आज हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारै ढोका खुल्ल गर्ने भएको छ ।
आज तीजको प्रमुख दिन पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने र भक्तजनको चापलाई ध्यानमा राख्दै मन्दिरमा विशेष पूजा तथा दर्शनको व्यवस्थासमेत मिलाइएको कोषले जनाएको छ । तीजमा विशेषगरी महिला भक्तजनको ठूलो भीड लाग्ने भएकाले यसपटक प्रवेशदेखि दर्शनसम्मको व्यवस्थालाई व्यवस्थित बनाइएको हो । मन्दिरबाहिरबाटै भक्तजनलाई पाँचवटा लाइनमा विभाजन गरिनेछ भने मन्दिर परिसरमा प्रवेश गरेपछि आठवटा लाइनबाट दर्शन गर्ने व्यवस्था हुनेछ ।
तीजका दिन पशुपति क्षेत्रमा महिलाको उपस्थिति उल्लेख्य हुने भएकाले सुरक्षा व्यवस्थालाई पनि प्राथमिकतामा राखिएको छ । कोषले महिला भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै महिला सुरक्षाकर्मीको संख्या बढाएर परिचालन गर्न सरकारसँग आग्रह गरेको छ । भीड व्यवस्थापनसँगै मन्दिर परिसरमा हुन सक्ने अव्यवस्था रोक्न सुरक्षा निकायसँग समन्वय गरेर आवश्यक प्रबन्ध मिलाइने जनाइएको छ ।
त्यस्तै तीजका दिन पशुपति क्षेत्रमा सवारीसाधनको चाप कम गर्न विशिष्ट व्यक्तिका सवारी साधनलाई समेत मन्दिर आसपास नराखी कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनको ठूलो चाप रहने भएकाले तीजका दिन पशुपति क्षेत्र आसपासको आवागमनलाई सहज बनाउन ट्राफिक व्यवस्थापनमा पनि विशेष ध्यान दिइने कोषले जनाएको छ ।