बनेपा, एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस भदौ २३ गते आफ्नै कार्यालय भवनमा मनाएको छ ।
संस्थाका अध्यक्ष ईश्वर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । सचिव प्रमेश कुमार वैद्यद्वारा सञ्चालित कार्यक्रममा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराइएको थियो । एकीकरणपछिको पहिलो साधारणसभा भएकाले यस वर्ष निर्वाचनसमेत गरिएको थियो । अधिवक्ता तथा निर्वाचन समितिका संयोजक कमल प्रसाद तिमल्सिनाको संयोजकत्वमा सम्पन्न निर्वाचनबाट ईश्वर केसीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । जसको उपाध्यक्षमा शर्मिला तिमल्सिना, सचिवमा इन्द्र कुमार थापा, कोषाध्यक्षमा प्रेम कुमार लामा तथा सदस्यहरूमा प्रमेश कुमार वैद्य, दिपेश लम्साल र उदय प्रकाश गिरी निर्वाचित भएका छन । त्यस्तै, पशुपति लामाको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि निर्विरोध निर्वाचित भएको छ । समितिको सदस्यमा पुजन श्रेष्ठ र सत्यमान लामा रहेका छन ।
निवर्तमान सचिव उद्धव प्रसाद तिमल्सिनाले नव निर्वाचित नेतृत्वलाई शुभकामना दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । नव निर्वाचित अध्यक्ष ईश्वर केसीले आगामी दिनमा ऐन, नियम तथा विनियमको परिधिभित्र रहेर संस्थालाई थप प्रभावकारी, स्तरीय र दिगो सहकारीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले प्रविधिको बढ्दो प्रयोगसँगै संस्था, सदस्य, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सञ्चारकर्मीहरूले आफ्ना गतिविधिलाई संयमित र सकारात्मक ढंगले अघि बढाउनुपर्नेमा जोड दिए । स्थानीय सदस्यहरूको विश्वास र सद्भावमा आधारित सरल, सबल र सुरक्षित सहकारी संस्थाका रूपमा स्थापित गर्न सदस्यहरूको योगदान महत्वपूर्ण रहेको भन्दै सम्पूर्ण सदस्यप्रति कृतज्ञता व्यक्त गरेका थिए । संस्थामा आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्म कुल सम्पत्ति तथा दायित्व १७ करोड ७३ लाख ९९ हजार ८२८ रुपैयाँ ३७ पैसा रहेको छ भने शेयर पुँजी १ करोड ७७ लाख ७४ हजार ६०० रुपैयाँ रहेको छ । पल्र्स रिपोर्टअनुसार संस्थाले ३८.९४ प्रतिशत तरलता व्यवस्थापन कायम गरेको जनाएको छ । संस्थाले ४२ लाख ४३ हजार ३७३ रुपैयाँ १३ पैसा खुद बचत (नाफा) गरेको छ । संस्थाले १४.११ प्रतिशत जगेडा कोषसहित कुल प्राथमिक पुँजीकोष २४.१३ प्रतिशत कायम गर्न सफल भएको जनाएको छ ।