौँ। गीत गाऔँ, नाचौँ, रमाऔँ, तर हाम्रो मौलिकता कहिल्यै नबिर्सौँ ।
तीज महिलाको मात्र पर्व होइन । यो परिवार, सम्बन्ध र समाज जोड्ने नेपाली संस्कृतिको एउटा महत्वपूर्ण धरोहर हो । यसको संरक्षण केवल पुरानो परम्परा जोगाउनु मात्र होइन । हाम्रा भावी पुस्तालाई आफ्नो धर्म, संस्कृति, परम्परा र पहिचान हस्तान्तरण गर्नु पनि हो । तीजको वास्तविक सौन्दर्य तडकभडकमा होइन, आत्मीयतामा छ। यसको शक्ति प्रदर्शनमा होइन, सम्बन्धमा छ। त्यसैले तीजलाई भड्किलो होइन, सभ्य बनाऔँ; खर्चिलो होइन, आत्मीय बनाऔँ, देखासिकीको होइन, संस्कार र संस्कृतिको पर्व बनाऔँ ।